हैजाका बिरामीको स्वास्थ्य बुझ्न महामन्त्री थापा नारायणी अस्पतालमा

शुक्रबार, १३ भाद्र २०८२

काठमाडौं—नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल बिरगंज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । झाडापखाला र हैजाका बिरामीसँग महामन्त्री थापाले स्वास्थ्य उपचार , औषधि लगायतका विषयमा बुझेका हुन ।

सो अवसरमा उनले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र साथ प्रदान गर्ने दृढ अठोट व्यक्त गरेका छन् । उनले हैजाको नियन्त्रण र उपचारमा सबै पक्ष एकजुट भई प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए। नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले वीरगञ्जमा हैजाको प्रकोप तीव्ररूपमा बढेपछि अस्पतालमा नै आएर अवस्था प्रत्यक्ष अवलोकन गरेको बताए ।

यसअघि नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदीप यादवले हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरि आवश्यक निर्देश समेत दिएका थिए । झाडापखाला र हैजा प्रभावित वीरगन्जमा अस्पतालमा उपचारपछि निको भएर घर फर्किने बिरामीको संख्यापनि दिनहुँ बढ्दै गएको पाइएको छ ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार गत शुक्रबारदेखि बिहीबार साँझसम्म झाडा पखाला र हैजा संक्रमण पुष्टिभएका गरी ६१२ जना बिरामी अस्पतालहरुमा भर्ना भएकामा तीमध्ये ४३४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन । हाल अस्पतालहरुमा १७८ जना बिरामीहरु उपचाररत रहेको र तीमध्ये हैजा पुष्टि भएका बिरामीको संख्या ६९ मात्रै रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । बिरगंजमा फैलिएको झाडापखाला र हैजाका बिस्तारै नियन्त्रणमा आएको छ ।