बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चितवनमा दीप प्रज्वलन
चितवन – बिपिन जोशी प्रति श्रद्धाञ्जली अर्पण गर्दै विप्लव निकट अखिल (समाजवादी) र युवा संगठन नेपालद्वारा मंगलबार चितवनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। चौबीस कोठिमा गरेको कार्यक्रमको सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य पारस सीले गरेका थिए भने अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले सम्बोधन गरेका थिए।
सम्बोधनमा अटल सीले बिपिन जोशीको हत्या प्रकरणबारे हालसम्म राज्यले प्रभावकारी खोजी अगाडि नबढाउनु गम्भीर गैरजिम्मेवारी भएको टिप्पणी गरे। “नेपालमा यो बीचमा थुप्रै सरकार फेरिए, तर बिपिन जोशीको विषयमा खोजी कार्य आजसम्म ठप्प छ। यो राज्यको गैरजिम्मेवारपन हो,” उनले भने । साथै उनले हाल गठन भएको सरकारले परराष्ट्र मन्त्री समेत नबनाएको उदाहरण दिँदै यसलाई “सरकारको कमजोर राजनीतिक इच्छाशक्ति र अक्षम नेतृत्वको संकेत” बताएका थिए।
कार्यक्रममा विद्यार्थी, युवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गरी बिपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
