‘गर्भवती बनाइदिएबापत २५ लाख पाउने’ विज्ञापनमा लोभिएका ठेकदार फन्दामा

बिहिबार, १३ कार्तिक २०८२

काठमाडौं—महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिने प्रस्ताव आएपछि मख्ख परेका ठेकेदार फन्दामा परेका छन् । सामाजिक सञ्जालको भिडियो देखेर फिदा भएका ठेकेदार ११ लाख भारु गुमाएपछि आफू ठगिएको पत्तो पाएका छन् ।

यो भारतको महाराष्ट्र राज्यको पुणेका ठेकेदारको कथा हो । आफू ठगीएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका छन् । यस्ता विभिन्न प्रलोभन देखाएर नेपालमा पनि ठगी भइरहेको छ ।

एक ठेकदारले सामाजिक सञ्जालमा त्यस्तै एक विज्ञापन देखे, जसमा महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिइने प्रस्ताव थियो ।

सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापनमा एक महिला भन्छिन्, ‘म यस्तो एक पुरुष चाहन्छु, जसले मलाई आमा बनाइदियोस् । त्यो पुरुष पढेलेखेको होस् वा अनपढ, गोरो होस् वा कालो, जुनसूकै जातको होस्, त्यसले मलाई केही फरक पर्दैन ।’

यो विज्ञापन हेरिसकेपछि ती ठेकदारले भिडियोमा उल्लेख भएको नम्बरमै फोन गरे । उनीसँग ‘प्रेग्नेन्ट जब फर्म’का सहायकका रूपमा एक पुरुषले कुराकानी गरे ।

यहाँबाट ती ठेकदार ठगिने क्रम सुरु भयो । आफ्नो परिचयपत्र बनाउनुपर्ने भन्दै ती व्यक्तिले ठेकदारसँग सुरुवातमा केही रकम माग गरे । यसैगरी विभिन्न प्रक्रियाका लागि भन्दै आफूसँग पटक–पटक गरी ११ लाख भारु लिइसकेको पीडित ठेकदारको भनाइ छ ।

सेप्टेम्बरको पहिलो सातादेखि २३ अक्टोबरसम्मको अवधिमा ११ लाख रुपैयाँ बुझाइसकेपछि पनि विज्ञापनमा भनेजस्तो अवसर नपाएपछि ठेकदार झस्किए । त्यसपछि उनले फोनबाटै जब कम्पनीका मानिससँग सोधपुछ गर्न थाले । अचानक आफ्नो नम्बर ‘ब्लक’ भएपछि भने ठेकदारले आफू ठगिएको आशंका गरे ।

त्यसपछि उनी प्रहरीमा ठगीको उजुरी लिएर पुगे । प्रहरीले उनको उजुरीमाथि अनुसन्धान सुरु गरेको छ । भारतमा यस प्रकारका साइबर ठगीका कैयौँ उदाहरण रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडित ठेकदारको नाम र परिचय भने खुलाएको छैन ।