तीन जिल्लाका सिडियोहरुले थर्काएपछि दुर्गा प्रसाई साइजमा आए

सोमबार, १० कार्तिक २०८२

काठमाडौं—तीन जिल्लाका सिडियोहरुले थर्काएपछि दुर्गा प्रसाई साइजमा आएका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुरका सिडियोसँगको छलफलपछि उनले घोषणा गरेको निर्णयक आन्दोलन फिर्ता भएको छ ।

छठपछि हुने भनिएको आन्दोलन फिर्ता लिएर प्रसाई सरकारसँग वार्ता गर्न तयार भएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालले जायज माग पुरा गर्न सरकार तयार रहेको बताएपछि दुर्गा प्रसाई गलेका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले पनि प्रसाईंलाई सुझबुझपूर्ण सल्लाह दिएका थिए ।

उनका शब्दहरू सन्देशमूलक छन्, “जायज मागहरू सुनुवाइ गर्न नेपाल सरकारले वार्ताको ढोका खुला गरिसकेको छ। अहिलेको परिवेश जोखिमपूर्ण छ, तपाईंको ज्यानको समेत खतरा हुन सक्छ। त्यसैले वार्ताबाटै समाधान खोजौं।”

प्रसाईंले पनि जिम्मेवार प्रतिक्रिया दिँदै “म वार्तामा बस्न चाहन्छु” भन्ने आशयको पत्र बुझाएर राजनीतिक परिपक्वता देखाएका छन् ।

गत केही महिनादेखि प्रसाईंले भड्काउपूर्ण अभिव्यक्तिहरू दिँदै आएका थिए । सामाजिक सञ्जालमा उनका पोस्टहरूले तातो बहस जन्माइरहेका थिए । तर, आइतबारको निर्णयले उनी अब सडक संघर्ष होइन, संवादमार्गमा उभिन तयार भएको सन्देश दिएको छ ।