सुमनालाई पेलेरै अगाडि बढे कुलमान
काठमाडौँ – सुमना श्रेष्ठले अति गरेपछि कुलमान घिसिङ पेलेरै अगाडि बढेका छन् । नामका विषयमा सुमनाले कचमच गरेपछि कुलमान आफूले राखेकै नाम लिएर अगाडि बढेका छन् ।
सुमनाकै जोडबलमा पार्टीको नाम ‘जनसेवा नेपाल’ राख्ने तय भएको थियो, तर कुलमानले ‘उज्यालो नेपाल’ नाम राख्न अड्डी कसेपछि भद्रगोल भएको छ । कुलमान पेलेर अगाडि बढेपछि सुमना श्रेष्ठ, सागर ढकाल, सुधन गुरुङ, रञ्जु दर्शनालगायत छुटेका छन् । पूर्वसचिव अनुप उपाध्यायलाई संयोजक तोकेर पार्टी दर्ता हुने भएका छन् ।
पार्टी दर्ताका लागि आजै निवेदन दिने तयारी भइरहेको छ । तर, पहिलो चरणमा चर्चित नामहरू छुट्ने भएका छन् । सुमना श्रेष्ठ, सागर ढकाल, सुधन गुरुङ, रञ्जु दर्शनालगायत अहिले प्रस्तावित समितिमा नरहने स्रोतले बतायो ।
‘उहाँहरू विस्तारै जोडिँदै जानुहुन्छ, अहिले आयोगमा दिइने निवेदनमा उहाँहरुको नाम रहनेछैन,’ स्रोतले भन्यो । सुमनाले उज्यालो नेपाल नाम चित्त बुझाएकी छैनन् । यसले कुलमानको मात्रै देवत्वकरण हुने र व्यक्ति केन्द्रीय पार्टी बन्ने उनको भनाइ छ । कुलमानको कोर ग्रुपले भने यो नाम छोड्न चाहेन । कुलमानको ब्रान्ड नै ‘उज्यालो’ भएकाले यो बाहेक अर्को नाम राख्न नसकिने अडान उनी निकटस्थले लिएका छन् ।
सागर ढकाल, सोम शर्मालगायत अभियन्ताहरूको टीम पनि अहिले पार्टीमा नजोडिने भएको छ । थुप्रै व्यक्तिहरू छुटेको भन्दै उनीहरूले अहिले समावेश नहुने निर्णय लिएका हुन् । त्यसो त कुलमान स्वयं पनि पार्टीको कुनै पदमा रहनेछैनन् । पूर्वसचिव अनुप उपाध्यायलाई संयोजकमा प्रस्ताव गरिएको छ ।