मलेसियाका प्रस्तावित राजदूत खरेलको पनि विवादित पृष्ठभूमी देखिएपछि संसदीय सुनुवाइ ‘होल्ड’

बुधबार, २८ असोज २०८३

काठमाडौं – मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ ‘होल्ड’ गरिएको छ ।बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएका थिए ।

समिति सदस्य राजीव खत्रीले राजदूत नियुक्तिको प्रस्ताव, स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको विषय उठाए लगत्तै सभापति श्रेष्ठले ​प्रस्तावित राजदूतलाई जवाफ दिने समय दिए ।प्रस्तावित राजदूत खरेलले यी आरोपमा आफ्नो कुनै पनि संलग्नता नरहेको, बिना तथ्य र बिना प्रमाणका कुराहरूमा आफूले जवाफ दिनुपर्ने अवस्था नरहेको बताए ।

तर रयसलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै अर्का समिति सदस्य मधु चौलागाईंले थप अध्ययन गर्न आवश्यक रहेको र आवश्यक परे उपसमिति बनाउने प्रस्ताव राखे ।समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका हुन् ।

त्यसपछि उनको सुनुवाइ होल्ड हुन पुगेको हो ।अहिले प्रस्तावित राजदूत खरेललाई बिदा गरेर समिति गोप्य छलफलमा बसेको छ ।संसदीय सुनुवाइका क्रममा खरेलले रोजगारदाताले नै भिसा, श्रम स्वीकृति र दुईतर्फी हवाई टिकट खर्च बेहोर्ने सुनिश्चित गर्ने, मागपत्र प्रमाणीकरणअघि रोजगारदाताको कम्पनी र सेवा सुविधाको कडा जाँच गर्ने वाचा गरेका थिए ।