प्रधानमन्त्रीलाई भेटेका कलाकारले भने, ‘सामाजिक संजाल नियमन गर्नुहोस्’

बिहिबार, ६ कार्तिक २०८२

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेको कलाकारको टिमले सामाजिक संजाल नियमन गर्नुपर्ने माग गरेका छन् । बुधबार बेलुका प्रधानमन्त्री कार्यालय बालुवाटारमा भेटेका कलाहरुले समाजिक संजाललाई नियमन गर्न माग गरेका हुन् ।

जवाफमा कार्कील भनेकी थिइन् ‘समाजमा तपाईं कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमीकमजोरी भए पनि औंल्याइदिनुहोस्। तर असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौं। हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौं।’

कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपागान्डाबाट नडराई संकल्प अनुसार अघि बढ्न सुझाव दिए। उनीहरूले भ्रष्टाचारविरूद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए।

भेटमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्म लगायतको उपस्थिति थियो।