जेनजी आन्दोलनमा दमन गर्ने प्रहरी अधिकृतमाथि कारवाही सुरु
काठमाडौँ – जेनजी आन्दोलनमा दमन गर्ने प्रहरी अधिकृतमाथि कारवाही सुरु भएको छ । भदौ २३ गते बारम्बार गोली चलाउन आदेश दिने तत्कालिन काठमाडौं परिसर प्रमुख एसएसपी विश्व अधिकारीबाट कारवाही प्रक्रिया सुरु भएको छ ।
पहिला चरणमा अधिकारीलाई बढुवा हुनबाट रोकिएको छ । एसपीबाट एसएसपि बढुवा हुँदा पहिलो नम्बरमा परेका अधिकारी डिआईजी बढुवामा छुटेका छन् । उनको व्याजका भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अभिनारायण काफ्ले बढुवा सिफारिस हुँदा उनी छुटेका छन् ।
आज निकालिएको एसएसपीबाट डीआईजीको बढुवा सिफारिसमा अधिकारी छुटेका हुन् । बढुवा दाबेदारको अग्र स्थानमा रहेका अधिकारी छुट्दा पाँच एसएसपी डीआईजीका लागि सिफारिस भएका छन् ।
तर अधिकारीको हकमा भने जेनजी घटनाको छानबिनको क्रममा रहेको भन्दै बढुवा सिफारिसमा छुटाइएको छ। जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
त्यसपछि अधिकारी सहित काठमाडौं प्रहरी परिसरको टिम नै परिवर्तन गरिएको थियो ।जेनजी आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको छ । कार्की विरुद्ध सर्वोच्चमा रिट समेत दायर भएको छ ।
२०८० वैशाख २४ गते भएको एसएसपी बढुवामा पहिलो नम्बरमा अधिकारी थिए। तर जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख रहेका उनलाई हेडक्वाटर फिर्ता गरेर एसएसपी रमेश थापालाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो।