नेक्सालाई छैन शैक्षिक मेलाको अनुमति, फेयर रोक्न गृहमन्त्रालयलाई पत्राचार
काठमाडौं – नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा) आयोजना गरेको दक्षिण कोरिया अध्ययन सम्बन्धी शैक्षिक मेलाको अनुमति नलिएको पाइएको छ । शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट शैक्षिक मेला आयोजना गर्नका लागि अनिवार्य अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।
शैक्षिक परामर्श तथा भाषा शिक्षण निर्देशिक विपरित नेक्साले मेला गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख सेमन्त कोइरालाले आज हुने मेलाको अनुमति नलिएको बताए । ‘मेलाको अनुमति लिएको छैन । मैले गृहमन्त्रालयलाई मेला रोक्नका लागि पत्र पठाएको छु । अनुमति विनाको फेयर गर्न दिइन्न ।’
‘Nepal Educational Counseling Services Association (NECSA) संस्थाले मिति २०८२/०७/२२ गते (8th Nov 2025) मा काठमाडौं स्थित होटल Everest वानेश्वरमा कोरीयन विश्वविद्यालयहरुको समेत सँलग्नता गराई शैक्षिक मेला आयोजना गर्न लागेको छ । उक्त संस्थाले यस मन्त्रालयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम अनुमति समेत नलिएको र विदेशी शिक्षण संस्थाको सँलग्नता रहदा नेपाल सरकारलाई तिर्नु पर्ने प्रति संस्था अमेरिकी डलर १००० का दरले हुन आउने राजश्च समेत अपचलन भएको कारण नियम विपरित सञ्चालन हुन लागेको परामर्श सम्बन्धी कार्यलाई बन्दगरी नियमानुसार कारवाहीका लागि उक्त संस्थाले गर्न लागेको कार्यक्रमको विज्ञापन छायाप्रति यसै साथ सँलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’, गृहमन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ ।

नेपालमा आयोजना हुने शैक्षिक मेलाका लागि तोकिएको राजस्व तिरेर अनुमति लिनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई लत्याउँदै नेक्साले कोरिया अध्ययन सम्बन्धी शैक्षिक मेलाको आयोजना गरेको छ । शैक्षिक मेला आयोजना गर्दा सरकारलाई ५ हजार मेला स्वीकृत शूल्क, प्रतिस्टल नेपाली शैक्षिक संस्थाका लागि ५ हजार र विदेशी शैक्षिक संस्थाका लागि १ हजार अमेरिकी डलर बुझाउनु पर्छ ।
नेक्साले होटल एभरेष्टमा आयोजना गरेको १ दिने मेलामा ४० स्टल राख्ने जनाएको छ । ४० मध्ये ५ वटा विदेशी विश्वविद्यालयका स्टलहरु रहने छन् । अनुमति नलिएर नेक्साले १ लाख ८० हजार (अनुमति शुल्कसहित) नेपाली स्टल र ७ लाख ७ हजार विदेशी स्टल वापत गरेर जम्मा ७ लाख ८७ हजार बढी राजस्व छली गरेको छ ।
मेलामा नेपालमा विभिन्न शैक्षिक कन्सल्टेन्सीले स्टलहरु राखेका छन् भने कोरियाका Daewon University College, Yewon Arts University, Dong-Eui University र Namseoul University को स्टल रहने छन् । मेला बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
तर यता संघका प्रतिनिधिले भने फेयरको अनुमति लिएको दावि गरेका छन् । संघका सचिव केवि श्रेष्ठले आफूहरु राज्यको कानुन मानेरै काम गर्ने भएकाले त्यसमा शंका नगर्न अनुरोध गरेका छन् । ‘हामीले धेरै फेयर गरिसकेका छौं । सेमन्त सरलाई नै सोध्नु, अनुमति लिएर फेयर गर्ने गरेका छौं ।’, टेलिफोन संवादमा उनले भने, ‘यो पटक पनि ३५ स्टलको अनुमति लिएका छौं । जसमा तीन विदेशी विश्वविद्यालय छन् ।’
श्रेष्ठले फेयर इन्ट्रोडक्सन ट्रेड सोले आयोजना गरेकाले यसको सम्पूर्ण जानकारी इन्ट्रोडक्सनका सुमन महर्ननलाई जानकारी हुने बताए । सुमनले पनि अनुमति लिएको दावि गरे । उनले आफू लामो समयदेखि विभिन्न इभेन्ट गर्दै आएको बताउँदै यो पटकको इभेन्टको पनि अनुमति लिएको बताए ।
श्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीसँगको सम्बन्धका कारण नेक्साका केही प्रतिनिधिले अनुमति लिन नचाहेको पाइएको छ । ‘जेनजीले जलाएको उपत्यका प्रहरी कार्यालयको भवन रङ्रोगन गर्न १५ लाख सहयोग गरेकै कारण अनुमति नलिए पनि प्रहरीले नरोक्ने उनीहरुको विश्वास छ ।’, नाम उल्लेख नगर्ने सर्तमा नेपाल शैक्षिक परामर्श महासंघका एक पदाधिकारीले भने, ‘दानबहादुर कार्की र शिक्षा मन्त्रीलाई भेटेको फोटो देखाउँदै नेक्साका पदाधिकारीले बलमिच्याईं गरिरहेका छन् ।’ नेक्साको टोलीले केही दिनअघि शिक्षा मन्त्रीलाई भेटर आफ्ना मागपत्र बुझाएका थिए ।
बुझ्दै जाँदा इन्ट्रोडक्सन ट्रेड सोले लिएको अनुमतिलाई नेक्साको भन्दै कार्यक्रम गर्ने तयारी गरिएको छ । तर मन्त्रालयले जुन संस्थाले फेयर आयोजना गर्ने हो उसैले अनुमति लिनुपर्ने जनाएको छ । एउटाको नाममा अनुमति लिएर अर्काको नाममा कार्यक्रम गर्नुपनि अर्को अपराध भएको मन्त्रालयको दावि छ ।