इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्थाबाट पछि हट्यो सरकार
काठमाडौ – चर्को जनदवाव पछि यातायात व्यवस्था विभाग इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्थाबाट पछि हटेको छ । असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगरे कारवाही हुने सूचना निकालेको विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेपनि कारवाही नहुने जनाएको छ ।
आफू अनुकुल समयमा आफ्नो सवारी साधन दर्ता गरेको कार्यालयमा गई इम्बोस्ड नम्बर प्लेट जडान गर्न विभागले सबैमा अनुरोध गरेको छ । अब आगामी असोज १ गतेभित्र सवारी साधनमा इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने भएको छ। विभागले मंगलबार विज्ञप्ति जारी गरी असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने हल्लाको पछि नलाग्न भनेको हो।
‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्नसमेत अनुरोध गरिन्छ।’