दशैँमा छोरीको उडान, बाबुको मुस्कान
काठमाडौँ – बसुन्धाराबाट पुल्चोक जाने सिलसिलामा एक दिन अनलाइन राइडका लागि मोटरसाइकल बोलाउदा उमेरले पचास वर्ष काटिसकेका, अछामको कुनै दुर्गम गाउँमा ठेगाना भएका एक व्यक्ति मोटरसाइकल लिएर आइपुगे। उनी अवकाशप्राप्त नेपाली सेना रहेछन्। बालबच्चाको भविष्य बनाउन खाडी मुलुकमा केही वर्ष पसिना बगाएर केही महिनाअघि मात्र नेपाल फर्किएका रहेछन्।
अहिले परिवारको जिम्मेवारीबाट विश्राम लिने उमेरमा पनि उनी अनलाइन राइडरका रूपमा काम गरिरहेका थिए। तर अचम्मको कुरा, उनको अनुहारमा थकानभन्दा खुसी बढी थियो। जीवनका अनेकौँ हन्डरले खारिएको अनुहारमा मन्द मुस्कान थियो। त्यो मुस्कान बनावटी थिएन: मानौँ वर्षौँदेखि मनको कुनामा दबाएर राखेको खुसी आज पोखिन खोजिरहेको थियो।
म उनको मोटरसाइकलको पछाडि बस्नासाथ उनले हतार नगरी छिटोछिटो मेरो परिचय सोधिहाले। मैले पनि आफ्नो यथार्थ परिचय दिएँ। मेरो कुरा सुन्नासाथ उनी एकाएक प्रफुल्लित भए।
“बड्डा, हामी त के एउटै ठाउँका रहेछौँ नि!”
उनको आवाजमा आफ्नोपन थियो, अनुहारमा आत्मीयता। परदेश र सहरको भीडमा अपरिचित बनेर हिँडिरहेका दुई मानिसबीच गाउँको सम्बन्धले एकैछिनमा नजिक बनाइदिएको थियो। त्यसपछि त उनका कुरा फरर खुल्न थाले—गाउँको बाल्यकालदेखि सैनिक जीवनसम्म, सैनिक जीवनदेखि खाडीको पसिनासम्म अनि खाडीबाट फर्किएपछिको वर्तमानसम्म। उनको कथा कुनै असाधारण उपन्यासको कल्पना थिएन। त्यो त नेपाली समाजका हजारौँ परिवारले भोगिरहेको साझा यथार्थको एउटा प्रतिनिधि कथा थियो।
अछामको दुर्गम गाउँमा जन्मिएका उनले सानैदेखि अभावसँग परिचित हुनुपर्यो। गाउँको कठिन जीवन, सीमित अवसर र परिवारको आर्थिक अवस्थाले उनका सपनालाई सहज बाटो दिएनन्। दुःख गरेर नेपाली सेनामा भर्ती भए। जागिरले परिवारको जीवन धान्ने आधार त दियो, तर जीवनका सबै समस्या समाधान गरिदिएन।
उनले सैनिक जीवनका केही तीता अनुभव पनि सुनाए। आफूजस्ता तल्लो तहका सैनिकले पाउनुपर्ने राशन तथा सुविधामा समेत माथिल्लो तहका केही अधिकारीबाट अनियमितता र अन्याय भएको अनुभव सुनाउँदा उनको स्वरमा पुरानो पीडाको झल्को देखिन्थ्यो। उनका कुरा सुन्दै गर्दा मनमा प्रश्न उठ्यो—देशको सीमा रक्षा गर्ने, आदेश पालना गर्ने र अनुशासनमा जीवन बिताउने सिपाहीले आफ्नै संस्थाभित्र पनि न्यायको अनुभूति गर्न नपाए उसको मनमा कस्तो अनुभूति पैदा होला ?
तर उनी विगतको गुनासोमै अल्झिएनन्। जीवनले दिएका चोट बोकेरै अगाडि बढ्न सिकेका रहेछन्। सैनिक सेवाबाट अवकाश लिएपछि पनि परिवारप्रतिको जिम्मेवारी सकिएको थिएन। बालबच्चाको भविष्य बनाउने सपना अझै बाँकी थियो। त्यसैले उनी खाडी मुलुक पुगे। उमेरले विश्राम खोज्नुपर्ने समयमा परदेशको श्रम रोजे। आफ्नो शरीरको थकानभन्दा सन्तानको भविष्यलाई ठूलो ठाने। उनले कमाएको पैसा केवल पैसा थिएनस त्यो आफ्ना छोराछोरीका लागि खुल्न सक्ने अवसरको ढोका थियो।
उनको कथामा सबैभन्दा सुन्दर मोड त्यतिबेला आयो, जब उनले छोरीको प्रसङ्ग निकाले। गाउँको सरकारी विद्यालयमा पढेकी उनकी छोरीले एसएलसी परीक्षामा प्रथम श्रेणी हासिल गरेकी रहिछन्। त्यसपछि महेन्द्रनगरमा कक्षा १२ सम्मको अध्ययन पूरा गरिन्। थप अध्ययनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको संस्थाबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरिन्। अनि केही दिनअघि मात्र उनको छोरीले अमेरिकाको टेक्सासस्थित एपोलो अस्पतालमा काम गर्न जाने भिसा पाएकी रहिछन्। यति कुरा सुनाउँदा ती बाबुको अनुहारमा चमक अझै बढ्यो। मोटरसाइकल चलाइरहेका उनका हातले बाटो सम्हालिरहेका थिए, तर उनको मन भने छोरीको भविष्यतिर उडिरहेको थियो।
उनको खुसीको सीमा थिएन।
“छोरी अमेरिका जाने भई नि बड्डा!” उनको अनुहारले मानौँ यही कुरा बारम्बार भनिरहेको थियो। मैले उनको खुसीलाई ध्यानपूर्वक नियालेँ। त्यो खुसी केवल छोरीले विदेशमा जागिर पाएकोमा सीमित थिएन। त्यसमा अछामको दुर्गम गाउँको एउटा परिवारले पुस्तौँदेखि भोग्दै आएको अभावमाथि प्राप्त गरेको विजय मिसिएको थियो। त्यसमा सरकारी विद्यालयको कक्षाकोठा, बाबुको पसिना, आमाको माया, खाडीको गर्मी र छोरीको निरन्तर मेहनत सबै मिसिएका थिए। अमेरिका जाने भिसा छोरीको नाममा लागेको थियो, तर त्यो सफलताको यात्रामा बाबुको जीवनका अनगिन्ती त्याग पनि जोडिएका थिए।
छोरीको हातमा आएको भिसा एउटा कागज मात्र थिएन। त्यो बाबुले वर्षौँदेखि बोकेको आशाको मूर्त रूप थियो। हामी नेपालीका लागि दशैँ केवल चाड होइन। यो घर फर्किने, परिवारसँगै बस्ने, टीका लगाउने, आशीर्वाद लिने र दुःख बिर्सेर केही दिन भए पनि सुख बाँड्ने अवसर हो। यस्तो बेला छोरीलाई अमेरिका पठाउनुपर्ने अवस्था आउँदा कुन बाबुको मन नरम नहोला ? घरमा छोरीको उपस्थिति, चाडपर्वको रमाइलो र परिवारको सामीप्य कसलाई प्यारो नलाग्ला ? तर यी बाबु दशैँ र तिहारको मुखैमा छोरीलाई बिदाइ गर्नुपर्ने भए पनि दुःखीभन्दा खुसी बढी देखिन्थे। किन ? किनकि उनले छोरीलाई आफूबाट टाढा पठाइरहेका थिएनन्स उनले छोरीलाई आफूले जीवनभर नपाएको अवसरतिर पठाइरहेका थिए।
आफूले अभावका कारण छोड्नुपरेका सम्भावनाहरू छोरीले भेटोस् भन्ने उनको चाहना थियो। आफूले भोगेको कठिन जीवन छोरीले भोग्न नपरोस् भन्ने उनको सपना थियो। आफूले सैनिक जीवन, परदेशको श्रम र अनगिन्ती त्यागबाट बनाएको सानो जगमाथि छोरीले आफ्नो भविष्यको ठूलो भवन निर्माण गरोस् भन्ने उनको आशा थियो। त्यसैले त उनी बिदाइको पीडाभन्दा सफलताको गर्वमा रमाइरहेका थिए।
सायद छोरी विमानस्थलबाट उड्ने दिन उनको मन अवश्य भारी हुनेछ। छोरीले “बाबा, म पुगेँ” भनेर फोन गर्दा उनको अनुहार उज्यालो हुनेछ। भिडियो कलमा छोरीको अनुहार हेर्दा उनको मन एकछिनका लागि अछामको घरबाट टेक्साससम्म पुग्नेछ। तर फोन राखेपछि घरको कुनै कुनामा छोरीको अभावले मन चसक्क पार्न पनि सक्छ। खुसी र पीडा सधैँ विपरीत हुँदैनन्। कहिलेकाहीँ सबैभन्दा ठूलो खुसीभित्रै सबैभन्दा गहिरो पीडा लुकेको हुन्छ।
छोरीलाई टाढा पठाउँदा खुसी हुने बाबुको मन बुझ्न त्यही सत्य बुझ्नुपर्छ।ती बाबुको कथा सुन्दै गर्दा नेपालको एउटा गम्भीर यथार्थले मनमा प्रश्न उठायो। आज अमेरिका पुग्नु धेरै नेपाली युवायुवतीको सपना बनेको छ। कोही डिभी भर्छन्, कोही अध्ययनका लागि अवसर खोज्छन्, कोही सीप र श्रम बेच्न विदेश जान्छन्। कतिपय त अवैध र अत्यन्त जोखिमपूर्ण बाटो रोजेर आफ्नो ज्यानसमेत दाउमा लगाउँछन्।
आखिर किन ?
यसको उत्तर केवल अमेरिकाको आकर्षणमा खोजेर पुग्दैन। यसको उत्तर नेपालभित्र उपलब्ध अवसर, रोजगारीको अवस्था, श्रमको सम्मान, गुणस्तरीय शिक्षाको पहुँच र भविष्यप्रतिको विश्वासमा पनि खोज्नुपर्छ।अछामको दुर्गम गाउँमा पढेकी एउटी छोरीले मेहनत गरेर नर्सिङ शिक्षा हासिल गरिन्। उनका बाबुले सैनिक सेवापछि खाडीमा श्रम गरे, परिवारका लागि पैसा जुटाए र छोरीको शिक्षामा लगानी गरे। छोरीले आफ्नो क्षमता प्रमाणित गरिन्। अब उनी आफ्नो सीप प्रयोग गर्न अमेरिका जाँदै छिन्।
यो उनको व्यक्तिगत सफलता हो। तर यसले हाम्रो देशसामु एउटा प्रश्न पनि राख्छ—यति मेहनत गरेर तयार भएको दक्ष जनशक्तिले नेपालमै सम्मानजनक अवसर पाएको भए के हुन्थ्यो ? नेपाललाई पनि दक्ष नर्स चाहिन्छन्। अस्पतालहरूलाई योग्य स्वास्थ्यकर्मी चाहिन्छन्। ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा चाहिन्छ। तर एउटा परिवारले वर्षौँको संघर्ष गरेर तयार पारेको जनशक्ति अन्ततः विदेश जान बाध्य हुने परिस्थिति किन दोहोरिइरहन्छ ?
विदेश जानु गलत होइन। आफ्नो सीप, ज्ञान र श्रमको उचित मूल्य खोज्नु प्रत्येक व्यक्तिको अधिकार हो। विदेशमा सफल हुनु पनि गर्वको विषय हो। तर विदेश जानु नै सफलताको एकमात्र बाटो हो भन्ने सामाजिक मनोविज्ञान बलियो हुँदै जानुचाहिँ गम्भीर चिन्ताको विषय हो। हामीले युवालाई विदेश जानबाट रोक्ने भाषणभन्दा उनीहरूलाई नेपालमै बस्न सक्ने वातावरण बनाउन बढी ध्यान दिनुपर्छ। श्रमको सम्मान, योग्यताअनुसारको अवसर, पारदर्शी नियुक्ति, प्रतिस्पर्धात्मक पारिश्रमिक र सुरक्षित कार्यस्थल सुनिश्चित गर्नुपर्छ।
नत्र अछामको बाबुको पसिनाले हुर्काएको छोरीको सफलता हाम्रो गर्व त बन्नेछ, तर उनको सीप र सेवाको लाभ देशले लिन नसकेको प्रश्न पनि बाँकी रहनेछ।मलाई ती बाबुको कथामा सबैभन्दा महत्त्वपूर्ण लागेको कुरा छोरी अमेरिका जान पाउनु मात्र थिएन। त्यो त उनको लामो यात्राको एउटा उपलब्धि थियो।वास्तविक सफलता त उनले विपन्नताको चक्रलाई छोरीको पुस्तासम्म आइपुग्दा तोड्ने प्रयास गर्नुमा थियो।नी गाउँबाट उठे। सैनिक बने। कठिनाइ भोगे। संस्थाभित्रका तीतामीठा अनुभव सहे। अवकाशपछि पनि जिम्मेवारीबाट भागेनन्। खाडी पुगे। पसिना बगाए। अनि नेपाल फर्केर अनलाइन राइडरको काम गर्न थाले।
समाजले हेर्दा उनी अहिले मोटरसाइकल चलाएर यात्रु ओसार्ने एक साधारण श्रमिक हुन्। तर उनको जीवनको पृष्ठभूमि बुझ्ने हो भने उनी एउटा परिवारको भविष्य निर्माण गर्ने असाधारण पात्र हुन्। उनको मोटरसाइकलको पछाडि बसेको म यात्रु थिएँ तर केही समयका लागि उनी मलाई जीवनको एउटा पाठ पढाइरहेका थिए। उमेर बढ्दैमा सपना देख्न छोडिँदैन रहेछ। अवकाश हुँदैमा जिम्मेवारी समाप्त हुँदैन रहेछ। शरीर थाक्दैमा आशा थाक्दैन रहेछ। अनि सफलताको मापन पद, पैसा र प्रतिष्ठाले मात्र गर्दैन रहेछ।
कहिलेकाहीँ एउटा बाबुले आफ्नो छोरीको सफलतामा देखेको चमक नै उनको जीवनको सबैभन्दा ठूलो पुरस्कार हुँदो रहेछ। मलाई लाग्यो, ती बाबु अमेरिकाको टेक्सास जाँदै गरेका थिएनन्, तर उनको सपना त्यहाँ पुगिसकेको थियो। छोरीको भिसामा उनको पसिना थियो, उनको संघर्ष थियो, उनको त्याग थियो र उनको अधुरो जीवनले अर्को पुस्तालाई दिएको अवसर थियो। बसुन्धाराबाट पुल्चोकसम्मको त्यो यात्रा कति लामो थियो, आज ठ्याक्कै सम्झना छैन। तर मोटरसाइकलको पछाडि बसेर सुनेको त्यो कथा भने मनमा गहिरोसँग बसेको छ।
कहिलेकाहीँ हामी मानिसलाई उसको वर्तमान कामबाट मात्र चिन्छौँ। सडकमा मोटरसाइकल चलाइरहेको व्यक्तिलाई सामान्य राइडर ठान्छौँ। तर उसको जीवनभित्र कति इतिहास छ, कति अपमान छ, कति पसिना छ, कति अधुरा सपना छन् र कति ठूलो सफलता लुकेको छ भन्ने जान्ने प्रयास गर्दैनौँ। ती बाबु पनि त्यस्तै एक पात्र थिए। उनको वर्तमान पेसा सामान्य देखिन्थ्यो, तर उनको जीवनको अर्थ असाधारण थियो।
उनले मलाई आफ्नो दुःख सुनाए, तर दुःखको प्रदर्शन गर्न होइन। उनले आफ्नो संघर्ष सुनाए, तर सहानुभूति माग्न होइन। उनले छोरीको सफलता सुनाए, किनकि त्यो खुसी आफूभित्र मात्र सीमित राख्न नसक्ने गरी ठूलो थियो। सायद उनी चाहन्थे, कसैले उनको कथा सुनोस्। कसैले बुझोस् कि दुर्गम गाउँको एउटा बाबुले पनि आफ्नो सन्तानका लागि कति ठूलो संसारको सपना देख्न सक्छ। कसैले अनुभव गरोस् कि सफलताको चमक पछाडि कति वर्षको अँध्यारो लुकेको हुन सक्छ।
त्यो दिन मैले एउटा राइडर मात्र भेटिनँ। मैले जिम्मेवारीबाट नभाग्ने बाबु भेटेँ। मैले श्रमको सम्मान गर्न सिकाउने एक पूर्वसैनिक भेटेँ। मैले आफ्ना लागि भन्दा सन्तानका लागि ठूलो सपना देख्ने नेपाली अभिभावक भेटेँ। र मैले बुझें—जीवनमा सबैभन्दा ठूलो पद सधैँ कुनै कार्यालयको कुर्सीमा हुँदैन। कहिलेकाहीँ त्यो एउटा बाबुको मनमा हुन्छ, जसले आफूले भोगेको दुःख छोरीले नभोगोस् भनेर जीवनभर पसिना बगाएको हुन्छ।
दशैँ आउँदै छ। घरघरमा टीका, जमरा, आशीर्वाद र पारिवारिक भेटघाटको तयारी हुँदै छ। कतिपय घरमा विदेशबाट सन्तान फर्किने प्रतीक्षा छ। कतिपय घरमा भने सन्तानलाई नै विदेश बिदाइ गर्ने तयारी हुँदै छ। अछामका ती बाबु पनि छोरीलाई बिदाइ गर्ने तयारीमा छन्। उमेरले पचास काटिसकेका छन्। सैनिक जीवन बिताइसके। खाडीमा पसिना बगाइसके। अहिले काठमाडौंका सडकमा मोटरसाइकल चलाएर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्। तर उनको अनुहारमा निराशा छैन। किनकि उनले छोरीको भविष्यमा आफ्नो संघर्षको सार्थकता देखेका छन्।
छोरी अमेरिका पुग्लिन्। अस्पतालमा काम गर्लिन्। नयाँ परिवेशमा आफ्नो जीवन अघि बढाउलिन्। बाबु भने नेपालमै आफ्नो दैनिक जीवन चलाइरहलान्। चाडपर्वमा छोरीको सम्झनाले मन भारी होला, फोनमा कुरा गर्दा खुसी होलान्। दूरीले उनीहरूलाई भौगोलिक रूपमा अलग पार्ला, तर बाबुको पसिना र छोरीको सफलताबीचको सम्बन्धलाई कसैले अलग गर्न सक्नेछैन।
अन्ततः, यो केवल एउटी छोरी अमेरिका जाने कथा होइन। यो अछामको एउटा दुर्गम गाउँबाट उठेको आशाको कथा हो। यो परदेशमा पसिना बगाउने, आफ्ना रहर थाती राख्ने र सन्तानको भविष्यमा आफ्नो जीवनको अर्थ खोज्ने नेपाली बाबुको कथा हो। छोरीको हातमा अमेरिकाको भिसा छ, बाबुको हातमा मोटरसाइकलको ह्यान्डल। छोरीको गन्तव्य टेक्सास हो, बाबुको गन्तव्य अझै पनि जिम्मेवारी। तर उनीहरू दुवैको यात्राको इन्धन एउटै हो—वर्षौँको संघर्ष, अथाह माया र उज्ज्वल भविष्यको सपना।
त्यसैले, त्यो दिन बसुन्धाराबाट पुल्चोकसम्मको यात्रामा मैले एउटा कुरा गहिरोसँग महसुस गरेँ—कहिलेकाहीँ सन्तान विदेश उड्नु बाबुआमाका लागि बिछोड मात्र हुँदैन:, आफूले जीवनभर बोकेको दुःखले अन्ततः अर्थ पाएको अनुभूति पनि हुन्छ। दशैँमा छोरी टाढा हुनेछिन्, तर बाबुको मनमा उनको सफलताको उज्यालो हुनेछ। अनि त्यो उज्यालोमा एउटा प्रश्न पनि हुनेछ—हाम्रा बाबुआमाले यति दुःख गरेर हुर्काएका सन्तानको भविष्य नेपालमै उज्यालो बनाउन हामीले कहिले सक्ने ?