सिंहदरबारको मूल गेटमा एसएलआर कक गर्दै पोजिसन दिने व्यक्ति पक्राउ
काठमाडौं — देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन दिने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर उच्छृंखल गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् । ललितपुर महानगरपालिका—१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।
टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडिओमा देखिन्थ्यो ।
ट्राउजर र चप्पल लगाएका ती व्यक्ति सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा रहेको आशंका प्रहरीको छ । उनै परियारले सुरक्षाकर्मीको स्वचालित एसएलआर हतियार लुटेर आतंक सिर्जना गरेका थिए ।
राइफल बोकेर पोजिसन लिएको तस्वीर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत उनको खोजी सुरु गरेको थियो । घटनाको एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।