प्रहरीले केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी लिन तर पक्राउ नगर्ने
काठमाडौँ — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जेन–जी आन्दोलनका घाइते परिवारबाट आएको जाहेरी प्रहरीले लिने भएको छ । सोमबार सुधन गुरुङसहित पुगेर दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिने भएको हो ।
तर, प्रहरीले तत्काल जाहेरी दर्ता भने नगर्ने भएको छ । दर्ता नभए उनीहरुलाई पक्राउसमेत नगर्ने एक उच्च प्रहरी अधिकृतले बताए । ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ ती अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं । यसो हुँदा पक्राउ गर्ने नगर्ने अधिकार उहाँहरुमै रहन्छ ।’
जेन–जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए । ‘जाहेरी आउँदैपिच्छे दर्ता गर्दै जाने हो भने भोलि काठमाडौंका मेयर बालेन शाहविरुद्ध पनि जाहेरी आउला । त्यस्तो अवस्थामा के गर्ने ?,’ एक सुरक्षा प्रमुखले बैठकमा भनेका थिए, ‘विगतमा उहाँले सिंहदरबार जलाउने भन्दै स्ट्याटस लेखेकाले त्यही उद्धृत गर्दै जाहेरी आए त्यो पनि दर्ता गर्नुपर्ने अवस्था आउनसक्छ ।’
नेपाली सेनाले समेत परिस्थिति जटिल रहेको भन्दै संयमतापूर्वक अघि बढ्नुपर्ने सुझाव दिएको थियो । पछि प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ‘कानुनी फ्रेमवर्कभित्रै रहेर निर्णय लिइने’ बताएको स्रोतको भनाइ छ । त्यसपछि उत्पन्न परिस्थितिमा प्रहरी जाहेरी लिन त तयार भएको छ । तर, दर्ता नगरी आयोगमा बुझाउने निर्णय भएको स्रोतले बतायो ।
उनीहरूले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत जाहेरीमा विपक्षीका रूपमा उल्लेख गरेका थिए । ‘आदेश दिने कर्मचारीलाई त्यसरी कारबाही गर्दै जाने हो भने भोलि प्रहरी र कर्मचारीको मनोबल के हुन्छ ? सरकारले कसरी काम गर्छ भन्ने कुरा पनि राख्यौं,’ छलफलमा सहभागी एक अधिकारीले भने ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख सोमबार साँझ ६ बजेदेखि नै गृह मन्त्रालयमा छलफलमा थिए । राति १० बजेतिर गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित सुरक्षा प्रमुखहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । त्यहाँ प्रधानसेनापति अशोकराज सिग्देल पनि थिए । पछि राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई समेत बोलाइएको थियो ।