सम्भव हुँदै पोखराबाट अष्ट्रेलियासम्म सीधा हवाई यात्रा

बिहिबार, १२ भाद्र २०८२

काठमाडौं— पोखरा अन्तराष्ट्रिय विमानस्थलमार्फत अब अष्ट्रेलियाका लागि सीधा उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दुहुँदै अष्ट्रेलियासम्मको उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । आगामी सेप्टेम्बरदेखि नियमित उडान प्रारम्भ गर्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ ।

यसअघि सिचुवान एयरलाइन्सले पोखराबाट चार्टर्ड उडान गरिसकेको छ भने भुटान एयरलाइन्सले पनि पारोहुँदै दिल्लीसम्मको चार्टर्ड उडानको अनुमति मागेको छ ।

हाल पोखराबाट हिमालय एयरलाइन्स मात्र नियमित अन्तरराष्ट्रिय उडान गरिरहेको छ । यसैगरी, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जजिरा एयरवेज तथा थाई एयर एसियाले पुनः उडान थाल्ने भएका छन् ।

सरकारले पोखरा र भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानमा विभिन्न छुट सुविधा उपलब्ध गराएपछि विदेशी वायुसेवा आकर्षित हुने विश्वास लिइएको छ ।

यी नयाँ उडानहरूले पोखरा तथा भैरहवा विमानस्थललाई सक्रिय बनाउँदै यात्रुका लागि अन्तरराष्ट्रिय यात्रा अझ सहज र सरल हुने अपेक्षा गरिएको छ ।