नख्खु कारागारका जेलरको बयान : रवि निस्केको डेढ घण्टापछि पत्रमा हस्ताक्षर गराए

मंगलबार, १८ कार्तिक २०८२

काठमाडौं— जेलबाट भागेको डेड घण्टापछि रवि लामिछानेका समर्थकले नख्खु कारागारका जेलरलाई हस्ताक्षर गर्न लगाएको खुलेको छ ।

कारागारका जेलर सत्यराज जोशीले बाहिरबाट बनिबनाउ पत्र ल्याएर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताएका छन् ।

जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगसँगको बयानमा उनले सुरक्षा चुनौतीका कारण पत्रको ब्यहोरा नहेरी हस्ताक्षर गरेको स्वीकारेका छन् ।

जेनजी प्रदर्शनतर्फ सङ्केत गर्दै पत्रमा भनिएको छ, ‘थुनामा राख्दा थप अन्याय हुन जाने तथा देशमा अमन चयन थप खलबल पर्ने हुँदा निजलाई तत्काल थुना मुक्त गर्न निर्णयअनुसार जानकारी गराइन्छ ।’

भदौ २४ मा प्रदर्शनकारी घेरेर रविलाई जेलबाट बाहिर लगेपछि रास्वपाका मान्छेहरूले आफूलाई पत्रमा हस्ताक्षर गराएको जोशीले बयानमा खुलाएका छन् ।

उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र विन्देश्वरी भण्डारीले नख्खु कारागारको अवस्थाबारे पनि निरीक्षण गरेका छन् ।