डा. निकोलस भुसाल गजेंडी भएको पुष्टि, सुधार केन्द्र पठाउने तयारी

बिहिबार, २३ असोज २०८२

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका डा. निकोलस भुसाल गजेंडी भएको पाइएको छ । आन्दोलनका क्रममा पक्राउ परेका भुसालले गाँजा सेवन गरेको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि गजेंडी भएको पुष्टि भएको हो ।

गाँजा सेवन गरेको रिपोर्ट आएपछि प्रहरीले उनलाई सुधार केन्द्र पठाउन लागेको छ । यसअघि विभिन्न आन्दोलनका क्रममा पनि उनी पक्राउ परेको थिए। सो क्रममा पनि उनले गाँजा सेवन गर्ने गरेको स्वास्थ्य परीक्षणका क्रममा पाइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भुसाललाई सुधार केन्द्र पठाउन लागिएको बताए। भट्टराईले भने, ‘निकोलसको स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन देखिएकाले रिह्याव सेन्टर पठाउने तयारी छ।’

बिहीबार जिल्ला प्रशासन कार्यालयबाट कुनै पनि समूहले आन्दोलनका लागि अनुमति लिएका थिएनन्। अनुमति लिएको एक समूहले समेत आन्दोलन फिर्ता गरिसकेको थियो। तर, भुसाल लगायतले सोही आवरणमा मान्छे जम्मा गरेर आन्दोलन गर्न उक्साएको भन्दै प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्य परीक्षण भएको हो।