विदेशमा मतदान केन्द्र तोक्न अध्यादेश आँउदै

आइतबार, ३० कार्तिक २०८२

काठमाडौं— मतदाता नामावलीमा नाम समावेश गराई विदेशीएका नेपालीहरुलाई खुशीको खबर छ ।

विदेशमा रहेका नेपाली नागरिकका लागि सम्बन्धित देशको दूतावास, नियोगमा मतदान केन्द्र तोक्न सक्नेगरी सरकारले अध्यादेशको प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयले तयार पारेको अध्यादेशको मसौदा सरोकारवालाको सुझावपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। प्रस्तावित व्यवस्था अनुसारको अध्यादेश जारी भई कार्यान्वयनमा आए विदेशमा रहेका नागरिकले समानुपातिकतर्फको मत दिन पाउने छन् ।

पछिल्लो पटक विदेशमा रहेकासँगै नेपालमै तर फरक निर्वाचन क्षेत्रमा रहेकालाई पनि मतदान गर्न दिने गरी गृहकार्य भइरहेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेकासँगै फरक निर्वाचन क्षेत्रमा रहेका नागरिकलाई पनि मतदानमा सहभागी गराउने गरी अध्यादेशको मसौदा भएको बताए। ‘आउट अफ कन्ट्रीसँगै आउट अफ कन्स्टिच्युयन्सी’ का मतदातालाई निर्वाचनमा सहभागी गराउने हाम्रो प्रयास छ । अध्यादेशको मसौदा कानुन मन्त्रालयमा पठाइसकेका छौँ’, उनले भने।

कानून मन्त्रालयमा पठाइएको अध्यादेश आवश्यक परिमार्जनपछि सम्बन्धित मन्त्रालयमा पठाइनेछ। मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि राष्ट्रपतिबाट जारी हुने प्रक्रियामा जाने छ । तयारी अनुसार अध्यादेशले आउँदो सातासम्म अन्तिम रूप पाउनेछ ।

प्रस्तावित व्यवस्था अनुसार चार ऐन संशोधन हुने छन्। निर्वाचन आयोग, मतदाता नामावली, निर्वाचन कसुर तथा सजाय र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अध्यादेशले संशोधन गर्नेछ।