लुम्बिनी विकास कोषमा स्थानीय नियुक्तिको माग गर्दै श्रम संस्कृति पार्टीको दबाब, सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
दिनेश प्रसाद लोध
लुम्बिनी विकास कोषमा स्थानीयवासीलाई प्राथमिकताका साथ नियुक्ति गर्नुपर्ने माग गर्दै श्रम संस्कृति पार्टीले बाहिरबाट अधिकारी ल्याएर नियुक्ति गरिएमा विरोध गर्ने चेतावनी दिएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका श्रम संस्कृति पार्टीका कार्यवाहक अध्यक्ष अब्दुल हासिम खानले पत्रकार सम्मेलनमा गरि लुम्बिनीको विकास, संरक्षण तथा व्यवस्थापनमा स्थानीयको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन्। उनीहरूले लुम्बिनी मै बसोबास गर्ने स्थानीय नागरिकलाई अवसर नदिई बाहिरी व्यक्तिलाई पद तथा जिम्मेवारी दिइए त्यसको विरोधमा सशक्त रूपमा अघि बढ्ने चेतावनी दिएका हुन्।
उनीहरूले भने, “हामीलाई बाहिरी अधिकारी चाहिँदैन। लुम्बिनीको विषयमा स्थानीय जनताको भावना र मागलाई सम्बोधन गर्दै स्थानीयलाई नै प्राथमिकता दिनुपर्छ।”
खानले स्थानीय जनताले लुम्बिनी विकास कोषका पदाधिकारीसँग आफ्ना प्रश्न र गुनासा राख्न पाउनुपर्ने बताएका थिए। स्थानीयका सवालमा पदाधिकारीले प्रत्यक्ष रूपमा जवाफ दिनुपर्ने र स्थानीय जनतासँग संवादको वातावरण बनाउनुपर्ने उनीहरूको माग थियो।
कोषमा स्थानीयको प्रतिनिधित्व र रोजगारी सुनिश्चित नभए स्थानीय जनता एकजुट भएर आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएका छन्। साथै, लुम्बिनीको सांस्कृतिक तथा धार्मिक महत्वलाई ध्यानमा राख्दै यहाँका स्थानीयको अधिकार र सहभागितालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीका नगर कमिटी उपाध्यक्ष महबुब आलम मुसलमानले लुम्बिनी विकास कोषको नाम भए पनि स्थानीयवासीले विकासको अनुभूति गर्न नसकेको गुनासो गर्नुभएको छ। पत्रकार सम्मेलनमा बोल्दै उहाँले लुम्बिनी विकास कोषको व्यवस्थापन, सेवा प्रवाह तथा स्थानीयसँगको सम्बन्धबारे प्रश्न उठिरहेको बताउनुभयो।
मुसलमानले केही वर्षअघि लुम्बिनीवासीको सुविधाका लागि ल्याइएको विद्युतीय बससमेत प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै यसप्रति लुम्बिनी विकास कोषको व्यवस्थापनले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो। स्थानीयका लागि ल्याइएको विद्युतीय बस सञ्चालन हुन नसक्नु लापरवाहीको परिणाम भएको उहाँको आरोप छ।
उहाँले लुम्बिनीवासीको ठूलो भू–भाग लुम्बिनी विकास कोषले आफ्नो क्षेत्रभित्र लिए पनि स्थानीयवासीले त्यसअनुसार विकासको अनुभूति गर्न नसकेको बताउनुभयो। “देखावटी रूपमा लुम्बिनी विकास कोष छ, तर विकास कहाँ छ ?” भन्ने प्रश्न स्थानीयवासीले खोजिरहेको उहाँको भनाइ थियो।
मुसलमानले लुम्बिनीको विकासका लागि स्थानीयको भावना, समस्या र आवश्यकता बुझ्ने पदाधिकारी आवश्यक रहेको बताउनुभयो। लुम्बिनीको वास्तविक अवस्था नबुझ्ने बाहिरबाट आएका पदाधिकारीभन्दा स्थानीयवासीसँग प्रत्यक्ष समन्वय गरेर काम गर्ने नेतृत्व आवश्यक रहेको उहाँले धारणा राख्नुभयो।
उहाँले भन्नु भयो लुम्बिनीमा योग्य र पढेलेखेका स्थानीय जनशक्ति हुँदाहुँदै बाहिरबाट कर्मचारी तथा पदाधिकारी ल्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो।
“यहाँ पढेलेखेका मानिस छैनन् र ? सबै काठमाडौं, नारायणगढ, पोखरा वा अन्य ठाउँबाट मात्रै आउनुपर्छ भन्ने होइन,“लुम्बिनीका स्थानीयलाई जिम्मेवारी दिए उनीहरूले यहाँको दुःख, समस्या र आवश्यकता बुझेर काम गर्न सक्छन्।
पार्टीका नगर सचिव रहिस आलम मुसलमानले लुम्बिनी विकास कोषले विकासलाई लुम्बिनी क्षेत्रभित्र सीमित गरेको भन्दै लुम्बिनी वरपरका स्थानीय बस्ती तथा क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले राजनीतिक नियुक्तिबाट बाहिरका व्यक्ति ल्याउँदा स्थानीय समस्या र आवश्यकताबारे पर्याप्त जानकारी नहुने दाबी गर्नुभयो।
उहाँले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोट गर्नुपर्ने माग गर्नुभयो। स्थानीयलाई योग्यताका आधारमा अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उहाँले कर्मचारी नियुक्तिमा पारदर्शिता र प्रतिस्पर्धा कायम गर्नुपर्ने बताउनुभयो।
‘पढेलेखेका स्थानीयलाई योग्यताका आधारमा अवसर दिनुपर्छ। राजनीतिक सिफारिस वा पहुँचका आधारमा हुने प्रत्यक्ष नियुक्ति हामीलाई स्वीकार्य छैन,’ मुसलमानले भन्नुभयो।
उहाँले लुम्बिनी विकास कोषअन्तर्गतका विकास निर्माणका काममा अनियमितता र कमिसनको चलखेल हुने गरेको आरोप पनि लगाउनुभयो। एउटै सडकमा पटक–पटक बजेट खर्च गर्ने तथा आफ्ना निकटका व्यक्तिलाई काम दिने र त्यसबाट कमिसन लिने गरिएको उहाँको दाबी थियो। यी आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।
यस्तै, पार्टीका नेता सब्बुदीन खानले अध्यक्ष, सचिवलगायत जिम्मेवार पदमा बाहिरबाट आउने व्यक्तिका कारण स्थानीय जनताको सुनुवाइ प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो। स्थानीयको समस्या बुझ्न र समाधान गर्न जिम्मेवार अधिकारी लुम्बिनीमै बसेर काम गर्नुपर्ने उहाँको भनाइ थियो।
खानले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय महत्व भए पनि आधारभूत व्यवस्थापनमा कमजोरी रहेको गुनासो गर्नुभयो। लुम्बिनीमा पर्याप्त बत्ती नहुने, धुलो तथा सरसफाइको समस्या रहने र रातिको समयमा सुरक्षा व्यवस्था कमजोर रहेको उहाँले दाबी गर्नुभयो।
‘लुम्बिनी विश्वभर परिचित ठाउँ हो, तर यहाँ बराबर दिनमा धुलोले अध्यारो देखिन्छ रातमा बत्ती हुँदैन लुम्बिनी अध्यारो देखिन्छ । ‘रातिको समयमा सुरक्षा व्यवस्था कमजोर हुँदा बाहिरबाट आउने पर्यटक तथा आगन्तुकले समेत समस्या भोग्नुपरेको छ। लुम्बिनीको व्यवस्थापन कमजोर भइरहे धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा यसको प्रतिष्ठामा असर पर्न सक्ने उहाँको भनाइ थियो। स्थानीय जनता तथा सरोकारवालाले जिम्मेवार पदाधिकारीसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न सहज वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो।
पार्टीले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व संरक्षणसँगै स्थानीयको रोजगारी, प्रतिनिधित्व र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेको छ। लुम्बिनीको विकास धार्मिक तथा पर्यटकीय क्षेत्रभित्र मात्रै सीमित नराखी स्थानीय जनताको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने पार्टीको भनाइ छ।
स्थानीयको माग सम्बोधन नगरी बाह्य व्यक्तिलाई विकास कोषका जिम्मेवार पदमा नियुक्त गरिए स्थानीयवासीलाई एकजुट बनाएर विरोध तथा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पार्टीका नेताहरूले दिएका छन्।