केपि ओलीले जोगाएर राखेका ठूलो माछा पक्राउ

बुधबार, १२ कार्तिक २०८२

काठमाडौँ – नेकपा एमालेले जोगाएर राखेका भिआईपी ठगलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई तिर्नुपर्ने मोटो रकम नेकपा एमालेलाई बुुझाएर सांसद बनेका निवर्तमान एमाले सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईवी)ले ठगी तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो ।

ठाकुर प्रसाद मानन्धरसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामासमेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी बसेका भट्टचनलाई मंगलबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टचनमाथि प्रभु रेमिट चलाउने प्रभु म्यानेजमेन्टलाई सुपर एजेण्टको रूपमा नियुक्त गरी उक्त प्रभु म्यानेजमेन्ट तर्फबाट तत्कालिन प्रबन्ध निर्देशक कुसुम लामाले देशभरका विभिन्न सहकारी संस्थाहरू मार्फत् विप्रेषणको कारोबार गर्ने सम्झौता पछि सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूले सम्बन्धित व्यक्तिलाई विप्रेषण बापतको रकम भुक्तानी गरेको तर प्रभु मनि ट्रान्फरका अध्यक्ष देवी प्रकाश भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्टबाट सम्बन्धित सहकारी संस्थाहरूलाई उक्त रकम सोधभर्ना नगरेको आरोप लागेको छ ।

उनीमाथि देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट उजुरी दिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन् । काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ३ टौकेलबाट पक्राउ गरी प्रहरीले जनाएको छ ।