रास्वपाले पहिलो पटक जेनजीका लागि सिट छुट्यायो

आइतबार, २३ कार्तिक २०८२

काठमाडौं— रास्वपाले पहिलो पटक जेनजीका लागि सिट छुट्याएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवालाई २७ प्रतिशत सिट सुरक्षित गरेको हो ।

समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आवेदन आह्वान गर्दै रास्वपाले विदेशबाट फर्किएका नेपालीका लागि १० प्रतिशत आरक्षणको सुविधा दिएको छ । रास्वपाले उम्मेदवार बन्न विभिन्न मापदण्ड तोकेको छ ।

उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्र वैध रहेको, वैवाहिक अवस्था स्पष्ट रहेको, र सार्वजनिक रूपमा (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार, धम्की, जात–लिंग आधारित अपमान वा कमजोर समूहमाथि शोषण नगरेको स्वघोषणा अनिवार्य गर्नुपर्नेछ।

छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष होस् भन्ने उद्देश्यले रास्वपाले अडिट समिति गठन गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार, समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्दा संविधानले तोकेको जातीय क्लस्टरका साथै प्रदेशगत जनसांख्यिक अनुपात र २०७९ को आम निर्वाचनमा प्राप्त समानुपातिक मतको प्रादेशिक अनुपातलाई पनि समेटिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक बन्दसूचीमा जेनजी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै २५ देखि ४० वर्ष उमेर समूहका युवाका लागि २७ प्रतिशत सिट आरक्षित गरिएको जानकारी दिए। यस्तै, विदेशमा रहेर फर्किएका नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए।

यस पटक पार्टीले २०७९ सालमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकाहरूलाई पुनः त्यही प्रणालीतर्फ उम्मेदवार बन्न नपाउने व्यवस्था समेत गरेको छ।