विदेशिन खोज्ने युवालाई नेपालमै भविष्य छ भनेर काउन्सिलिङ गर्न इक्यानालई संचारमन्त्रीको आग्रह
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विदेशिएका तथा विदेशिन खोज्ने युवालाई नेपालमै भविष्य छ भनेर काउन्सिलिङ गर्न इक्यानलाई आग्रह गरेका छन्।
शुक्रबार नेपाल शैक्षिक परामर्श सङ्घसंघ (इक्यान) को २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विदेशिएका तथा विदेशिन खोज्ने युवालाई नेपालमै भविष्य छ भनेर काउन्सिलिङ गर्न आग्रह गरेका हुन्।
मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिंदै इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै उनले विदेशिएका युवालाई स्वदेशमै फर्काउनका लागि इक्यानले पहल गर्नुपर्ने बताए ।
“उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर, इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउनुपर्नेछ,” उनले भने, “इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गरी स्वदेशमै नवीन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ ।”
नेपाल विकासका प्रशस्त सम्भावना भएको उल्लेख गर्दै मन्त्री गुरुङले देशलाई शैक्षिक हब बनाउने आधार तयार गर्न पनि इक्यानलाई सुझाव दिए । यसका लागि शिक्षा नीति, ऐन र कानुनको समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले बताए ।
इक्यानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुलाई सहि परामर्श दिनुका साथै देशैभरिबाट आफ्नो कमाइबाट राज्यलाई धेरै कर तिर्ने परामर्श व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेमा सबैभन्दा धेरै राज्यलाई कर तिर्ने द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीका सीईओ सालिकराम भण्डारी, गाेरेटाे एजुकेशन कन्सल्टेन्सी, केआईइसीका सीईओ राजेन्द्र रिजाल, अप्टिमस ग्लाेबल, कंगारु एजुकेशन फाउन्डेसनका सीईओ महेशबाबु तिमिल्सिना र स्टडी वल्ड बुटवलका टेक बहादुर कुँवर रहेका छन् ।
इक्यान अध्यक्ष शेषराज भट्टराईका अध्यक्षता तथा नेपाल सरकारका सूचना तथा प्रविधी मन्त्री पृथ्बी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गृह सचिव गोकर्णप्रसाद दुवाडी, पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल लगायत बिभिन्न परामर्श व्यवसायी संघहरुको उपस्थिति रहेको थियो।

