रवि लामिछानेलाई छुटाउने पत्रमा सत्यराज जोशीले नै हस्ताक्षर गरेको खुलासा
काठमाडौं— रवि लामिछानेलाई छुटाउने पत्रमा नख्खु कारगाारका प्रमुख सत्यराज जोशीले नै हस्ताक्षर गरेको खुलेको छ ।
जोशीले भदौ २४ गते जेलबाट भाग्दा रविका समर्थकले तयार पारेर ल्याएको पत्रमा हस्ताक्षर गर्न धम्की आएपछि आफूले हस्ताक्षर गरेको स्वीकारेका छन् । जेनजी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठीत जाँचबुझ आयोग समक्ष उनले आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको स्वीकार गरेका हुन् ।
२३ र २४ भदौमा भएको जेन—जी आन्दोलन र प्रदर्शनका घटना छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले घटनाकेन्द्रित बयान सुरु गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार नख्खु कारगाारका प्रमुख सत्यराज जोशीको बयान लिँदै काठमाडौंकेन्द्रित अनुसन्धान सुरु गरेको हो ।
अध्यक्ष कार्कीले विभिन्न जिल्लाको वस्तुस्थिति अध्ययनपछि अब काठमाडौंकेन्द्रित अनुसन्धान र सोधपुछ सुरु भएको बताए । ५ असोजमा मन्त्रिपरिषद्ले विशेष अदालतका पूर्वअध्यक्ष तथा पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । यो आयोगलाई तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समयसीमा दिइएको छ । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर, जेल तोडेर भाग्ने क्रममा, आगजनीमा परेर तथा प्रहरी गरी ७६ जनाको मृत्यु भएको थियो । ठूलो संख्यामा सरकारी, निजी र व्यापारिक संरचनामा लुटपाट र आगजनी भएको थियो ।
आइतबार १२ बजेतिर नख्खु कारागाका प्रमुख जोशी आयोगमा पुगेका थिए । आयोग स्रोतका अनुसार उनलाई कारागार नै तोडफोड गरेर कैदीबन्दी कसरी भागे भन्ने प्रश्न सोधियो ।
आयोगले रास्वपा सभापति रवि लामिछानेदेखि जनकपुर बमकाण्डका मुख्य योजनाकार ठहर भएका सञ्जय साह टक्लासहित कैदीबन्दीका बारेमा प्रश्न सोधेको थियो । आयोगले जोशीलाई प्रश्न गर्यो, लामिछानेलाई बाहिर निकाल्न पत्र लेखिएको थियो कि थिएन ? उनलाई २३ गते जेन—जी आन्दोलनका क्रममा सरकारले बल प्रयोग गरी गोली प्रहार गरेपछि भोलिपल्ट अवस्था बिहानैदेखि तनावग्रस्त हुँदा कारागारको सुरक्षा व्यवस्था कस्तो थियो र किन कमजोर भयो लगायतका प्रश्न आयोगले सोधेको थियो ।
भदौ २४ को प्रदर्शनका क्रममा नख्खु कारागारमाथि भएको तोडफोड, आगजनी तथा फरार भएका कैदीबन्दी र घटनाको वस्तुस्थितिबारे आयोगले उनलाई सोधेको थियो । झन्डै दुई घण्टा बयान दिएका प्रमुख जोशीले भदौ २४ को बिहानैदेखि नख्खु कारागारमा त्यस दिन तोडफोड र आगजनीको प्रयास भएको बताए । संयमता अपनाउँदा अपनाउँदै पनि स्थिति काबुबाहिर गएको उनले बयान दिएको आयोगका एक सदस्यले जानकारी दिए ।
बिहानैदेखि कारागारबाहिर प्रदर्शन र सामाजिक सञ्जालमा रास्वपा सभापति लामिछानेबारे टीकाटिप्पणी भएपछि परिस्थिति बाहिर गएको प्रमुख जोशीको भनाइ छ । गम्भीर अपराधका कैदीसमेत रहेकाले कारागारमा सुरक्षा व्यवस्था कडा पारे पनि नियन्त्रणमा लिन नसकिएको उनले बताएका छन् ।
कारागारमा तोडफोड तथा आगजनीका कारण मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना देखेपछि परिवारलाई जिम्मा लगाउने प्रक्रियामा गएको प्रमुख जोशीको दाबी छ । यही क्रममा रास्वपा सभापति लामिछानेको हकमा पनि परिवारमा जिम्मा लगाउने मनस्थितिमा कारागार रहेको अवस्थामा एउटा पत्र ल्याएर आफूलाई हस्ताक्षर गर्न दबाब दिइएको उनले बयानमा भनेका छन् ।आफ्नो ज्यानसमेत तलमाथि हुने अवस्था देखेपछि पत्रको व्यहोरा नै नहेरी हस्ताक्षर गरेको उनले दाबी गरेका छन् ।