राइट पाथ कन्सल्टेन्सीको अवैध धन्दा छताछुल्ल

सोमबार, २७ जेष्ठ २०७६

हेटौंडा – राइटपाथ करियर काउन्सिलिङ कन्सल्टेन्सीले अबैधरुपमा धन्दा चलाइरहेका पाइएको छ । नेपली विद्यार्थीहरुलाई अस्ट्रेलियामा भिषा लाग्न छोडेपछि राइट पाथले अफिस चलाउनका लागि अबैध धन्दा गर्दै आएको पाइएको छ ।

नेपालीहरुलाई वर्किङ भिषामा साइप्रस पठाएर उक्त कन्सल्टेन्सीले ठगी गरिरहेको छ । राइट पाथ भिजिट गरेर फर्किएका केही युवाहरुलाई बुझ्दा ६ लाख २५ हजार रूपैयामा साइप्रस पठाइदिने प्रतिवद्धता ब्यत्ति गर्दै युवाहरुलाई फसाउन लागेको पुष्टी भएको छ । उनीहरुले आफूसंग पासपोर्ट सहितका डकुमेन्टहरु मागेको तर विश्वास नलागेकाले नदिएको एक युवा बताए ।

राइट पाथ डेटौडाकी संचालक मनिष अधिकारीले पनि साइप्रसमा नेपाली युवाहरुलाई कामदारको रुपमा पठाउने गरेको पुष्टी गरे । सबै देशको भिषाको काम गर्ने तथा ६ लाख २५ हजार रूपैयामा साइप्रस पठाइदिने उनको भनाई छ। अधिकारीले पासपोर्ट मागेको र फर्म भरेको केही समयमा नै विदेश उडाउने बताइन ।

दर्ता छैन

काठमाडौंको पुतली सडकमा केन्द्रय कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङ कन्सल्टेन्सी हेटौडामा विना दर्ता संचालन भइरहेको पाइएको छ । इजाजत विनानै मेनपावरको काम गरेर नेपालको नियम कानुनको धज्जि उडाइरहेको छ । हेटौंडा ४ पारिजातपाथमा रहेको राइट पाथ करियर काउन्सिलिङ कन्सल्टेन्सी अबैधरुपमा दर्तानै नगरि विद्यार्थी तथा युवाहरुलाई ठगीरहेको छ ।

कन्सल्टेन्सी तथा म्यानपावर चलाउनका लागि कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता भएर मात्र हुँदै सम्बन्धित निकायको पनि स्वीकृति चाहिन्छ । विभिन्न देशको भाषा शिक्षण, परामर्श तथा भिसाको कामसमेत गर्ने गरेको बताउँने उक्त कनसल्टेन्सीले बाहिर अस्ट्रेलिया, क्यानडा, युरोप, युके, जापान, न्युजिल्यान्ड लगाएतका देशहरुका भाषा प्रशिक्षण तथा बैदेशिक शिक्षा सम्बन्धि गतिविधि संचालन गर्ने भनेर राखेको भएपनि यस सस्थाले साइप्रसमा कामदार पनि पठाउने गरेको छ ।

कम्पनि रजिस्ट्रार कार्यालयमा राइट पाथ हेटौंडा नेपाल प्रालिको नाममा दर्ता भई आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट कर दर्ता प्रमाण पत्र लिएको यस कन्सल्टेन्सीले पुतलिसडक काठमान्डौ मुख्य कार्यालयको शाखा भन्दै काम कारोबार गर्दै आइरहेको प्रष्ट देख्न सकिन्छ ।

शिक्षा मन्त्रालयका अनुसार कुनैपनि कन्सल्टेन्सीले शखा कार्यालयको रुपमा कुनैपनि गतिविधि संचालन गर्न नपाउने व्यवस्था छ । कन्सल्टेन्सी संचाललन गर्नका लागि नेपाल सरकार, शिक्षा मन्त्रालयको अनुमति अनिवार्य चाहिन्छ । प्रदेशको हकमा पछिल्लो नियम अनुसार सम्बन्धित प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयबाट सम्बन्धन लिएर मात्र परामर्श तथा भाषा शिक्षणको काम सुरु गर्न पर्ने हुन्छ ।

विभिन्न भाषा प्रशिक्षण, पूर्व तयारी कक्षा, ट्युसन लगायतका कार्यक्रम संचालन गर्दा अनिवार्य रुपमा पहिले शिक्षा मन्त्रालयको स्वीकृति लिएर मात्र संचालन गर्न पाइन्थ्यो भने हाल प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा शाखामा दर्ता गराई संचालन गर्नुपर्छ ।

काठमाडौंमा अनलाइन पत्रिका मकालुखवर संचालन गर्दै आएको राइट पाथले मिडियाको दुरुपयोग गर्दै राज्यको काननुको बर्खिलाभ गरिरहेको छ । राइट पाथका अन्य कर्तुतहरु आगामी अंकमा प्रशारण गर्दै जानेछौं, प्रतिक्षा गर्नुहोला ।

भुगोल न्युजको सहयोगमा