नयाँ दल दर्ताका लागि हर्क साम्पाङ निर्वाचन आयोगमा

आइतबार, १२ असोज २०८२

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोलेका छन् । हर्कले आफू अध्यक्ष रहनेगरी ‘श्रम संस्कृति पार्टी’ नाम पार्टी खोलेका हुन् । दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेनसमेत दर्ता गराएको निर्वाचन आयोग श्रोतले जनाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

मेयर साम्पाङले आइतबार दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

‘हर्कराज राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र चुनाव चिह्न माटाको ढिस्को प्रस्तावित छ,’ उनले भने।

मेयर साम्पाङले केही समय अघिदेखि नै दल दर्ताको तयारी गरेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले लौरो चिह्न लिएर उम्मेदवारी दिएका थिए। उनी २० हजार ८२१ मतका साथ मेयर निर्वाचित भएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए।

भदौ २३ र २४ को आन्दोलनपछि बनेको अन्तरिम सरकारमा आफूले जेन–जी युवाहरूको भावनाअनुसार काम गर्छु भन्दा पनि नपत्याइएको गुनासो गर्दै आएका साम्पाङले फेसबुक लाइभमार्फत् प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय पद्धतिमा जानुपर्ने धारणा राखेका थिए।