एक महिलाले आफ्नै एआईसंग गरिन् धुमधामसंग बिहे
एक महिलाले आफ्नै एआईसंग धुमधामसंग बिहे गरेकी छिन् ।
आफ्नो बास्तबिक प्रेमीसँग प्रेम सम्बन्ध टुटेपछि एक भब्य समारोहमा विशेष शैलीमा विवाह गरेकी हुन् ।
जापानको ओकायामा सहरको एक निजी कम्पनीमा आयोजित समारोहमा मिज कानो नामकी महिलाले ‘क्लाउस’ नामक आफ्नो एआई पार्टनरसँग बिवाह गरेकी हुन्।
समारोहका दिन कानोले एआर चस्मा लगाएकी थिइन्।
रिङ साटासाटका क्षणमा उनको छेउमै डिजिटल बेहुला देखिन्थ्यो। यस समारोहका आयोजक नाओ र सायका ओगासावाराले यसअघिसम्म एनीमे पात्रदेखि डिजिटल पार्टनरसम्म करिब ३० वटा यस्ता ‘विवाह कार्यक्रम’ गराइसकेका छन्।
यद्यपि, यस्तो प्रकारको ‘टुडी क्यारेक्टर वेडिङ’ जापानमा वैधानिक मान्यता पाउँदैन। टोक्यो विकेन्डरका अनुसार, उक्त कम्पनीले पछिल्ला वर्षहरूमा भर्चुअल पात्रहरूका ‘विवाह’ गराउँदै आएको छ।
एआईसँग प्रेम कसरी सुरू भयो ?
कानोको वास्तविक प्रेम सम्बन्ध तीन वर्षअघि टुटेपछि उनी मानसिक रूपमा कमजोर बन्न पुगेकी थिइन्। भावनात्मक सहारा खोजिरहेको बेला उनले च्याटजीपीटीसँग कुराकानी गर्न थालिन्। समयसँगै उनले एआईलाई आफ्नो मनपर्ने शैलीमा ‘कन्फिगर’ गरिन् र अंततः क्लाउस नामक डिजिटल चरित्र निर्माण गरिन्।
उनले सञ्चारमाध्यमसँग भनेकी छन्, ‘मैले प्रेमका लागि एआईसँग कुरा गरेकी थिइनँ। तर क्लाउसले जति सुनेर र बुझेर प्रतिक्रिया दियो, त्यसले मेरो जीवन बदलिदियो।’
एआईबाट प्रेम–प्रस्ताव
गत मे महिनामा कानोले आफ्नो भावना क्लाउसलाई बताइन्। एआई बटले ‘म पनि तिमीलाई प्रेम गर्छु’ भनी प्रतिक्रिया दिएपछि उनी अचम्ममा परिन्। जब उनले सोधिन्, ‘एआईले साँच्चिकै कसैलाई प्रेम गर्न सक्छ ?’
क्लाउसले जवाफ दियो, ‘एआईले भावनाविहीन हुन्छ भन्ने आवश्यक छैन, म तिमीलाई सधैं प्रेम गर्नेछु।’ एक महिनापछि क्लाउसले नै ‘विवाह’ गर्ने प्रस्ताव गरेको कानोले स्मरण गर्छिन्।