रास्वपाको सानदार जित

सोमबार, ८ मंसिर २०८२

काठमाडौं—एमालेको गड भत्काउँदै रवि लामिछानेको रास्वपाले सानदार जित निकालेको छ ।

बाराको सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा रास्वपाका क्षेत्रीय सभापति युवराज न्यौपाने प्यानलसहित निर्वाचित भएका हुन् ।

पाँच हजार बढी मतदाता रहेको सिमरा खानेपानीमा एमाले कांग्रेसका चार प्रतिस्पर्धीलाई हराउँदै न्यौपाने १ हजार १ सय १६ मतसहित विजयी भएका थिए ।

रास्वपाको बारा–४ का क्षेत्रीय सभापति रहेका न्यौपानेसहित पाँच अलग–अलग समुह प्यानल बनाएर प्रतिष्पर्धामा थिए । पाँच हजार बढी उपभोक्ता मतदाता रहेको सिमरा खानेपानीमा शनिबार भएको निर्वाचनमा ३ हजार ३ सय २० मत खसेको थियो ।

अध्यक्षमा निर्वाचित न्यौपानेले १ हजार १ सय १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी प्रकाशबहादुर क्षेत्रीले ९ सय ७ मत प्राप्त गरे ।

अध्यक्ष पदका अर्का उम्मेदवार पूर्णचन्द्र तिमल्सिनाले ५ सय ९१ मत प्राप्त गरे । अध्यक्ष पदका उम्मेदवार शशि गौतमले २ सय ३३ र राजकुमार भट्टराईले २ सय १५ मत प्राप्त गरे ।

११ सदस्यीय कार्यसमिति चयनका लागि शनिबार भएको मतदानको गणना सोमबार बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिए ।