एक व्यक्तिले गरे आफ्नो जिउदै अन्त्येष्टि

मंगलबार, २८ असोज २०८२

काठमाडौं—भारतको बिहार राज्यको गया जिल्लामा ७४ वर्षीय पूर्व वायुसेना अधिकृत मोहन लालले अनौठो र भावुक प्रयोग गर्दै आफ्नै जीवित अन्त्येष्टि गरेका छन्।

मोहन लालले गाउँका आफन्त र छिमेकीहरूलाई बोलाएर सेतो कफन लगाई फूल–मालाले सजाइएको अर्थीमा बसे। गाउँलेहरूले “राम नाम सत्य है” भन्दै उनलाई परम्परागत शैलीमा चिहानस्थलसम्म लगे।

अन्त्येष्टि स्थलमा पुगेर उनले उठेर भने, “म हेर्न चाहन्थें, जब म जाने बेला आउँछ, तब मलाई सम्झने को–को हुन्।”

पूर्व सैनिक मोहन लालले जीवनभर देशको सेवा गरेको तर वृद्धावस्थामा आफूलाई कसले सम्झिन्छ र कसले बिर्सन्छ भन्ने बुझ्न यस्तो प्रतीकात्मक कदम चालेका थिए। अन्त्येष्टि पछि प्रतीकात्मक रूपमा उनको पुतला जलाइयो र गाउँमा सामूहिक भोजनको आयोजना पनि गरियो।
गाउँलेहरू उनका यो कदमले भावुक बने। कतिपयले भने, मोहन लालको कार्यले समाजमा सम्बन्ध, माया र बिर्सँदाको अर्थबारे गहिरो सन्देश दिएको छ।