रविले ‘जेल बसेर सभापति छाड्दिनँ’ भनेपछि अड्कियो रास्वपामा बालेन–कुलमान मिसाउने प्रयास

सोमबार, १० कार्तिक २०८२

काठमाडौं— सभापति नछोड्ने रवि लामिछानेको हठका कारण बालेन्द्र शाह, कुलमान घिसिङ, गोपी हमाल र सुदन गुरुङलाई मिलाएर एउटै पार्टी बनाउने योजना असफल भएको छ ।

झण्डै तीन हप्तादेखि विभिन्न चरणमा भएको छलफल निश्कर्षविहिन हुँदा देशकै ठूलो पार्टी बनाउने सपना तुहिएको छ । पार्टीको नाम रास्वपा र चुनावचिन्ह घण्टी राख्न सबै सहमत भएपनि रविले जेलबाटै पार्टी चलाउन खोजेपछि एकता भाँडिएको छ ।

आगामी फागुन २१ गतेको लागि तय भएको चुनावका लागि नयाँ दल नखोल्ने, बरु रास्वपामै मिसिएर लड्न सबै सहमत भइसकेका छन्।

‘रास्वपा, कुलमान, बालेन, गोपी, जेनजीका समूह, विवेकशील र पुराना पार्टीका पनि केही राम्रा व्यक्तिहरू मिलाएर एउटै शक्ति बनाउन लगभग समझदारी बनिसकेको छ,’ छलफलमा सक्रिय एक नेताले भने, ‘दलको नाम रास्वपा नै राख्ने सहमति पनि छ। तर, केही सर्तमा कुरा मिलिसकेको छैन।’

रवि लामिछाने नभए रास्वपा नचल्ने कुरामा यी सबै एकमत छन्। त्यही भएर रविलाई पार्टीमा सम्मानजनक सहभागिता गराउन पनि उनीहरू तयार छन्।

तर, रास्वपा सभापति रवि लामिछानेमाथि मुद्दा चलेकोले किनारा नलागेसम्म कार्यकारी भूमिकामा नबस्न उनीहरूले आग्रह गरेका छन्।

रविलाई संरक्षक वा सर्वोच्च नेता बस्न आग्रह गरिएको छ। तर, कार्यकारी भूमिका छाड्न रवि तयार भएका छैनन्। मुख्य अड्को त्यही भएको छलफलमा रहेका अर्का नेताले बताए।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा रवि एक वर्षदेखि कारागारमा छन्।

सबैलाई समेट्नको लागि रविलाई केही समय कार्यकारी जिम्मेवारीमा नरहँदा राम्रो हुन्छ भनेर बालेनका सहयोगी कुमार बेनदेखि हामी नेपाल अभियानका संयोजक सुदन गुरुङ लगायतले सुझाव दिएका छन्।

‘तपाईंलाई पार्टीबाट हटाउन खोजेका होइन, तपाईंको महानताले सबैलाई समेट्न सक्छ, अलिकति कानुनी प्रक्रिया सहज हुने अवस्था हुनसक्छ। त्यसपछि तपाईंलाई फेरि कार्यकारी सभापतिमा फर्कन कसैले रोक्दैन। तर, अहिलेलाई तपाईं नै सभापति हुँदा नयाँ आउने व्यक्तित्वलाई गाह्रो हुन्छ भनेर विभिन्न तहबाट आग्रह गरेका छौँ, त्यसमै कुरा मिलिसकेको छैन,’ ती नेताले भने।

बालेन निकट उनीहरूले उर्जामन्त्री कुलमान घिसिङलाई रास्वपाको सभापति बनाउन प्रस्ताव गरेका छन्।

त्यसो हुँदा पार्टी सर्वस्वीकार्य बन्ने र नेतृत्वमा कुनै समस्या नहुँदा चुनावमा आरामदायी बहुमत ल्याउन सकिने उनीहरूको बुझाइ छ।

‘दसैँपछाडि कुमार बेन नख्खु कारागार पुगेर सभापतिसँग भेट गर्नुभएको रहेछ, उहाँले मिलेर जाऊँ भनेर प्रस्ताव राख्नुभएको छ,’ भेटबारे रास्वपाका एक नेताले भने, ‘रवि संरक्षक बस्नुपर्‍यो, कुलमानलाई सभापति बनाउनुपर्‍यो भनेर प्रस्ताव पनि राख्नुभएछ। यसरी जाँदा सबै मिल्न सकिन्छ। ठूलो पार्टी पनि बन्छ र चुनावमा तीन दललाई सजिलै पराजित गर्न सकिन्छ।’

रास्वपा छोडेर बसेकी सुमना श्रेष्ठ, फिल्म निर्देशक निश्चल बस्नेत, केही कलाकारहरू पनि रवि कार्यकारी भूमिकामा नरहे यही पार्टीबाटै चुनाव लड्न सकिने पक्षमा छन्।

यो प्रस्तावमा रवि नकारात्मक नभए पनि उनका नजिकका व्यक्तिका कारणले समस्या देखिएको वार्तामा संलग्नहरू बताउँछन्।

रास्वपाबाहेक अन्य दल बनेमा नयाँनयाँ दल जुध्दा भोट बाँडिने र त्यसले पुरानै दललाई फाइदा पुग्ने वार्तामा सहभागी नेताहरूको राय छ।