सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पद धरापमा

सोमबार, ८ मंसिर २०८२

काठमाडौं— जेनजी सहिदको कोटाबाट श्रीमती र सालीलाई नियुक्त गरेपछि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पद धरापमा परेको छ ।

श्रेष्ठले राज्यकोषबाट सहसचिव स्तरको सुविधा लिने गरी श्रीमती संगीता र सालीलाई प्रधानमन्त्रीको स्वकीय सचिवमा नियुक्त गरेका छन् । नातावाद, कृपावादविरुद्ध भदौ २३ र २४ गते जेनजी विद्रोह भएको थियो ।

विद्रोहबाट बनेको सरकार पनि पुरानै कर्ममा फर्किएपछि जेनजी अभियान्ताले श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् ।

सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए।

प्रधानमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणपछि पदबहाली गरेलगत्तै श्रेष्ठलाई स्वकीय सचिव बनाएकी हुन्। त्यसपछि उनी सर्वोच्च अदालतको जिम्मेवारीबाट अलग भएका छन्।

श्रेष्ठले स्वकीय सचिव नियुक्त भएपछि आफ्नी श्रीमती संगीतालाई पनि असोज २ गते सहसचिव स्तरको स्वकीयका रूपमा नियुक्त गरेका थिए।

उनले श्रीमतीसहित अरू नातेदारलाई पनि सचिवालयमा राखेको आरोप छ। तर श्रीमतीबाहेक अरूलाई नियुक्त गरेको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रधानमन्त्रीको स्वकीय सचिवालयमा १४ जना कार्यरत छन्। तिनमा चार जना शाखा अधिकृत, पाँच जना प्रशासन सहायक, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगी छन्।

प्रधानमन्त्रीको निजी सचिवालयमा नियुक्त भएपछि विवादमा तानिएका आदर्श सिन्धुलीका हुन्।

आदर्श एक दशकभन्दा लामो समयदेखि सर्वोच्च अदालतमा कार्यरत थिए। सर्वोच्चमा उनको प्रवेश आइटी महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदबाट भएको थियो। उनी करारमा नियुक्त भएका कर्मचारी हुन्।

आइटीको पृष्ठभूमि नभए पनि उनलाई आइटी महाशाखामा नियुक्त गरिएको भनी आलोचना भएको थियो।

त्यही पदमा कार्यरत रहँदा नै उनलाई प्रधानन्यायाधीशको निजी सचिवालयमा तानियो। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा उनले निजी सचिवालयमै रहेर काम गरेको सर्वोच्च अदालत स्रोत बताउँछ।

त्यति बेला सर्वोच्चमा अहिलेजस्तो डिजिटल र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था थिएन। प्रधानन्यायाधीशले नै पेसी तोक्ने गर्थे। प्रधानन्यायाधीशले बालुवाटार निवासबाटै पेसी सूची र कुन न्यायाधीशको इजलासमा कुन मुद्दा तोक्ने भन्ने फाइनल गर्थे। त्यसरी फाइनल भएको पेसी प्रकाशन गर्ने जिम्मा प्रधानन्यायाधीशको निजी सचिवालयको हुन्थ्यो।

सचिवालयले सर्वोच्चको सूचना पेटीमा ल्याएर पेसी सूची टाँस्ने गर्थ्यो। त्यस क्रममा आदर्श लगायत निजी सचिवालयका केही व्यक्तिबाट पेसी सूची प्रकाशन हुनुअघि नै सम्बन्धित मुद्दावालालाई जानकारी दिइने गरेको आरोप लाग्दै आएको थियो।

यसरी हरेक बिहान बालुवाटारमै गएर पेसी सूची फाइनल गर्ने क्रममै आदर्श श्रेष्ठले सुशीला कार्कीसँग निकट सम्बन्ध बनाएका हुन सक्छन्, सर्वोच्चका एक कर्मचारीले भने, उनका बारेमा धेरै कुरा सुनिन्थ्यो, तर कसैले हटाउन सकेनन्।

गोपाल पराजुली प्रधानन्यायाधीश नियुक्त भएपछि भने आदर्शलाई निजी सचिवालयबाट हटाएर नायब सुब्बा स्तरको कम्प्युटर अपरेटरमै सारिएको सर्वोच्च अदालत स्रोत बताउँछ।

त्यसयता सर्वोच्चको आइटी महाशाखामै काम गर्दै आएका आदर्श सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि छलाङ मारेर स्वकीय सचिवका रूपमा बालुवाटार प्रवेश गरेका हुन्।