बब्लु गुप्ताले लिए कुलमानको बदला

बिहिबार, २० कार्तिक २०८२

काठमाडौँ – खुसुक्क विदेश भागेर लुसुक्क नेपाल आएका पूर्वउर्जामन्त्री दीपक खड्काका दिनगन्ती सुरु भएका छन् । नेपाल स्काउटको ३ रोपनी जग्गा हडपेर बसेका खड्कालाई जग्गा खाली गर्न ७ दिने अल्टिमेटम आएको छ ।

शक्तिको आडमा भाडा नतिरी खड्काको ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको उक्त जग्गा भोगचलन गर्दै आएको थियो । बक्यौता रकम तिरी जग्गा खाली गर्न अल्टिमेटम दिएको स्काउटले अटेरी गरे सम्पूर्ण संरचना र सामान जफत गरिने चेतावनी दिएको छ। उनको यो कम्पनीले २०६५ सालमा १० बर्षका लागि सम्झौता गरेर भाडामा लिएको थियो । पछिल्लो ७ बर्ष सम्झौत नगरी खड्काले जग्गा कब्जा गरेका थिए ।

सम्झौताको अवधि समाप्त भए पनि कम्पनीले जग्गा खाली नगरेपछि विवाद भएको थियो । विवाद अदालतसम्म पुगेपछि काठमाडौँ जिल्ला अदालतले २०७६ असार १८ गते र पछि उच्च अदालत पाटनले २०७९ असार १३ गते नेपाल स्काउटको पक्षमा फैसला सुनाएको थियो।

अदालतको अन्तिम फैसलापछि पनि कम्पनीले अटेर गरी जग्गा भोगचलन गरिरहेको छ। शक्तिका आडमा अदालतको आदेशसमेत नमान्ने खड्काले उर्जामन्त्री कुलमान घिसिङलाई शून्य अंक दिएर नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरेका थिए । कुलमानलाई बर्खास्त गरेपछि खड्का जनताको तारो बनेका थिए । कुलमान मन्त्री बनेपछि अहिले खड्का बोल्नै नसक्ने अबस्थामा पुगेका छन् ।

खड्काले मनलाग्दी गरिरहेको सूचना पाएका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले स्काउटलाई जग्गा फिर्ता गर्न निर्देशन दिएका थिए । उनको निर्देशनपछि स्काउटले चेतावनीसहितको सूचना निकालेको छ ।