सिआइबीले एमाले अध्यक्ष केपि शर्मा ओली जोडिएको भ्रष्टाचारको फायल खोल्यो

शनिबार, २२ कार्तिक २०८२

काठमाडौं— सिआइबीले एमाले अध्यक्ष केपि शर्मा ओली जोडिएको भ्रष्टाचारको फायल खोलेको छ ।

सिआईबीले नेपाल ट्रष्टको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ कम्पनीलाई लिजमा दिई अनियमितता गरेको सम्बन्धी फायल खोलेको हो ।

अनियमितताको आरोपमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । यति ग्रुपलाई ओलीको निर्देशनमा ट्रस्टको विभिन्न ठाउँमा रहेको जग्गा निकै सस्तोमा भाडामा लगाएर करोडौं कमिसन लिएको आरोप छ ।

सिआइबीका अनुसार कार्कीले लिज सम्झौतामा तोकिएको क्षेत्रफलभन्दा एक कित्ता बढी जग्गा निजी कम्पनीलाई उपलब्ध गराएका थिए। उक्त जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ कम्पनी ले लिजमा लिएर सञ्चालन गर्दै आएको छ। यसै प्रकरणमा कार्कीमाथि सरकारी सम्पत्तिको दुरुपयोग र ठगी गरेको आरोप लगाइएको छ।

सिआइबीका अनुसन्धान अधिकृतका अनुसार, नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिज दिने क्रममा कानुनी प्रक्रिया उल्लङ्घन भएको प्रारम्भिक प्रमाण फेला परेका छन्। घटनामा थप संलग्न व्यक्तिहरूको पहिचान र लिज सम्झौतासम्बन्धी सम्पूर्ण विवरण संकलन भइरहेको छ।

नेपाल ट्रष्ट अन्तर्गतका सम्पत्तिहरू राज्यको स्वामित्वमा रहेकाले, त्यसको लिज, बिक्री वा हस्तान्तरणका सबै निर्णयहरू पारदर्शी र कानुनी सीमाभित्र हुनुपर्ने कानुनको व्यवस्था छ। तर, दरबार मलको लिजमा यती समूहलाई बढी क्षेत्रफल उपलब्ध गराइएको आरोपपछि सिआइबीले यो घटनालाई ‘संवेदनशील सरकारी सम्पत्ति दुरुपयोगको नमुना केस’ को रूपमा लिएको जनाएको छ।

सिआइबीले अब लिज सम्झौतामा संलग्न अन्य व्यक्तिहरूलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। यससँगै, नेपाल ट्रष्टको अन्य जग्गा लिजसम्बन्धी सम्झौताहरू पनि पुनरावलोकन गर्ने तयारी भएको स्रोतले जनाएको छ।