१८ सय रोपनी जग्गा फिर्ता ल्याउन काठमाडौंका मेयर बालेन शाहले अभियान थाले

शनिबार, २२ कार्तिक २०८२

काठमाडौं—१८ सय रोपनी जग्गा फिर्ता ल्याउन काठमाडौंका मेयर बालेन शाहले अभियान थालेका छन् ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आइतबार धोबीखोलाबाट एक्सन सुरू गर्ने तयारी भएको बताएका छन् ।

नदी किनाराका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको क्षेत्रलाई तार्गेट गरिएको छ । मेयरको सचिवालयले यसपालिको एक्सन नेताहरुको पहुँचवालाको कब्जामा रहेको सार्वजनिक जग्गा खाली गर्नमा केन्द्रित हुने जनाएको छ ।

महानगरको यस्तो तयारीले नदी किनाराका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग फेरि द्वन्द्व बढ्ने आशंकाबीच मेयरको सचिवालयले यसपालिको एक्सन पहुँचवालाको कब्जामा रहेको सार्वजनिक जग्गा खाली गर्नमा केन्द्रित रहने बताएको हो।

विगतको सरकारद्वारा गठित रामबहादुर रावलको आयोगले काठमाडौं महानगरभित्र १८५९ रोपनी १४ आना जग्गा अतिक्रमणमा परेको ठहर गरेकाले त्यसलाई खाली गर्न लागेको सचिवालयको भनाइ छ।

मेयर बालेनले आफू नेतृत्वमा आएपछि करिब २३ अर्ब रूपैयाँ मूल्य बराबरका २०८ रोपनीभन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमणमुक्त गरिसकेको यसअघि नै बताएका थिए।

त्यसैलाई निरन्तरता दिँदै अब दुई खर्ब मूल्य बराबरको अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने लक्ष्य रहेको मेयर बालेनको सचिवालयले बताएको छ।

फिर्ता ल्याइएका अतिक्रमित जग्गा पुनः कब्जामा पर्न नदिन त्यहाँ खुला पार्क, खेलकुद मैदान, स्केट बोर्ड पार्क, सत्तल, हरित क्षेत्र निर्माण गरी सार्वजनिक स्थलका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ, सचिवालयले भनेको छ।