सुनको मूल्य तीन लाख पुग्ने हल्लापछि नेपाली बजारमा सुनको हाहाँकार
काठमाडौँ – सुनको मूल्य छिट्टै तीन लाख पुग्ने हल्लापछि व्यापारीले सुन लुकाएका छन् । व्यापारीले लुकाएपछि नेपाली बजारमा सुन र चाँदीको हाहाँकार मच्चिएको छ । बजारमा सुनको माग उच्च हुँदा बैंकहरूले सुन दिन सकेका छैनन् ।
दशैंअघि भनेकैवेला उपलब्ध हुने सुन अहिले क्युमा बस्नुपर्ने बाध्यता आएको बैंकरहरुले बताएका छन् । बैंकहरुले सुन दिन नसकेपछि तराईका जिल्लाहरुमा अवैध कारोबारसमेत हुन थालेको छ।
काठमाडौं। सुनचाँदीको मूल्य विश्वव्यापीरुपमै लगातार वृद्धि हुँदै जाँदा नेपाली बजारमा यसको अभाव चुलिन थालेको हो । विश्वव्यापी रूपमा नै सुनचाँदीको माग बढेको र नेपालमा सुनको मूल्य ३ लाख पुग्ने हल्लापछि व्यापारीहरुले सुन लुकाउदा हाहाकार मच्चिएको हो ।
अहिले नेपाली बजारमा सुनचाँदी सहजै पाउन कठिन भएको छ। जर्तिसहितको गहना केही मात्रामा उपलब्ध भए पनि बेरुवालगायत सुन पाउन मुश्किल परेको बैंकहरुले बताएका छन् । सुनसँगै मूल्य पनि निरन्तर वृद्धि हुने प्रक्षेपणपछि चाँदीको पनि अभाव देखिन थालेको छ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार, बैंकहरूले सुन आयातका लागि प्रतीतपत्र खोल्दा पहिले सजिलै उपलब्ध हुने सुन ल्याउन अहिले समय लाग्न थालेको छ।