रविसँगै नख्खु जेलबाट भागेका आकाशले गरे आफ्नै साथीको हत्या
काठमाडौं – रास्वपा सभापति रवि लामिछानेसँगै नख्खु जेलभाग भागेका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । जेन–जी आन्दोलनको मौका छोपेर रविसँगै भागेका राप्ती गाउँपालिका १ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङको हत्या गरेका हुन् ।
उनले गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए । सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरज र आकाश चिनजानकै साथी भएको प्रहरीको भनाइ छ । घटनापछि आकाश फेरि भागेका छन् । अनुसन्धानको क्रममा आकाश लागु औषध मुद्दामा २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ मा नख्खुसहित देशभरको कारागारमा आगजनी र हुलदंगा गरी कैदीबन्दी भगाइएको थियो । फरार सयौं अझै बाहिरै छन् । यसअघि जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका १२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए ।