सिके राउत र केपी ओलीबीच गोप्य भेट

शुक्रबार, २४ असोज २०८२

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहिबार बिहान सडकमार्ग हुँदै मधेशबाट काठमाडौं आएका उनी दिनभर नयाँ बानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेर शीर्ष नेताहरूसँग आन्तरिक छलफल सकाई साँझ साढे ६बजे भक्तपुरको गुण्डुस्थित ओलीको नयाँ निवास पुगेका थिए ।

झण्डै ४५ मिनेटसम्म ओलीसँग गोप्य भेट गरी सवा ७ बजे उनी त्यहाँबाट बाहिरिएको बताइन्छ । ओली र राउतबीच पछिल्लो राजनीतिक घटनाक्रम,हाल मधेश प्रदेशमा मुख्यमन्त्री चयनको विषयमा छलफल भएको अनुमान छ ।

जनमत पार्टी हाल मधेश प्रदेशमा सत्तारुढ छ भने एमाले पनि प्रदेश राजनीतिमा सक्रिय रूपमा प्रभाव जमाउने प्रयासमा छ । ओली–राउत भेट यसै सन्दर्भमा अर्थपूर्ण ठहरिन सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।