कथा : भुस्याहा कुकुर र भुस्याहा मान्छे

बुधबार, १५ असोज २०८२

सहरको फुटपाथबाट सुरु भएको कृष्णको संघर्षको जीवन शहरको फुटपाथमै अस्तायो । उस्को मृत्यु त्यसरी नै भयो, जसरी एउटा भुस्याहा कुकुरले सडकमा आफ्नो जीवन अन्त्य गर्छ । उस्को मृत्युको भोलिपल्ट पनि शहर त्यसरी नै अल्छिपारामा आङ्ग तान्दै ब्युझयो भने घण्टाघरले आफ्नो वृताकार छातीमा समयलाई टिकटिक हिँडन स्वीकृति दियो । कतैबाट श्रदाञ्जली, शोक वक्तव्य केही पनि देखिएन । न त चलायमान कुनै गाडी स्तब्ध भएर मौन धारण गर्यो । शहरको कठोरताको नियम पालन गर्दै, आँसुले बनेको शरीर लिएर पनि रानीपोखरी छुप्लुक्क आवाजमा पनि रोएन ।

कृष्ण वितेको सफाइकर्मी हरिमायाले भने छ दिन पछि मात्र बिदाबाट डयुटीमा फर्किदा थाहा पाइन् । हरिमायालाई रामदेबी देउलाले ‘त्यो काले मर्यो नि’ भनेर भनेकी थिई । त्यो सुनेर, उनले कुचोले आफ्नो अनुहार छोपेर, पछयौरीको सप्कोले आँसु पुछिन्, जुन उनका साथीहरुले चाल पाएनन् । बढार्ने क्रममा आँखामा धुलो परेर आँसु बग्नु स्वभाविक हो । त्यति नै बेला कसैले उनलाई हेरे जस्तो लागेर, हरिमायाले ‘आज आँखामा कस्तो धुलो परेको’ भन्दै आँखा मिचे जस्तो गरेर, सम्वेदनाको दुईथोपा आँसु पनि सुलुक्कै बगाएकी थिइन् । उनलाई किन किन कृष्णको सारै माया लाग्थ्यो । किनभने कृष्णलाई शहरको पहिलो बिहानी हरिमायाले देखाइदिएको थियो । फुटपाथमा सुतिरहेको कृष्णलाई ‘ऐ कान्छा, उठ उठ’ भन्दै उठाएको हिजै जस्तो लाग्छ । कृष्णले आँखा मिच्दै हरिमायालाई सोधेको थियो, ‘यो कुन शहर हो दिदी ?’
‘यो कालिमाटी हो’

कारिमाटी …… कृष्णले लामो सास तानेर बोलेको थियो ।

कृष्णको जीवनमा शहरको पहिलो घाम यसरी खसेको थियो । कृष्ण सुत्ने चोकमा बढार्ने जिम्मा हरिमायाकै भएकोले किन किन कृष्णसँग पछिल्ला दिनमा उनी आत्मीय हुँदै गएकी थिइन् । कृष्ण आएर सुत्ने फुटपाथ, बीचमा केही दिन साथीहरुले बढारे तर हरिमायाले फेरि आफै बढारिन् । सुरुका दिनमा ‘कान्छा उठ, उठ’ भन्दै उठाए पनि, पछिल्ला दिनमा उनले ‘ए बाबृु, उठ उठ’ भन्दै हातले घचार्दै उठाउन थालिन् । यसकारण उनको निम्ति कृष्णको जीवन एउटा पल्टाएको किताव जस्तै छर्लङ्ग थियो ।

एकदिन हरिमायाले कृष्णलाई सोधेकी थिइन् । ‘तिमी दिनभरि बेपत्ता हुन्छौ । दिनभरि के गर्छौ बाबुृ ?’

कृष्णले जवाफ दिएको थियो ‘म कवाडीको लागि काम गर्छु ।’

‘राति त्यहीँ सुत्दा हुन्छ नि’, हरिमायाले सल्लाह दिएकी थिइन् ।

‘हुन त हुन्थ्यो दिदी । एउटा कोठा छ । साहुले इन्दिया गएर भर्खरै श्रीमती पनि सँगै ल्याएको छ । तँ पनि यो कोठामा सुत्ने भए मैले जस्तो कपाल लामो भएको कोही लिएर आ भन्छ ।’
कृष्णको कुरा सुनेर हरिमाया कालिमाटी नै थर्किने गरी हाँसेकी थिइन् ।

सबैले उसलाई काले भने पनि उसको वास्तविक नाम कृष्ण थियो, जुन नाम काठमाडौं शहरले कुप्लुक्कै खाइदियो । यो शहरमा कालेलाई कृष्ण भनी बोलाउने कोही थियो त हरिमाया देउला मात्र थियो । यसकारण हरिमाया देउलाले कृष्ण भनी बोलाउँदा उसको आँखा रसाउँथ्यो । कसैले नामले बोलाएर आँखा रसाउने यो शहरमा कोही हुन्थ्यो त त्यो कृष्ण मात्र हुन्थ्यो ।

‘किन रोएको कृष्ण ?’

‘तपाईले नामले बोलाएर’

‘मैले नामले बोलाउँदा त्यस्तो बिझाउँछ र ?’ हरिमाया प्रश्न गर्थिन् ।

‘तपाईको आवाजमा मेरो आमाको आवाज मिसिएको छ ।’ कृष्णले सासको धर्को काठमाडौको प्रदुषित वायुमा पनि लामै तानेर बोल्थ्यो ।

हरिमायाले कृष्णको कुरा सुनेर थाहा पाउँथिन् कि उसलाई कृष्ण भनेर आमाले मात्र बोलाउँदो रहेछ ।

गाउँको एउटा लमतन्न गरिब बाटोले सयौ मोड लिएर, सहरको सम्पन्न बाटोमा आफूलाई बिलाए पछि, एक बेनाम सहरको बिजुलीको पोलमुनि बास लिँदा, कुकुरको मुतले कृष्णको अनुहार पखालिदिएको थियो । त्यो रात त्यही गन्हाएको अनुहार लिएर उस्ले अर्को बिजुलीको पोलमुनि बिताएको थियो । बेनाम शहरको नाम काठमाडौ हो भनी थाहा पाएर हिँडेको चार दिन पछि, कवाडीको भारी उठाउन थालेको कृष्णले जीवनको भारी पनि पनि यही फुटपाथमा आएर आज बिसाइदियो । हरिमायाले ती दिनहरु सम्झिँदै सुस्केरा खुइयय हालिन् ।

हरिमायाले आँखाभरि आँसु पारेर पढन थालिन्, कृष्णले काठमाडौं शहरको एक फुटपाथको धुलोमा कोरेको अलिखित कथा, जुन फुटपाथ अहिले रितो थियो ।

गाउँमा खिया लागेको जस्ताले बनेको एक तलाको पुरानो टहरा थियो । जाडो महिनाको शीत लागेर जस्ताका पाताहरु पनि टपटप रुन थालेका थिए । क्षण क्षणमा खोकिरहेकी कृष्णकी आमा असहाय ब्यथाले छटपटाइरहेकी थिइन् । आँखा मिच्दै, रोगी आमालाई ओछयानमै छोडेर, नाङ्गलो लिएर कृष्ण अजय साहुको चामल पसलतिर हिँडयो । जाडोमा चिउँदो कँप्कँपाउँदै, त्यस्मा हत्केला टेक्दै अजय साहुको पसलतिर हिँडनु उसको दैनिकी नै हो । अरु बेलाझैँ नाङ्गलोलाई घाँटीमा बेरेर उसले जाने बेलामा ‘आमा, म दुध लिएर आउँछु’ भनेर हिँडेको थियो । पसलको ढोकामा आधा घण्टा पर्खेपछि एक जना बुढी मान्छेले एक बोरा चामल किनी ।

‘हेर्दा दुधै खान नपुग्या जस्तो देखिन्छौ । यो चामलको भारी बोक्न सक्छौ त ?’ बुढी मान्छेले उसलाई सोधी ।

‘हिजो त गुरुङ्गसेनी दिदीको घराँ एकैचोटी दुई बोरा बोकेर पुर्याएको हो आमै ।’ उसले जवाफ फर्कायो ।

बुढीमान्छे उसको जवाफ सुनेर खित्त हाँसी । ‘हेर नातिनातिना उमेरकाको यस्तो जाडोमा यो बिजोग’ भन्दै बुधि मान्छे बर्बराउँदै कृष्णलाई पछि पछि लगाइ घरतिर हिँडी । बुढी मान्छेले चामलको भारी घरसम्म पुरयाइदिएकोमा कृष्णलाई ५० होइन, खुसी भएर सय रुपैया नै दिई ।

उस्ले त्यो पैसाले एक पाकेट दुध र आधा किलो चिनी किनेर घर फिर्ता भयोे । कोठामा प्रवेश गर्दा आमाको अविराम खोकीले अझै सुन्यतालाई खोपिरहेको थियो । उस्ले आमालाई ‘चाँडै दुध उमालेर आउँछु है’ भनेर भान्छातिर प्रवेश गर्यो । टहराभित्र जस्ताले बारेको एउटा सानो भान्छा पनि थियो । एउटा पुरानो भाँडामा दुध राख्यो र त्यस्मा चिनी छरेर त्यो भाँडो ग्याँसमाथि हालिदियो ।
दुध उम्लेको थिएन । दुध उमाल्दै गर्दा भान्छाको सुन्यतालाई चर्रर आमाको खोकीले चिर्न थाल्यो । आमा निकै खोक्नु भएकीले ऊ दुध उमालेरै आमा भएको कोठामा गयो । ‘केही हुँदैन आमा तपाई ठीक हुन्छ ।’ उस्ले आमाको निधारको टालो झिकेर अर्को टालोमा पानीले भिजाएर आमाको निधारमा राख्यो ।

आमाले खोक्दा खोक्दै ‘बाबु जा, दुध उम्लियो होला हेर’ भनेर अह्राइन्।

आमाले भने पछि कृष्णलाई उमालेको दुधको सम्झना आयो । भान्छामा जाँदा कालो बिरालो कोठाको एउटा भिताबाट कोठाको अर्को भितामा हाम फाल्यो । दुधको भाँडो भुइँमा खसेको थियो, भुइँमा दुध असरल्ल बगिरहेका थिए भने बिरालोको ओठ पुरै सेतो भएको थियो । बिरालोको दुध टन्न खाएर तृप्त भएको रुपले उसलाई असहाय बनायो । उस्ले भान्छाको मुख्य ढोका बन्द गरिदियो । भितामा अडेस लगाएको लठी उठाएर उसले बिरालोलाई आक्रमण गर्यो । सुरुमा भाग्ने चेष्टा गरेको बिरालो, भाग्ने कुनै छिद्र नभेटाए पछि, अन्त्यमा कृष्णलाई नै डरलाग्दो आँखा बनाएर आक्रमण गर्यो । आफूलाई मार्न भनी झम्टेको बिरालोको घाँटी उस्ले बेसरी च्याप्प समात्यो । शरीरभरि दुधको छिटा परेको बिरालोलाई हेर्दे उस्ले आफनो हात बिरालोको घाँटीमा बेसरी दबायो, यति दबायो कि, बिरालोको आँखा सेतो नहुन्जेलसम्म दबाइराख्यो । जव बिरालो कुनै हलचल नगरी उस्को हातमा लत्रियो, उस्ले बिरालोलाई भुँइमा ओइलाइदियो । भुइँमा झरे पछि पोखिएको दुधमा एकक्षणको लागि अन्तिम हलचल ल्याउँदै, बिरालोले प्राण त्याग्यो । कृष्णले बिरालोको लासतिर हेर्दै बोल्यो, ‘तँैले एउटै गल्ति गरिस्, आमाको दुध खाइस् ।’ बिरालोलाई मारेर, ऊ कोठामा आउँदा आमा शान्त अवस्थामा हुनुहुन्थ्यो । खोकीको आवाजले विश्राम लिइसकेको थियो । उस्ले आमाको शरीरलाई बेसरी हल्लायो ‘आमा,आमा’ भन्दै । आमाको मौनता तोडिएन् । त्यसपछि, पुरै टहरा नै उखेल्न खोजेजस्तो हल्लिने गरी ठूलो स्वरले तीनपटक चिच्यायो – आमा ! आमा ! ! आमा ! ! !

आमाको मृत्युपछि ऊ सडकमा आयो, जाडोले लुगलुग काँप्दै । भएको एक जोर लुगा पनि बिरालोले ठाउँ ठाउँमा चिथोरेको थियो । अब उस्लाई आमाको लास सुतिरहेको जस्ताको टहरामा फेरि जान मन लागेन । उस्ले शहरतिर भाग्ने निधो गर्यो । सदरमुकामको एक ठूलो लुगा पसल बाहिर प्रदर्शित गरिएको, उस्को उमेर बरावर जस्तो देखिने एक पुतलीको शरीरमा लगाएको कोट फुकाल्यो र त्यो कोटले आफ्नो जिउ ढाक्यो । हो, यसरी गाउँबाट शहरतिरको पहिलो पाइला नै उस्ले चोर बनेर चाल्यो । अनि शहरतिर हिँडदै गरेको ट्रकमा छिरेर, स्याउको बोराहरुको बीचमा उस्ले आफ्नो जिउ घुसार्यो । यसरी स्याउको बोरासँगै एक साँझ उस्ले काठमाडौं शहरमा पाइला टेक्यो । फरक यति, स्याउले बजारमा मूल्य पायो, उस्ले पाएन । ऊ काठमाडौं शहरमा बेनाम भयो । उस्को वास्तविक नाम हरायो, यसरी बेनाम, भोको पेट लिएर शहरमा दुई दिन डुल्दा, शहरले उस्लाई हातमा एउटा बोरा र लठी दियो र नाम पनि हालिदियो– काले । काले भयो, सडकमा यत्रतत्र फालिएका सामान बटुलेर कुनै कवाडीको दोकानमा खन्याउने । ऊ सडकमै सुत्थ्यो । यो सडकमा कालेको कथा यसरी सुरु भयो ।

कृष्ण दिनभरि कवाडीको लागि काम गथ्र्यो । कहिले फोहोरको डिब्बामा त कहिले नदीको किनारमा डुल्दैमा उस्को दिन जान्थ्यो । साँझ परे पछि एक भारी प्लाष्टिकका बोटललगायत अन्य सामान कवाडीको दुकानमा खन्याएर फुटपाथमा आएर आराम लिन्थ्यो । हातमा थापेको दुई सय, तीन सय गोजीमा राख्दा कृष्ण ङिच्च दाँत देखाएर हाँस्थ्यो । पैसा गोजीमा परे पछि त्यो साँझ उस्को जिउभरि समोसा मगमगाउँथ्यो । आफूसँग पैसा भएको बेलामा कृष्णले सँधै आफूसँगै जिउ जोडेर सुत्ने कालेको लागि पनि समोसा ल्याइदिन्थ्यो । तर, हातमा पैसा थोरै परेको बेलामा भने कृष्णले आफू मात्र समोसा खाएर आउँथ्यो । त्यो बेला, कृष्णको शरीरबाट समोसाको हर्रर बास्ना आएर हो कि, ऊ सुतेको बेला कालेले उस्को जिउ चाटन आउँथ्यो । काले अर्थात ऊसँग फुटपाथमा सुत्ने एक भुस्याहा कुकुर ।

कृष्णको जिउ सुँघेर काले उसैको छेउ सुत्थ्यो । बिहान सँधै ‘ओई,काले उठ, उठ बिहान भइसक्यो’ कसैले कुचोले आफूलाई हिर्काएको चाल पाएर आँखा मिच्दै हेथ्र्यो । बिहान सडक बढार्न आउने निर्मला धाउला हुन्थी । ऊ अल्छि मानेजस्तो आङ्ग तान्दै जुरुक्क उठथ्यो र फुटपाथको कुनातिर लाग्थ्यो ।

‘यो काले त उठयो, अर्को काले अझै सुतिरहेछ’ भन्दै, खित्त हाँस्दै अर्को कालेलाई पनि निर्मलाले कुचोले हान्न थाल्थी । अर्को काले भने अलि अटेरी खालको थियो । कुचोले हाने पनि चाल नपाए जस्तो गरी लुढल्किरहन्थ्यो । निर्मलाले जव पानी जिउमा छर्कन थाल्थी, अनि स्वर्गलोकबाट मत्यलोकमा बजारिए जस्तो आफ्नो नैसर्गिक आवाज ‘कुइयय’ निकालेर कुलेलम ठोक्थ्यो ।

‘ऐ काले र काले, तिमीहरु दुईजना विहे गर है । नाम पनि मिल्छ ।’ फेरि निर्मला धाउला गर्लल्ल हाँस्थी । यसपालि भने निर्मलाका अरु चार पाँच जना हातमा कुचो समातिरहेका महिला साथीहरुले पनि हाँसो थप्थे ।

यसरी कुचोले बढारिएर सुरु हुन्थ्यो दुई कालेको दुई दैनिकी । एउटा लाग्थ्यो, बगरेको मासु पसलको ढोकामा एक चोक्टा मासुको आसमा भने अर्को प्लाष्टिकको बोरा समातेर कवाडी सामानहरुको खोजीमा ।

यिनीहरुको यस्तो हविगत देखेर एकदिन हरिमायालाई निर्मलाले भनी ‘यो फुटपाथ अवदेखि म बढार्छु । तिमीहरु ऊ त्यो पर बढार्न जानु ।’

‘किन नि ? तिम्रो भाग जहाँ हो, त्यही बढार न ।’ निर्मलाले हरिमायालाई अलि रिसाएको स्वर निकालेर बोली ।

‘तिमीसँग मानवता नै रहेनछ । जे भए पनि, त्यो मान्छे हो । नाम त दुबै जनाको काले नै राख्यौ तिमीहरुले, कुन दिन कृष्णलाई जर्वजस्ती चार खुट्टा पनि टेकाउछौ तिमीहरुले । मैले देख्या छैन अस्ति, माया गरे जस्तो गरेर, कृष्णलाई कुकुरको जुठो बिस्कुट खुवाएको, त्यो कुुकुरको र्याल परेको विस्कुटमा आफ्नो छोराछोरीको अनुहारको झल्को आएन तिमीलाई ? गरिब हो कृष्ण, तर मान्छे हो ।’
हरिमायाको कुरा सुनेर निर्मलाले कुनै जवाफ दिन सकेन । भोलिपल्टदेखि हरिमायाले त्यो फुटपाथमा आफै बढारिन्, निर्मलालाई बढार्ने जिम्मा अर्के फुटपाथमा दियो ।

हरिमाया सँधै बिहान बढार्न आउँदा कृष्ण उठेर गइसकेको हुन्थ्यो । कहिलेकाही मात्र कृष्णलाई उस्ले सुतिरहेको पाउँथिन् । त्यो बेलामा उनले उनले कृष्णलाई हातले घच्घच्याएर उठ कृष्ण उठ भनेर उठाउथिन् । मायालु हातले छुँदा, कृष्ण जुरुक्क उठेर आँखा मिच्थ्यो । आँखा मिच्दामिच्दै ओठमा मुस्कान झुल्काउँदै बोल्थ्यो– ‘यो हातले छोयो कि थाहा छ कि मलाई हजुरले उठाउनु भयो भनेर ।’
‘अरुले यसरी उठाउँदैन र ?’ हरिमाया जिस्किँदै सोध्थिन् ।

‘उठाउछन्’, कृष्ण निर्भिक जवाफ दिन्थ्यो ।

‘कसरी ?’

‘पानीले छयापेर वा कुचोले हानेर । कस्ले छुन्छ र आफ्नो हातले यो फोहरी शरीरमा ?’

कृष्णको जवाफ सुनेर हरिमायाको आँखा भारी हुन्थ्यो ।

यसरी दिन बितिरहेको थियो । एकदिन बिहानको साढे छसम्म कृष्ण सुतिरहेकै थियो । हरिमायाले सोधिन् ‘के भयो कृष्ण ?’

‘अलि सञ्चो छैन ।’

हरिमायाले कपाल छाम्यो । ज्वरो आएको रहेछ ।

‘औषधि खाऊ बाबु, ठीक हुन्छ ।’ हरिमायाले त्यो बिहान कृष्णलाई सिटामोलको एक बट्टा, एक पाकेट दुनोट ल्याएर दिइन् ।

गर्भवती हरिमायाको पेट दिनदिनै ठूलो हुँदै गइरहेको थियो । त्यही समयमा, शरीरमा भारीपना महसुस भएर हरिमायाले दश दिनको लागि बिदा लिइन् । बिदाको समयभरी उनी आफ्नै घरको काममै ब्यस्त भइन् । त्यो समयमा हरिमायाको फुटपाथमा निर्मलाले बढारिन् । निर्मलाले कृष्ण र कालेलाई उठाउन कि कुचोले हान्थी कि पानीले छयापिदिन्थी । त्यसो गर्दा पनि उठेन भने निर्मला कराउँथिन् ।

‘गयो अटेरी खिचापिं खनिसा, लख छवाका नं मद, अले ल्वंत केकाबि, त प्या वई।’ कस्तो अटेरी कुकुरहरु रहेछन । पानीले छयापेर पनि उठेन । अनि ढुंगाले हानिदिन्छु, थाहा हुन्छ, भनेर बोल्दा विस्तारै आँखा मिच्दै उठथ्यो ज्वरोले सिकिस्त भएको कृष्ण, त्योसँग उठथ्यो काले पनि । लखतरान शरीर लिएर कृष्ण फुटपाथको अर्को कुनामा लाग्थ्यो ।

यता कृष्ण भने हरिमायाले अफिसमा छुट्टि लिए पछि दिनदिनै बिरामी हुँदै गएको थियो । जे गर्दा पनि, उस्को ज्वरो घटेन । ज्वरोले गलाएको शरीर बोकेर, ऊ सके पनि नसके पनि एक दुई दिन कवाडीको लागि सामान खोज्न हिँड्यो । हनहनी ज्वरो आए पनि आधा बोरा सामान साँझपख कवाडीको दोकानमा खन्याइदियो । तेस्रो दिन बोरा लिएर गएको ऊ रितै फर्कयो । त्यो दिन उस्ले कवाडीको दुकानमा एउटा खाली बोटल पनि खन्याउन सकेन । आफ्नै शरीरको भारीसँग हारेको त्यो साँझ, घर फर्केको कृष्ण, ज्वरोले गर्दा हिँडन नै सकेन । बल्लतल्ल आफ्नो फुटपाथमा पुग्नेवितिकै रिङ्गटा छुटेर ढलिहाल्यो । त्यो रात त्यही फुटपाथमा बोरा ओढेर काँप्दै सुत्यो । बिहान उठदा उस्को ज्वरो झन बढेको थियो ।

अरु बेला बिहानै बगरेको मासु पसलको ढोकैमा टुचुक्क बस्न जाने काले कुकुर त्यो दिन कृष्णलाई छोडेर गएन । उस्ले करुण नजरले कृष्णलाई हेरिरहेको थियो । त्यो रात उस्ले कृष्णलाई चाटेको पनि थिएन ।

विचरा एक्लो कुकुरले के पो गर्न सक्नु ? त्यो बिहान कृष्ण एउटा औषधि पसलमा गयो र करुण स्वरमा भन्यो, ‘दाइ, मलाई हनहनी ज्वरो आएको छ । दुई चक्की सिटामोल दिनु न ।’

औषधि पसलेको मन कृष्णको बोलीले पग्लेन । पसले रिसले आगो भएर कर्कियो, ‘जा, जा काम गरेर खा । मागेर खाने हो ? छैन सिटामोल, साटामोल ।’

ऊ निराश भएर फर्कियो । पछाडि फर्केर हेर्दा काले पनि ऊ जतिकै निरास बनेर फर्किरहेको थियो । पहिलोपटक देख्यो उस्ले, कालेको आँखाबाट अविरल झरिरहेको आँसु । उस्ले सडकमा हिँडिरहेका हजारौ मान्छेहरुलाई हेर्यो, कसैको पनि नजरमा त्यो संवेदना थिएन । उस्लाई लाग्यो, मान्छेको मनमा भन्दा कुकुरको मनमा कति धेरै माया हुँदो रहेछ । बोल्ने नसक्ने कुकुरको आँखामा मेरो दुखको कति धेरै अभिब्यक्ति छ, भाषा बोल्नेहरु भने मेरो दुखमा मौन छन् ।

ऊ फर्केर आएर दिनभरि त्यही फुटपाथको कुनामा लुत्रुक परेर बसिराख्थ्यो । त्यो दिन, उस्को दिनभरिको पीडालाई ऊसँगै बसिरहेको कालेले मात्र बुझ्न सक्यो । साँच्चिकै कालेको दिनभरि आँखा रसाएको थियो त्यो दिन, साँझपख कालेको आँखा दिनभरि भिजेको देखेर उस्ले आफ्नै च्यातेको लुगाबाट सानो टुक्रा निकालेर, कालेको आँसु पुछयो ।

कालेसँग सुतेको त्यो रात नै कृष्णको जीवनको अन्तिम रात भयो । त्यो रात, बिहानको चार बजेदेखि नै काले रुँदै, भुक्दै कृष्णको वरिपरी घुमिरहेको थियो । कुकुर दुईघण्टा भुकेको कसैले वास्ता गरेन । त्यस्तै छ बजेतिर, कुकृुर कराएको सुनेर, नजिकै चिया पसल खोलेको बेखासाहुले एक बोटल पानीले दुबैको जिउमा छयापिदियो । काले उठेर अलि पर भाग्यो, तर कृष्ण उठेर नभागे पछि बेखासाहुले ‘एक जना काले त भाग्यो, अर्को काले किन नभागेको’ भन्दै फेरि पानीले छयाप्दा पनि कृष्ण शान्त भए पछि बेखासाहुले पहिलो पटक कृष्णको जिउमै छोएर हल्लायो ‘ए काले, उठ उठ’ । कुनै हलचल भएन ।

‘का, काले ला मन्त ।’ बेखासाहु ठूलो स्वरले करायो ।

फुटपाथमा हिँडिरहेका सबै मान्छेहरु त्यहाँ जम्मा भए । कसैले पनि त्यो लासमा अपनत्व देखाएन । आधा घण्टा पछि, एउटा शववाहन आएर कृष्णको वेवारिस लासलाई उठाएर लग्यो । उस्को लास शववाहनले लग्दा, दुईचार जना भुस्याहा कुकुरले वाहेक अरुले कसैले पनि आँसु बगाएन ।

कृष्ण बितेको छ दिन पछि हरिमायाले सडक बढार्न आउँदा त्यो फुटपाथमा कृष्णलाई देखिनन् । उनलाई लाग्यो, गएको राति कृष्ण अर्के सडकको फुटपाथमा सुत्यो होला । त्यसको भोलिपल्ट पनि कृष्णलाई नदेखे पछि हरिमायाले आफ्नी साथी रामदेवी देउलालाई सोधी ।

‘खोई त कृष्ण र त्यो कुकुर, आजभोलि त देख्दिनँ ?’

रामदेवीले भनी, ‘तिमीलाई थाहाँ छैन र ?’

‘अहँ ।’ हरिमायाले टाउको हल्लाएर थाहा नभएको जनाउ दिइन् ।

‘बिचरा काले त मर्यो नि !’ रामदेवीले भनी ।

यो कुरा सुनेर हरिमायाको मुटु थर्थर काँप्यो, बलैले आफूलाई सम्हालेर सोधिन्, ‘कुन काले मरेको रहेछ ?’

‘दुई खुट्टा टेक्ने ।’ यसो भन्दै रामदेवी देउला हाँस्न थाली ।

यो कुरा सुनेर, हरिमायाका आँखा ताल जस्तै फुटयो ।

‘किन रोएकी नि काले तेरो छोरो हो र ?’ प्रेमा देउलाले हरिमायालाई सोधी ।

‘छोरो हुनैपर्छ र, छोरो भन्दा के कम थियो र त्यो केटो ? मलाई थाहा थिएन, यस्तो हुन्छ भनेर । नत्र म बिदामा बस्ने नै थिइनँ । मैले कृष्णलाई बचाउन सकिनँ ।’

हरिमायाले यति भन्दै धुरुधुरु रोइन ।

हरिमाया फेरि बर्बराई, ‘यो सहरले तिमीलाई कुकुरसँगै सुताइदियो, कुकुरसँग उठाइदियो । कुकुरलाई बोलाउँदा तिमीले हजुर भन्थ्यो । तिमीलाई बोलाउँदा कुकुरले पुच्छर हल्लाउँथ्यो । मान्छेहरुले बुझेन, यो शहरमा मान्छेकै भाउ । आज थाहा पाएँ, तिमी मर्दा पनि एउटा भुस्याहा कुकुरको अन्त्येष्टि भए जस्तो तिम्रो अन्त्येष्टि भयो । हार्दिक श्रदाञ्जली बाबु, यो निर्मम शहरमा, फेरि जन्म लिनै परे कुुकुरको छाउरो हुनु, मान्छेको छाउरो नहुनु ।

कृष्णको मृत्यु भएको चार दिन जति हरिमाया सडक बढार्न आइनन् । कृष्ण बितेको दुई हप्तापछि, एकाबिहान हरिमाया कुचो लिएर सडक बढार्दै थिइन् । त्यति नै बेला फुटपाथको त्यही कुनामा दश एघार बर्ष जतिको एक अर्को सडक बालक सुतिरहेको देखिन् । त्यो बालकलाई देखेर उनलाई कृष्णकै झल्को आयो । त्यही बालकसँगै भर्खरै जन्माइएका कुकुरका दुइटा असाध्यै राम्रा छाउराहरु लमतन्न सुतिरहेका थिए । ती छाउराका सुत्केरी आमा खानेकुराको लागि कतै गएको हुनुपथ्र्यो । एक जना पचास उमेर जतिको अर्धबैंशे पुरुष त्यहाँ आयो र ती कुकुरका आकर्षक दुइटा छाउरा काखी च्यापेर हिँडन खोज्यो । त्यो देखेर हरिमाया चिच्चाइन्, ‘ए, दाइचा, ए, ए, कुकुरका छाउरा लिएर कता ?’

‘पाल्न लग्या । हेर कति राम्रा छन् । घरमा मेरा बच्चाहरुलाई असाध्यै मन पर्छ कुकुरका बच्चाबच्ची ।’

‘अनि यो मान्छेको बच्चा सुन्दर छैन र ?’ उनले त्यही फुटपाथमा आवाज आएर आँखा मिच्दै उठेको सडक बालकतिर देखाउँदै बोलिन् ।

‘हेर्दै घिनलाग्दो छ । तिमीलाई यो केटो मन पर्यो भने तिमी पाल्न लग्नु न ।’ त्यो पुरुष ठूलो स्वरले करायो ।

‘छि ! तपाईहरुलाई कृुकुरको बच्चा मन पर्छ, मान्छेको बच्चा मन पर्दैन है । पाल्नु पर्दैन तिमीहरुले, म पाल्छु यस्लाई ।’ हरिमायाले त्यो सडक बालकलाई उठाएर आफनो छातीमा राखिन् । यो देखेर सृजना देउला कराई, ‘आफ्नै यत्रो पेट फुलेको छ, यत्रो ठूलो भुस्याहा मान्छे बोकेर, हरिमाया के गर्या तिमीले ? आफ्नो पेटलाई पनि त ख्याल गर्नु न । किन त्यो मान्छेको छाउरालाई उठाएर कता ?’

हरिमायाले बोलिन् ‘म पाल्छु यिनलाई’

‘तिम्रा बच्चाहरु त कस्ले पाल्लान् हरिमाया, भो यस्ता खातेलाई उठाएर क्या गर्छौ ? ति ति अन्हे ति ।’ निर्मला धाउला कराइन् ।

‘बरु एक छाक खाउँला, यो बच्चा अब मै पाल्छु ।’

गर्भवती भएर आफ्नै अजङ्गको पेट भएको हरिमाया देउलाले त्यो सडक बालकलाई छातीमा च्याप्दै अगाडि बढिन् । ‘अब कोही पनि सडक बालबालिका कृष्ण जस्तो सडकको फुटपाथमा अकालमा मर्न नपरोस् ।’ हरिमाया देउला बबराउँदै अगाडी हिँडिन् । त्यो फुटपाथमा अब भने न कुकृुरका छाउरा बाँकी रहे न मानिसको छाउरा नै । हरिमाया देउलाको कुचो भने सडकको सबै फोहोर बढारेर, थाकेको प्रतीत हुने गरी, त्यही फुटपाथको कुनामा लमतन्न सुतिरहेको थियो ।