दुर्गा प्रसाईंले ५ लाख मानिस सडकमा उतार्ने, बालुवाटारमा छलफल
काठमाडौं – विवादास्पद व्यापारी दुर्गा प्रसाईंले छठ पर्वपछि गर्ने भनेको आन्दोलनलाई लिएर सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा सुरक्षा निकायका शीर्ष अधिकारीहरूसँग दुई घण्टा लामो बैठक बसेर सम्भावित जोखिमबारे छलफल गरेकी छन्।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति थियो।स्रोतका अनुसार सुरक्षा निकायले प्रसाईंको आन्दोलनमा बाह्य घुसपेठ र अराजक गतिविधि हुने सम्भावना उच्च रहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए। त्यसलाई रोक्न वार्तामार्फत समाधान खोज्ने सुझाव पनि सुरक्षा निकायले प्रधानमन्त्रीलाई दिएको बताइएको छ।
गृहमन्त्री अर्यालले पनि आन्दोलनरत पक्षसँग संवाद र समन्वय गर्न पहल गर्ने तयारी भएको जानकारी दिएका छन्। यद्यपि, हालका लागि प्रसाईं र उनको समूह निगरानीमा रहेको सुरक्षातर्फका अधिकारीहरूले बताएका छन्। प्रसाईंलाई सहयोग गर्ने समूह र सम्भावित वित्तीय संलग्न पक्षहरू पनि प्रहरीको ‘क्लोज वाच’मा छन्।
प्रधानमन्त्रीसँगको छलफलपछि प्रहरी महानिरीक्षक (आईजीपी) कुबेरचन्द्र खापुङले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापालाई हेडक्वाटरमा बोलाएर वर्तमान सुरक्षा स्थिति र आन्दोलनसम्बन्धी सूचनाहरूबारे प्रत्यक्ष जानकारी लिएका छन्। ‘प्रधानमन्त्रीसँगको छलफलपछि एसएसपीलाई बोलाएर जानकारी लिँदै हुनुहुन्छ। अहिले प्रसाईंको आन्दोलनले के होला भन्ने छ,’ एक प्रहरी अधिकारीले भने।
प्रधानमन्त्री निवासमा मात्र नभई पछिल्ला केही दिनदेखि प्रसाईंको आन्दोलनबारे विभिन्न तहका सुरक्षा बैठकहरूमा निरन्तर छलफल भइरहेका छन्। शुक्रबार काठमाडौं जिल्ला सुरक्षा समितिको बैठकमा पनि यही विषयमा छलफल गरिएको थियो। उक्त बैठकमा सम्भावित घुसपेठ, अराजकता र भीड व्यवस्थापनका चुनौतीलाई मध्यनजर गर्दै सूचना संकलन र निगरानीलाई अझ बलियो बनाउने निर्णय गरिएको थियो।
प्रसाईंले सामाजिक सञ्जालमार्फत आगामी आन्दोलनमा ५ लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गर्दै आएका छन्। अघिल्ला प्रदर्शनहरूमा उनले रकम तिरेर (भाडामा) नै मानिसहरू भेला पारेको आरोपसमेत लागेको छ। गत चैत १५ गते तीनकुनेमा प्रसाईंले आयोजना गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। त्यसपछि उनी भारत फरार भए पनि प्रहरीले पक्राउ गरी ल्याएको थियो। अदालतको आदेशमा उनी धरौटीमा रिहा भएका थिए।
हाल जेनजेड आन्दोलनको क्रममा उनी अचानक सेनापतिसँगको भेटपछि पुनः चर्चामा आएका छन्। त्यसकारण पनि सुरक्षा निकायहरू झनै सतर्क बनेका छन्।