प्रधानमन्त्री परिवर्तनको बहस पेचिलो बन्दै

सोमबार, १० कार्तिक २०८२

काठमाडौं— फागुन २१ को निर्वाचन नहुने खतरा बढेपछि प्रधानमन्त्री परिवर्तनको बहस पेचिलो बनेको छ ।

सुशीला कार्कीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र चोलेन्द्र शमशेर जबरा फिल्डमा उत्रिएका छन् । उनीहरुमध्ये १ जनालाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन विभिन्न शक्तिकेन्द्रहरु सक्रिय भएका छन् ।

गत भदौ अन्तिमबाट अन्तरिक सरकारले देशको बागडोर सम्हालेको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्दा नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी कार्यभार तोकिएको छ । तर, डेढ महिना भइसक्दा पनि निर्वाचनका स्टेकहोल्डर चुनावका लागि तयार नहुँदा देशमा लम्बिन सक्ने संक्रमणकालको विषयलाई लिएर बहस हुन थालेको छ ।

साथै सत्ता परिवर्तनको निर्णायक आन्दोलनकर्मी जेन–जीको मागअनुसार पनि सरकारले काम गर्न नसकेको आरोप लागिरहँदा देशमा फेरि सरकार नेतृत्व परिवर्तनको विषय छलफलमा आउँन थालेको छ ।

गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनले तत्कालीन सरकारलाई सत्ताच्युत गराएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर नेपाली सैनिकको शरणमा पुगेका थिए ।

जसले गर्दा भदौ २४ गतेदेखि सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म देश ‘अभिभावक’विहीन अवस्थामा थियो । देशको शान्तिसुरक्षासहितको जिम्मेवारी नेपाली सेनाले लिएर सडकमा उत्रिएको थियो ।

राजनीतिक दलका नेता नेपाली सेनाको शरणमा र भूमिगतजस्तै अवस्थामा बसेका बेला सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् ।

जेन–जी आन्दोलनले दलीय नेतृत्वको सरकार बर्खास्त गरेर गैरदलीय व्यक्ति कार्कीलाई सत्ता पुर्‍यायो । कार्की नेतृत्वको सरकारले मौजुदा प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेको छ ।

तर, निर्वाचनको मिति तोकेर सरकारले तयारी थाले पनि दलहरु चुनावमा सहभागी हुनेबारे स्पष्ट हुन सकेका छैनन् ।

नेकपा एमालेले चुनावमा सहभागी नहुने संकेत देखाइरहेको छ भने कांग्रेस चुनावबाट नभाग्ने, तर निष्पक्ष र भयरहित निर्वाचन हुने वातावरणको सुनिश्चितता खोजिरहेको छ ।

अरु दलहरु पनि चुनावमा सहभागी हुने वा नहुने अस्पष्ट छन् । निर्वाचनमा सहभागी हुने बताएका दलहरुले चुनावी कार्यक्रम तय गर्न सकेका छैनन् । नागरिक तहमा पनि फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेमा शंका छ ।

यस अवस्थामा पुनः प्रधानमन्त्री परिवर्तनको बहस घनिभूत हुन थालेको स्रोतहरु बताउँछन् । कार्कीलाई विस्थापित गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाममा बहस भइरहँदा थप तीनजनाको नाम पनि अघि सारिएको छ ।