जेनजी सरकारले नेपालबाट विदेशी अर्बों रुपैयाँ जोगायो
काठमाडौं— जेनजी सरकारले नेपालबाट विदेशी अर्बों रुपैयाँ जोगाएको छ ।
ड्राइभिङ लाइसेन्स छपाइको काम नेपालबाटै सुरु गरेर पासपोर्ट, हुलाक टिकट, बैंक नोट, स्मार्ट कार्डजस्ता संवेदनशील सामग्रीको छपाइ नेपालमै गर्न सकिने आधार तयार पारेको छ ।
कमिसनको चक्करमा रोकिएको यो काम सुशीला कार्की नेतृत्वको सरकारले विचौलियाको प्रेसरका बिच सुरु गरेसँगै छपाई शीर्षकमा विदेशी अर्बौं रकम जोगिने छ । सरकारले काभ्रेको सूचना प्रविधि पार्कबाट लाइसेन्स छाप्न सुरु गरेको छ ।
केन्द्र र यातायात व्यवस्थापन विभागबीच भएको सम्झौताअनुसार अबको ६ महिनामा १२ लाख सवारीचालक अनुमतिपत्र (क्यूआर कोडमा आधारित) त्यहाँ छापिने छन्। पनौती नगरपालिका–५ स्थित सूचना प्रविधि पार्कमा उक्त प्रेस राखिएको छ। सरकारले राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।
०७३ सालमा नेपाल सरकारले ‘सुरक्षित मुद्रण विकास समिति गठन आदेश’ जारी गर्दै प्रेस स्थापना र सञ्चालनको कानुनी आधार तयार गरेको थियो। सुरक्षण मुद्रण ऐन २०८१ असारमा र नियमावली ०८२ कात्तिक १० गते जारी भएको थियो। प्रेसमा भएको विद्युतीय ट्रान्सफर्मर खरिदसम्बन्धी भ्रष्टाचार प्रकरणका कारण सञ्चालनमा आउन सकेको थिएन। विदेशबाट उपकरण आयात भए पनि प्रेस सञ्चालनको पूर्वाधार र व्यवस्थापनमा समस्या देखिएको थियो।