‘बृहत्तर लुम्बिनी’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु : सम्पदा संरक्षण र आर्थिक विकासलाई सँगै लैजानुपर्नेमा जोड

शुक्रबार, २ असोज २०८३

काठमाडौं—लुम्बिनीको ऐतिहासिक, पुरातात्विक तथा आध्यात्मिक पवित्रता जोगाउँदै स्थानीय समुदायलाई आर्थिक रुपमा लाभान्वित गराउने गरी बृहत्तर लुम्बिनी क्षेत्रको विकास अघि बढाइने भएको छ ।

लुम्बिनीको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन विस्तारलाई एकीकृत गर्ने रणनीति तय गर्न अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञ, सरकारी अधिकारी तथा विकास साझेदारहरू जुटेका छन् ।

लुम्बिनीमा शुक्रबारदेखि सुरु भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गणेश’ले लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानव जातिको साझा धरोहर भएकाले यसको विकास गर्दा पवित्रता, मौलिकता र आध्यात्मिक मूल्यमा कुनै सम्झौता गर्न नहुने बताए ।

उनले लुम्बिनीको दिगो विकास, संरक्षण र पवित्रता जोगाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकास गर्दा युनेस्को, इकोमोस, विश्व सम्पदा समितिका सुझाव तथा प्राविधिक विज्ञहरुको मार्गदर्शनलाई आधार बनाइने उनले बताए ।

‘लुम्बिनीको विकासबाट स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुनुपर्छ र उनीहरुको जीविकोपार्जनमा सुधार आउनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘तीर्थयात्रीहरुका लागि ध्यान, प्रार्थना र ज्ञान आर्जन गर्ने अनुकूल वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।’

मन्त्री पौडेलले विश्वमा द्वन्द्व, विभाजन र अनिश्चितता बढिरहेका बेला करिब २५ सय वर्षअघि सिद्धार्थ गौतम बुद्धले दिएको शान्ति र अहिंसाको सन्देश अझ सान्दर्भिक बनेको उल्लेख गरे । त्यसैले लुम्बिनीलाई केवल पर्यटकीय गन्तव्यका रुपमा नभई विश्व शान्ति र आध्यात्मिक चेतनाको केन्द्रका रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा विश्व बैंकका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विशेषज्ञ एलाड शेन्फेल्डले लुम्बिनीको विकासमा सम्पदा संरक्षण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्नु मुख्य चुनौती भएको बताए ।

पर्यटन विस्तारले रोजगारी र व्यापार बढाउनुपर्ने भए पनि त्यस क्रममा लुम्बिनीको आध्यात्मिक तथा पुरातात्विक वातावरणमा क्षति पुग्न नहुने उनले बताए ।

‘यदि हामीले लुम्बिनीको संरक्षण ग¥यौँ तर स्थानीय समुदायले त्यसबाट एक रुपैयाँ पनि लाभ पाउन सकेनन् भने पनि त्यो विकास सफल मानिने छैन,’ शेन्फेल्डले भने ।

नेपाल सरकार र विश्व बैंकबीच बृहत्तर लुम्बिनी क्षेत्रका लागि भएको ८५ मिलियन अमेरिकी डलर बराबरको ‘ग्ल्याड’ परियोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने रणनीतिमा समेत सम्मेलनमा छलफल भइरहेको छ ।

परियोजनामार्फत सम्पदा संरक्षण र दिगो विकासलाई स्थानीय आर्थिक अवसरसँग जोड्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि कोषले विगत एक दशकदेखि निरन्तर पहल गर्दै आएको बताए । उनले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र तीर्थयात्रीको सुविधा विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।

राईका अनुसार लुम्बिनीको असाधारण सर्वव्यापी मूल्य, मौलिकता र अखण्डता जोगाउँदै विकासका गतिविधि अघि बढाइनेछ । ‘ग्ल्याड’ पहलले सम्पदा संरक्षण र दिगो विकास एकअर्काका पूरक हुन् भन्ने व्यवहारिक नमुना प्रस्तुत गर्ने उनले बताए ।

लुम्बिनीको विकासमा स्थानीय सरकार, प्रदेश सरकार, युनेस्को, विश्व बैंक, पुरातत्वविद् तथा बौद्ध समुदायबीचको सहकार्यलाई थप बलियो बनाउने विषयमा समेत सम्मेलनमा छलफल भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को, लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय र विश्व बैंकको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनमा १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिको प्रत्यक्ष सहभागिता छ । अनलाइनमार्फत थप १०० भन्दा बढी सहभागी जोडिएका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा सुदृढीकरण र समावेशी स्थानीय आर्थिक विकासका विषयमा केन्द्रित भएर कार्ययोजना बनाइँदैछ ।

सम्मेलनमा तयार हुने कार्ययोजनाले लुम्बिनीको भावी विकासमा संरक्षण र पर्यटनबीचको सन्तुलन कायम गर्ने आधार तय गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनको समापनमा जारी गरिने ‘साझा घोषणापत्र’मार्फत भावी नीति निर्माण, पर्यटन प्रवद्र्धन, सम्पदा संरक्षण र स्थानीय आर्थिक विकासका लागि मार्गदर्शन तय गरिने आयोजकले जनाएको छ ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा प्रवद्र्धन गर्दै गर्दा यसको मौलिकता र पवित्रता जोगाउने तथा विकासको लाभ स्थानीय समुदायसम्म पु¥याउने विषय सम्मेलनको केन्द्रमा आएको छ ।

सरकार, विकास साझेदार र स्थानीय सरोकारवालाबीचको सहकार्यलाई संस्थागत गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन विकासको आधार तयार गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।