शनिबार होटल एभरेष्टमा सम्पन्न फेयर नेक्साको थिएन, भ्रममा नपरौं

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं – शनिबार बिहान नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)को अवैध शैक्षिक मेला हुँदैछ भन्ने चर्चाले सुरक्षा संयन्त्रमा हलचल मच्चियो । नेक्साले दक्षिण कोरिया अध्ययन सम्बन्धी शैक्षिक मेलाको अनुमति नलिएको भन्दै शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले गृहमन्त्रालयलाई पत्राचार गरेपछि प्रहरीले सतकर्ता अपनाएको थियो ।

विहान ९ बजे होटल एभरेष्ट पुगेको नेक्साको टोली अलमलमा पर्यो । मोटिभेट न्यूजले समाचार लेखपछि झनै मेलामा स्टल राखेका व्यवसायीमा अन्यौलत छायो । विहान सकेजति पावर लगाएर फेयर गर्ने मुडमा नेक्साका पदाधिकारी देखिए । केही शिक्षा मन्त्रीलाई, केही प्रहरी प्रमुखलाई, केहीले शाखा प्रमुख सेमन्त कोइरालालाई टेलिफोनमार्फत सम्झाउन खोजे, आफ्नो पक्षमा माहोल बनाउन लागे । शिक्षा मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले त्यही दिन, त्यही मितिमा इन्ट्रोडक्सन ट्रेड सो नेपालले अनुमति लिएको पाइएपछि शिक्षा मन्त्रालय हच्कियो ।

प्रिन्ट सामाग्री सबै अवलोकनसहित झण्डै साढे १० बजेतिर शाखा प्रमुख कोइरालाले डिजाइन परिवर्तन गरेर इन्ट्रोडक्सन ट्रेड सो नाममा कार्यक्रम गर्न अनुरोध गरे । प्रहरीलाई पनि नेक्साको कार्यक्रम नभएर इन्ट्रोडक्सन ट्रेड सोको कार्यक्रम भएको ब्रिफिङ गरियो । होटल एभरेष्टको अवस्था सामान्य बन्यो ।

शाखाले शुक्रबार बेलुका गृहमन्त्रालयलाई पत्र लेख्दै उक्त फेयर रोक्न निर्देशन दिएको थियो । ‘Nepal Educational Counseling Services Association (NECSA) संस्थाले मिति २०८२/०७/२२ गते (8th Nov 2025) मा काठमाडौं स्थित होटल Everest वानेश्वरमा कोरीयन विश्वविद्यालयहरुको समेत सँलग्नता गराई शैक्षिक मेला आयोजना गर्न लागेको छ । उक्त संस्थाले यस मन्त्रालयबाट शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ बमोजिम अनुमति समेत नलिएको र विदेशी शिक्षण संस्थाको सँलग्नता रहदा नेपाल सरकारलाई तिर्नु पर्ने प्रति संस्था अमेरिकी डलर १००० का दरले हुन आउने राजश्चसमेत अपचलन भएको कारण नियम विपरित सञ्चालन हुन लागेको परामर्श सम्बन्धी कार्यलाई बन्दगरी नियमानुसार कारवाहीका लागि उक्त संस्थाले गर्न लागेको कार्यक्रमको विज्ञापन छायाप्रति यसै साथ सँलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’,  गृहमन्त्रालयलाई लेखिएको पत्रमा भनिएको छ ।

यही पत्रका आधारमा प्रहरीले सोधिखोजी गरेको थियो । प्रहरीको सोधिखोजी पछि इन्ट्रोडक्सनले आफ्नो नाममा अनुमति लिएको भन्दै पत्र देखाएपछि प्रहरी पछि हटेको थियो । इन्ट्रोडक्सनले दुई विश्वविद्यालयसहित १० वटा स्टलको राजश्व बुझाएर अनुमति लिएको थियो । सो अनुमति देखेपछि शाखा प्रमुख कोइरालाले पनि इन्ट्रोडक्सनको नाममै फेयर गर्न र प्रतिवेदनमा सोही अनुसार उल्लेख गर्न अनुरोध गरेका थिए ।

औपचारिक कार्यक्रममा बदमासी

नेक्साको कार्यक्रम होइन भनेर मेला सुरु भएको केही बेरमा फेरि आयोजकका रुपमा नेक्सा प्रकट भयो । ‘नेक्साद्वारा आयोजित फस्ट कोरिया एजुकेशन फेयर….’ प्रस्तोताले औपचारिक कार्यक्रमको सुरुवात गरिन् । कोरियाबाट आएका विश्वविद्यालयका प्रतिनिधिले पनि नेक्सालाई धन्यवाद दिए । नेक्साले नै कार्यक्रम आयोजना गरेको भनेर सम्बोधन पनि गरे । पहिला बनाइएकै फ्लेक्स प्रयोगमा आए । मन्त्रालयलाई उल्लु बनाइयो । पङ्गु बनाइयो ।

राज्यलाई पुरै गुमराहमा राखेर मेलाको आयोजना भयो । ‘नेक्साले फेयर आयोजना गरेको हो भने नेक्साले नै फेयरको अनुमति लिनुपथ्र्यो । होइन भने यो कार्यक्रम नेक्साको होइन ।’, फेयरमा सहभागी एक व्यवसायीले भने, ‘इन्ट्रोडक्सन ट्रेड सो नेपालका नाममा फेयर आयोजना गर्ने अनि संस्थाको भनेर भ्रम छर्न पाइदैन । यो संघका सदस्यले बुझ्नुपर्छ ।’ यो मेला ‘मन्त्रालयमा, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा, काठमाडौं महानगरपालिकामा इन्ट्रोडक्सनको नाममा छ । मन्त्रालयमा बुझाउने प्रतिवेदनमा पनि इन्ट्रोडक्सनकै नाम हुनेछ ।

‘सबै इट्रोडक्सनको नाममा, खैत हाम्रो संस्थाको नाम, खै हाम्रो ब्राण्डिङ, संस्थालाई ब्राण्डिङ गर्न हामीले लाखौं खर्च गरेका छौं । संस्थाको फेयर भन्ने अनि नाम, ब्राण्ड अर्काको बन्ने यो राम्रो भएन ।’, फेयरमा सहभागी अर्का एक सदस्यले भने, ‘यो अपरिपक्कता भयो । केटाकेटी पन भयो । अब ‘कोरिया एजुकेशन फेयर’ नामको ब्राण्ड इन्ट्रोडक्सनको नाममा बन्यो । अब अर्को चोटी हामीले यही नाममा फेयर गर्न पाउने कि नपाउने । इन्ट्रोडक्सनले मुद्धा हाल्यो भने के हुन्छ ?’

लाखौं करछली

शनिबार आयोजित मेला यदी नेक्साको हो भने ७ लाख ४६ हजार २ सय ४० रुपैयाँ करछली भएको छ । मेलामा चार विश्वविद्यालयले सिधै स्टल राखेका थिए भने ३५ शैक्षिक कन्सल्टेन्सीका स्टल थिए । ३५ मध्ये केही दर्ता नभएका शैक्षिक कन्सल्टेन्सीका स्टल पनि थिए, जुन गैरकानुनी थिए । अनुमतिपत्र विपरितका थिए । शैक्षिक मेला अनुमतिका लागि ५ हजार राजस्व बुझाउनुपर्छ । नेपाली व्यवसायीले राखेको स्टलमा ५ हजार प्रतिस्टल र विदेशी शैक्षिक संस्थाको स्टलबापत १ हजार अमेरिकी डलर राजस्व बुझाउनु पर्छ । अमेरिकी डलर १ सयको खरिददर १४१ रुपैयाँ ५६ पैसाले (आइतबारका लागि राष्ट्र बैंकले तोकेको) गणना गर्दा ४ हजार अमेरिकी डलरको ५ लाख ६६ हजार २ सय ४० रुपैयाँ हुन्छ । त्यसमा ३५ स्टलको १ लाख ७५ हजार र अनुमति शुल्क ५ हजार जोड्दा ७ लाख ४७ हजार २ सय ४० रुपैयाँ राजस्व छली भएको छ ।

आयोजक नेक्सा होइन भने इन्ट्रोडक्सनले ४ लाख १९ हजार २ सय ४० रुपैयाँ बुझाउनु पर्छ । किन भने इन्ट्रोडक्सनले थोरै स्टल हुने, विदेशीको दुईटा मात्र स्टल हुने भन्दै अनुमति लिएको थियो । अनुमति पत्रमा ‘निवेदनमा तोकिएको भन्दा संस्था थप भएमा राजस्व बुझाएको सक्कल भौचरसहित प्रतिवेदन बुझाउनु पर्ने’ सर्त राखेको छ । यो कार्यक्रम नेक्साको हो भने ७ लाख ४७ हजार २ सय ४० र इन्ट्रोडक्सनको भएमा ४ लाख १९ हजार २ सय ४० रुपैयाँ राजस्व छली भएको छ । प्रतिवेदन बुझाउन जाँदा यो रकम तिरेरमात्र जानुपर्छ ।

मेलाको आयोजक नेक्सा वा इन्ट्रोडक्सनले कसैलाई पनि बिल दिएको छैन । मेलाका स्पन्सर र स्टल राखेबापत पाउनुपर्ने बिल नपाएको भन्दै व्यवसायीले करछलीको आशंका गरेका छन् । झण्डै ६० लाखको कारोबार भएको फेयरमा १३ प्रतिशत भ्याटछली भएको छ भने नाफाको निश्चित प्रतिशत राज्यले आयाकर गुमाएको छ । कार्यक्रम समापन भएको ७ दिनभित्र मन्त्रालय अन्तरगतको शाखामा प्रतिवेदन बुझाउनुपर्ने कानुनी प्रावधान छ । प्रतिवेदनमा समेटिएका विषयले कति करछली भयो र राज्यलाई कति ठगियो भन्ने कुरा प्रष्ट हुने छ ।

अध्यक्षको बदमासी

नेक्साको अध्यक्ष हुने सिल्भर एजुकेशन फाउण्डेशनका संचालक सन्तोष खनाल । उनी र उनको संस्थाले विद्यार्थी ठगेको सम्बन्धी मोटिभेट न्यूजले दर्जन बढी समाचार लखेको छ । यो संस्था पनि उनको ठगी धन्दैबाट सुरु भएको थियो । कोरियाको एनओसी रोकिएपछि एनओसी खोल्ने बहानामा रकम उठाएर पचाएपछि हिसाव देखाउन नसक्दा खुलेको थियो नेक्सा । कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरेर संचालनमा ल्याएको नेक्सा भ्रमको खेतिबाट सुरु भएको थियो ।

अर्को विद्यार्थी (ग्रेस इन्टरनेशनबाट एप्लाई गरेका)ले अदालतमा रिट हालेर अन्तरिम आदेश ल्याएका थिए । स्वार्थी सन्तोषले पैसा सबैबाट उठाउने र ८ जना आफ्ना विद्यार्थी नाममा मात्र एनओसी दिलाउन अन्तरिम आदेश माग गरेपछि ति विद्यार्थी एक्लै सर्वोच्च अदालत गएका थिए । अर्कै विद्यार्थीले गरेको कामलाई आफूले गरेको भनेर हल्ला गर्दै केही कन्सल्टेन्सीलाई प्रभावमा पारेर उनले संस्थालाई औपचारिकता दिएका थिए । यो फेयरमा पनि उनले आफ्नो चरित्रलाई लुकाउन सकेनन् । जुन बुँदागत रुपमा व्यवसायीले यस्तो आरोप लगाएका छन् ।

१) कुनै पनि सामाजिक संस्था नेपालको कानुनभन्दा माथि हुन सक्दैनन् । नेक्सा पनि कानुनभन्दा माथि छैन । यो संस्थाले गर्ने हरेक गतिविघि कानुनसम्मत हुनुपर्छ । सन्तोषले यो संस्थालाई आफ्नो व्यक्तिगत कम्पनी जसरी चलाएका छन् । फेयरमा व्यवस्थापकको रुपमा इन्ट्रोडक्सनलाई कुन विधिबाट जिम्मा लगाइयो ? सामान्यतया संस्थाले केही आर्थिक काम गर्नुपर्यो भने सार्वजनिक बोलपत्र आह्वान गर्नुपर्छ । नेक्साले यो केही पनि गरेका छैन । व्यक्तिगत चिनजानका आधारमा सुमन महजर्नको इन्ट्रोडक्सन ट्रेड सो नेपाल नामक कम्पनीलाई फेयर ब्यवस्थापनको जिम्मा लगाएका छन् । फेयरको व्यवस्थापन गरेबापत सुमनलाई ३० लाख रकम दिने निर्णय भएको बुझिएको छ ।

२) उनको संस्था सिल्भर एजुकेशन फाउण्डेशन इनएशोसियसनको रुपमा दुई स्टलसहित फेयरमा सहभागी भएको थियो । फेयरमा सहभागी भएबापत सिल्भरले २ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको श्रोतले जनाएको छ । सिल्भर एजुकेशनसँग सिल्भर ट्राभल्स पनि शैक्षिक मेलामा ट्राभल्स पार्टनरका रुपमा सहभागी थियो । सुरुमा ३ लाख दिने सहमति भएको भएपनि अन्तिममा ५० हजार मात्र दिने भन्दै पन्छिएका थिए । ‘सुरुमा ३ लाख रुपैयाँ दिने भन्दै व्यापाक प्रमोशन गरियो । अन्तिममा फेयरको अघिल्लो दिनमा आएर ५० हजार मात्र दिनसक्छु भन्नुभयो ।’, विश्वस्त श्रोतले भन्यो, ‘नसक्ने भए १ लाखसम्म गरिदिनुहोस् न भन्दा उहाँले आफ्नो लोगो सबै ठाउँबाट निकाल्न धन्दै धम्की दिनुभयो । उहाँ त सामुहिक काम गर्ने खालको मान्छे हुनुहुँदो रहेनछ । आफू अध्यक्ष भएको संस्थाको लागि त उहाँले यस्तो गर्नुहुन्छ । अरु के गर्नुहुन्छ होला । मलाई त दिक्क लागिसक्यो ।’

३) यो मेलाको प्रचार प्रचारका लागि तयार पारिएको डिजाइन पनि उहाँले आफ्नो अफिसको कर्मचारीमार्फत गर्न लगाउनु भएको छ । जसले अपारदर्शीमात्र होइन बदमासी भएको छ । ‘उहाँले आफ्नो ब्राण्डलाई हाइलाइट गर्न, आफूले भनेको जस्तो डिजाइन गर्न आफ्नो स्टाफलाई डिजाइनको जिम्मा लगाउनु भएको रहेछ । त्यो नेक्साको फेसवुक पेजमा आएका डिजाइनबाट प्रष्ट हुन्छ । इनएशोसियसनमै रहेका खुशी इन्टरनेशनल कुनै पनि गतिविधिमा देखिएन । सिल्भर किन यसरी ब्राण्डिङ भयो ?’, एक अर्का पदाधिकारीले भने, ‘टाइटल स्पन्सरले ५ लाख खर्च गरेको छ । तर उसको नाम निशान छैन । पहिला लोगोको माथि टाइटल स्पन्सर राख्ने कुरो भएको थियो । त्यही अनुसारको लोगो पनि बनेको थियो । पछि के कारणले हट्यो, हामी कसैलाई थाह छैन । टाइटल स्पन्सर पनि अरु लोगो जसरी बस्यो, जुन अपेक्षा अनुसारको माइलेज आएन । निकै ठूलो अपराध भएको छ ।’

४) टाइटल स्पन्सर, इनएशोसियसन, मेन स्पन्सर, स्पन्सर र बिभिन्न पार्टनरसँग लिएको रकमको कुनै बिल दिइएको छैन । झण्डै ६० लाखको कारोबार हुँदा कुन कम्पनीबाट कति रकम लिएको हो भन्ने प्रमाण अहिलसम्म दिइएको छैन । ‘हामीले सोचेका थियौं । नेक्साको बिल आउँछ । त्यही बिल आएपछि भुक्तानी गर्नुपर्ने होला । तर पैसा उठाउन मात्र आए, लिएर गए बिल दिएका छैनन् ।’, नाम उल्लेख नगर्ने सर्तमा व्यवसायीले भने, ‘बिल नआउँदा त अध्यक्षले कुन संस्थाबाट कति पैसा उठायो, कहाँ खर्च गर्यो ? हिसाव किताव गोलमाल हुने भयो । उहाँले फेयरबाट लाखौं रकम हिनामिना गरेको आशंका छ । बिल नकाटेर यो संस्थाले लाखौं करछली गरेको व्यवसायीको आरोप छ ।

५) आफै कार्यक्रमको अध्यक्ष र आफै प्रमुख अतिथि भएपछि व्यवसायी रुष्ट भएका छन् । ‘बाहिर कार्यक्रम गर्ने हो भने एउटा उच्च तहको व्यक्तित्वलाई बोलाएर प्रमुख अतिथि बनाउनु पथ्र्यो । नेपालमा सन्तोष भन्दा ठूलो मान्छे कोही छैन जस्तो भयो । कार्यक्रम एकदमै खल्लो भयो ।’, एक अर्का साधारण व्यवसायीले भने, ‘उहाँमा मपाइत्व छ । त्यो पनि परिपक्क भएर मपाइत्व गरेको भए हुने हामीलाई त लाज लाग्यो । सहकर्मी संस्था, छाता संस्थाका प्रतिनिधिलाई पनि बोलाइएन । खै किन हो ? हामीलाई अच्चम लागेको छ ।’

राजीनामा माग्ने तयारी

फेयर गर्दा बदमासी गरेको भन्दै नेक्साकै एक खेमाले राजीनामा माग्ने तयारी गरेको छ । सामाजिक संस्थालाई व्यक्तिगत कम्पनी जसरी चलाउन नपाईने भन्दै पाइला–पाइलाको हिसाव खोजेर राजीनामा मान्ने एक कार्यसमिति सदस्यले बताएका छन् । ‘किन उहाँले नेक्साको नाममा अनुमति लिनुभएन, सुमनको कम्पनीलाई किन म्यानेजमेन्टको जिम्मा दिनुभयो, डिजाइन निश्पक्ष किन भएन, उहाँले कबोल गरेको रकम किन दिनुभएन ।’, उनले भने, ‘यो संस्था व्यक्तिगत हो भने व्यक्ति एक्लैले चलाए भो त, किन हामीलाई पनि सदस्य बनाउनु, किन हाम्रो सहयोग लिन आउनु ।’

फेयरमा भएको अनियमितताबारे छानविन गर्न माग गर्दै सन्तोषको राजीनामा मागिने उनको भनाई छ । ‘सुरुमा हामी राजीनामा माग्छौं । राजीनामा आएन भने विधान अनुसार बर्खास्त गर्नुको हामीसँग विकल्प हुँदैन ।’, उनले भने, ‘काम गर्ने व्यक्तिहरु अरु हुने अन्तिममा आफू टुप्लुक्क आएर सान देखाउने कुराले हामी दिक्क भैसक्यौं ।’

फेयरमा ५ हजार बढी विद्यार्थीको सहभागी भएको जनाइएको छ । ५ हजार सहभागी भएको प्रचार गरेपनि सबै आ–आफ्नै कन्सल्टेन्सीका विद्यार्थी र स्टाफहरु सहभागी रहेको नेक्साकै पदाधिकारीले बताएका छन् ।

(नोट : फेयरको बारेमा बुझ्न खोज्दा अध्यक्ष सन्तोषसँग सम्पर्क भएन । उनलाई हामीले इमेलमार्फत उनीमाथि लागेका आरोपबारे सोधेका छौं । उनको जवाफ आएपछि समेट्ने छौं ।)