कुलमान घिसिङका कारण ५० हजार श्रमिक रोजगारी बिहिन

सोमबार, १० कार्तिक २०८२

काठमाडौँ – कुलमान घिसिङका कारण ५० हजार श्रमिकले रोजगारी गुमाएका छन् । देशका ठूला २५ उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ५० हजार बढी कामदारको रोजिरोटी गुमेको हो ।

नेपाली विद्युत प्राधिकरणले उद्योगीलाई टिओडी विल नदिएर डेडिकेडेट र टंकलाइनको फर्जी विल पठाएको विरोध गर्दा विजुली अवरुद्ध भएको छ । विजुली अवरुद्ध हुँदा उद्योगमा काम गर्ने श्रमिकको रोजिरोटी गुमेको छ ।

आफूहरूले माग र प्रयोग नै नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बुझाउन नसकिने बताउँदै आएका उद्योगहरूको  विद्युत प्राधिकरणले कात्तिक ७ गते लाइन काटिदिएको छ।

विद्युत प्राधिकरणले गत शुक्रबार साँझदेखि बुटवल–भैरहवा सडक आसपास रहेका पञ्चकन्या करिडोरका पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, भलवारि स्वचालित चामल कारखाना, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटिदिएको हो।

उद्योगहरूमा विद्युत कटौती भएका उद्योगहरूमा उत्पादन बन्द भएपछि त्यहाँ कार्यरत सबै मजदुर बेरोजगार बन्ने अवस्थामा पुगेका हुन्।

पञ्चकन्यामा इलेक्ट्रिसियनको काम गरेर सारूले छोराछोरी हुर्काए। जीवनको ऊर्जाशील समय एउटै उद्योगमा बिताएका रन बहादुर चाहन्थे आफ्ना दुई छोराहरू पनि त्यही उद्योगमा काम गरून्। आफ्नो त्यही चाहनाले उनले छोराहरू रविन र रमेशलाई पनि केही समययता आफूसँगै काममा लगाएका थिए। अहिले भने रोजगारीका लागि विदेश पठाउने तयारीमा छन्।

नेपाल विद्युत प्राधिकरण र उद्योगीहरूका बीचमा ट्रंकलाइन र डेडिकेटेड लाइनको विवादका कारण उद्योगमा विद्युत कटौती भएपछि अहिले उद्योगको उत्पादन बन्द गरिएको छ। उद्योगमा उत्पादन बन्द भएपछि त्यहाँ कार्यरत मजदुर कामविहीन भएका छन्। उद्योगहरू नै बन्द हुने अवस्थामा पुगेपछि नेपालमा छोराहरूको भविष्य असुरक्षित हुने भन्दै विदेश पठाउने तयारी गरेको उनले बताए।