दशरथ रंगशाला अन्तराष्ट्रिय खेलका लागि अयोग्य घोषणा
काठमाडौं—नेपालको एक मात्र अन्तराष्ट्रिय फुटवल रङ्गशाला अन्तराष्ट्रिय खेलका लागि अयोग्य घोषणा भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई अयोग्य घोषणा गर्दै नेपालमा हुने भनिएको दुई अन्तराष्ट्रिय खेलहरु रद्द गरेको छ । समूह एफमा रहेको नेपालले पहिलो खेल मलेसिया र दोश्रो खेल भियतनामविरुद्ध घरेलु मैदानमै खेल्ने तय भएको थियो । तर एएफसीले दशरथ रंगशालाको सुरक्षा मापदण्ड, पिचको अवस्था, फ्लड लाइडको अवस्था ठिक नरहेको निष्कर्ष निकाल्दै रङ्गशालालाई अयोग्य घोषणा गरेपछि घरेलु मैदानमै खेल्ने नेपाली टिमको सपना चकनाचुर भएको छ ।
दशरथ रंगशालामा अटोमेटिङ वाटर सिस्टम, प्रोपर ड्रेनज, अलग्गै इन्टर र इएक्जिट डोर नहुनु र फ्लड लाइटको समस्या रहेका कारण अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नसकिने अवस्था आएको छ।
गत वर्ष चैतमा एएफसी एसियन कप छनोट (तेस्रो चरण) अन्तर्गत मलेसिया विरुद्ध खेल खेल्न जानुअघि नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा खेल्न नपाउँदा दुःख लागेको प्रतिकृया दिँदै मलेसियाविरुद्ध दोस्रो खेल नेपालमै खेल्न पाउने आशा व्यक्त गरेका थिए ।
नेपालले आफ्नो होम म्याच मलेसियामा गएर खेल्यो । मलेसियाको होम म्याच नेपालमा खेलाउने सहमति अनुसार अब नेपाल र मलेसियाबीचको छनोट खेल नेपालमा आगामी नोभेम्बरमा हुनुपर्ने हो ।
तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशालमा एसियाली फुटबल महासंघ ९एएफसी०बाट अयोग्य हुँदा नेपालले मलेसियासहित भियतनाम विरुद्ध हुने छनोट खेल दशरथ रंगशालमा खेल्न नपाउने भएको छ ।
त्यसबेला अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र मलेसियाले आफ्नो घरेलु मैदानमा खेल्ने खेल स्वाप (साटेको) बताएको थियो । जसको अर्थ नेपालको होम म्याच सुरुमा मलेसियामा गएर खेल्ने त्यसपछि मलेसियाको घरेलु मैदानमा हुने होम म्याच नेपालमा खेल्ने सहमति भएको एन्फाले जनाएको थियो ।
तर अहिले पनि नेपालीको रंगशालाको पुरानै अवस्था कायम रहँदा नेपालले मलेसियाविरुद्ध आगामी नोभेम्बरमा खेल्ने भनिएको अर्को होम पनि गुमाउने भएको छ । साथै अक्टोबरमा भियतनाम विरुद्ध हुने होम म्याच पनि गुमाउने भएको छ ।
एएफसी अफिसियलहरुले पछिल्लो पटक नेपाल भ्रमण गर्दै दशरथ रंगशालाको निरिक्षण गरेपछि एएफसी एसियन कप छनोट अन्तर्गत आउँदै गरेको भियतनाम र मलेसिया विरुद्धको खेल यहाँ खेलाउन नसकिने निर्णय गर्दै त्यसबारे एन्फालाई जानकारी दिएको छ ।
जसले गर्दा दशरथ रंगशालमा फेरि पनि एएफसीको आधिकारिक खेल खेलाउन ‘अयोग्य’ बनेको छ ।
एन्फा महासचिव किरण राईले एएफसी प्रतिनिधिले रंगशालाको निरक्षिण गरेपछि रंगशालाको समग्र अवस्थामाथि नै प्रश्न उठाएको र खेल हुन अयोग्य रहेको जानकारी दिए ।