‘वसन्त’ नचलेपछि रन्थनिएका प्रकाश दूतावासको शरणमा

बिहिबार, १२ भाद्र २०८२

काठमाडौँ – आफ्नो चलचित्र ‘वसन्त’ नचलेपछि रन्थनिएका प्रकाश सपुत अन्तत भारतस्थित नेपाली दूतावासको सरणमा पुगेका छन् । भारतका लागि नेपाली राजदुत डा. शंकर शर्मा र कल्चरल काउन्सलर गोकुल बस्नेतसँग भेटवार्ता गर्दै प्रकाशले नेपाली चलचित्र भारतमा पनि एकै साथ प्रदर्शनमा आउने व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

प्रकाशले आफ्नो चलचित्र बसन्तलाई पनि सेन्सरमा सहजिकरण गरेर भारतमा चल्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् । प्रधानमन्त्रीको प्रसंशा गरदेखि उनको गीतसँग चलचित्र पनि फ्लाप हुँदै आएका छन् । बाबा रामदेव र बालकृष्ण आचार्यको संरक्षणमा रहेको हाम्रो स्वाभिमान ट्रष्टले हरितालिका तीजका अवसरमा आयोजना गरेको विशेष सांगीतिक कार्यक्रमका लागि जापानबाट सिधै भारतको दिल्ली पुगेका थिए ।

कार्यक्रम समापन पश्चात भारतका लागि नेपाली राजदुत शर्मासँग दुतावासमै भेट गरेर नेपाली चलचित्र नेपालसँगै प्रदर्शनमा ल्याउने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । ‘भारतमा नेपालीहरुको संख्या ठुलो छ, भारत पुगेर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, तर नेपाली चलचित्र अहिले पनि भारतमा प्रदर्शन गर्न जटिलता छ,’ सपुतले भने, ‘जापान, युरोप, अमेरिका, मध्यपूर्व लगायतका देशमा जसरी नेपाली चलचित्र प्रदर्शन गर्ने गरिएको छ, त्यसरी नै भारतमा पनि लाखौं नेपाली समुदाय भएकाले नेपाली चलचित्र प्रदर्शनको व्यवस्था हुन सक्यो भने नेपाली चलचित्रको दायरा अझ फराकिलो बन्नेछ, प्रवासी नेपालीहरुले पनि आफ्नो देशको चलचित्र हेर्ने अवसर पाउनेछन् ।’

भेटका क्रममा कल्चरल काउन्सलर गोकुल बस्नेतले यो विषय अहिले आएको र आफूहरुको ध्यानाकर्षण भएको बताए । ‘अहिले दुई देशका बिच कल्चरल एमओयू गर्ने चरणमा पनि छौ, त्यो पारित भयो भने कल्चर कसरी आदान प्रदान गर्ने भन्ने त्यसमा समावेश छ, यस विषयलाई उच्च प्राथमिकता राखेर आवश्यक पहल र प्रक्रिया अघि बढाउने छौ,’ बस्नेतले भने ।

भारतमा नेपाली चलचित्र प्रदर्शनका लागि सेन्सर लगायतका प्रक्रिया निकै जटिल र झञ्झटिलो छ । केही नेपाली चलचित्र हिन्दी भाषामै डब गरेर प्रदर्शन गर्ने गरिएको छ । भारतको मूम्बई र पुनेमा व्यवसाय गर्दै आएका मोहन विश्वकर्मा लगायतको लगानी र सपुतद्धारा निर्देशित चलचित्र ‘वसन्त’ अब निकट समयमै भारतका बिभिन्न शहरमा प्रदर्शन गर्ने तयारी छ ।