मूल्य तीन लाख पुग्ने हल्लापछि व्यापारीले लुकाए सुन
काठमाडौँ – सुनको मूल्य छिट्टै तीन लाख पुग्ने हल्लापछि व्यापारीले सुन लुकाएका छन् । व्यापारीले लुकाएपछि नेपाली बजारमा सुन र चाँदीको हाहाँकार मच्चिएको छ । बजारमा सुनको माग उच्च हुँदा बैंकहरूले सुन दिन सकेका छैनन् ।
दशैंअघि भनेकैवेला उपलब्ध हुने सुन अहिले क्युमा बस्नुपर्ने बाध्यता आएको बैंकरहरुले बताएका छन् । बैंकहरुले सुन दिन नसकेपछि तराईका जिल्लाहरुमा अवैध कारोबारसमेत हुन थालेको छ।
जर्तिसहितको गहना केही मात्रामा उपलब्ध भए पनि बेरुवालगायत सुन पाउन मुश्किल परेको व्यवसायीहरूले बताएका छन्। सुनसँगै मूल्य पनि निरन्तर वृद्धि हुने प्रक्षेपणपछि चाँदीको पनि अभाव देखिन थालेको छ।
एक बैंकरले सुन आयातका लागि प्रतीतपत्र खोल्दा पहिले सजिलै उपलब्ध हुने सुन अहिले ल्याउन समय लाग्न थालेको छ। ‘सुन पहिले भनेको समयमा उपलब्ध हुन्थ्यो। अहिले क्युमा बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने। नेपालमा सुनको आयात वाणिज्य बैंकहरूमार्फत हुने गर्दछ भने चाँदी व्यवसायीहरूले आफैं आयात गर्न पाउने व्यवस्था छ। तर दुवैको अवस्था अहिले एकैखाले भएको छ। व्यवसायीहरूका अनुसार चाँदी मगाए पनि त्यो तत्कालै बिक्री भइहाल्ने गरेको छ।
लगानीको अन्य विकल्प नभएकाले सानाठूला सबैखाले लगानीकर्ताले सुनचाँदीमा पैसा हाल्ने क्रम बढेको छ। ‘गरगहना र हस्तकलाका लागि भन्दा पनि लगानीका लागि सुनचाँदीको माग उच्च छ। त्यही कारण अहिले आयात भएजति सुनचाँदी बिक्री भइहाल्ने गरेको छ,’ एक व्यवसायीले भने।
अहिले नेपाली बजारमा सुन प्रति तोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ भने चाँदी दुई हजार नौ सय ५५ रुपैयाँ पुगेको छ। विशेष कुरा के छ भने, चाँदीको मूल्य वर्ष दिनमै दोब्बर भइसकेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार सुनचाँदीको मूल्य रोकिने कुनै संकेत देखिएको छैन। नेपाली बजारमा छिट्टै सुनको मूल्य तीन लाख रुपैयाँ पुग्ने प्रक्षेपण हुन थालेको छ।