बालेन र सुधनविरुद्धको जाहेरी दिने एमाले नेतालाई झट्का
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अभियन्ता सुधन गुरुङविरुद्धको उजुरी दर्ता गर्न प्रहरीले अस्विकार गरेको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार शाह र गुरुङलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको थियो ।
परिसरका एसपी पवन भट्टराईले जाहेरीमा केरमेट भएको र नबुझिने खालको भएकाले दर्ता नगरिएको बताए । “हामीले जाहेरी फिर्ता गरेको होइनौँ । जाहेरीमा केरमेट भएका कारण प्रक्रियामा लिन नमिलेको हो । हामीले केरमेट नगरी अर्को जाहेरी ल्याउनुपर्यो भनेका हौँ । अर्को जाहेरी आएपछि अध्ययन गर्छौं,” उनले भने ।
अखिलका महासचिव दीपक धामीको नेतृत्वमा अनेरास्ववियुको टोली परिसर पुगेको थियो । अनेरास्ववियुले भदौ २४ मा काठमाडौंमा भएको आगजनीमा बालेन र सुधनको संलग्नता रहेकाले उनीहरूलाई पक्राउ गर्नुपर्ने माग गरेको छ ।
मंगलबार नै सुधन गुरुङ समूहले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उनीहरूको जाहेरी भने प्रहरीले छानबिन आयोगलाई पठाएको छ ।