दुर्गा प्रसाईंको सिको गर्दा निकोलस भुसाल नमजाले फसे

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं—दुर्गा प्रसाईंको सिको गर्दा निकोलस भुसाल नमजाले फसेका छन् ।

आफू काठमाडौंको मृगस्थलीमा रहेको भन्दै फेसबुकबाट लाइभ आएका भुसाल प्रहरीलाई झुक्याएको सम्झिएर बाठो पल्टिदा नमजाले फसेका हुन् ।

प्रहरीलाई झुक्याएको सम्झिएर आरामले निधाएका बेला प्रहरीले गोर्खाको सरस्वती आश्रमबाट पक्राउ गरेको छ ।

चैत १५ गतेको आन्दोलनपछि दुर्गा प्रसाईंले पनि एकठाउँमा भिडियो खिच्ने र अर्को ठाउँमा छु भनेर प्रचार गर्ने गरेका थिए ।

भुसालले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौंका मेयर बालेन शाह, पूर्वप्रधानमन्त्री केपि शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका थिए ।

तीन दिनदेखि फरार रहेका डा. निकोलस भुसालले मंगलबार एकाएक लाइभ गरे । गोकर्णनाथ मृगस्थलीबाट भन्दै ४४ मिनेट लाइभ गरेका उनले ध्यान गरेको देखिन्थ्यो ।

रुद्राक्षको माला जप्दै गरेको देखिन्थ्यो । भित्तामा विभिन्न भगवानहरुका तस्बिरहरु टाँगिएका थिए । ठूलो हलजस्तो ठाउँबाट लाइभ गरेका थिए । फरार भनिएका भुसाल एकाएक लाइभमा आएर मृगस्थली भनेपछि प्रहरी अधिकारीहरू चनाखो भए ।

लाइभमा देखिएको दृश्य मृगस्थलीमा भए—नभएको यकिन गर्न सुरु भयो । तर भुसालले मृगस्थी भने झुक्याएको खुल्यो ।

प्राविधिक अनुसन्धानबाट उनी काठमाडौं नभएर गोरखा पुगेको देखियो । भिडियोमा देखिएको दृश्य गोरखाको कुनै आश्रम वा ठाउँमा हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढायो । अनुसन्धानको क्रममा खुल्यो उक्त ठाउँ गोरखा नगरपालिका–८ सरस्वती आश्रममा छ ।

सरस्वती आश्रमको सन्त निवास हलबाट भुसालले लाइभ गरेको खुल्यो । यो सबै पहिचान गरिसकेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय गोरखासँग समन्वय गर्‍यो । र, भुसाललाई सरस्वती आश्रमको सन्त निवासबाट पक्राउ गरियो ।

प्रहरी पक्राउ गर्न पुग्दा उनी सन्त निवास हलमा सुतिरहेका थिए । घाँटीमा रुद्राक्षको माला, फूलको माला लगाएका उनले गालामा सिताराम लेखेको पिताम्बर भिरेका थिए । उनी हिजो साँझ मात्रै गोरखा पुगेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

भुसालले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेका थिए । त्यहाँ उनले गत २३ भदौको जेनजी आन्दोलनमा दमन भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखकलाई हत्याराको संज्ञा दिएका थिए ।

जेनजी आन्दोलनका क्रममा २३ भदौमा एकैदिन सुरक्षाकर्मीको गोली लागेर २२ जनाको मृत्यु भएको थियो । यसमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको भूमिका रहेको उनको आरोप छ ।