दानबहादुर कार्कीको गम्भीर अपराध बाहिरियो, तीन वर्षसम्म हुनसक्छ कैद सजाय

आइतबार, २२ कार्तिक २०८३

एउटा विचौलिया इनम सापकोटा । जसले नेपालको राजनीति विगत १ महिनादेखि हल्लाइरहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको संवादले आशंकाकै भरमा पक्राउ परेका इनम अनुसन्धान गर्दै जाँदा भिआईपीहरुको एकएक पोल खोल्ने प्रमाण बनेका छन् । इनम सापकोटाको प्रकरणले तत्कालिन प्रहरी महानिरिक्षक आईजीपी दानबहादुर कार्की र सशस्त्रका एआईजी बंशिधर दाहाल बर्खास्त भइसकेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापा थुरुरु भएका छन् । धेरैले आइजीपी बर्खास्तीको विरोध गरिरहँदा पछिल्लो पटक सार्वजनिक भएका प्रमाणले सरकारले ठिकै गरेको रहेछकी क्याहो भन्न थालेका छन् ।

प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटाको मोबाइलबाट तत्कालीन प्रहरी महानिरीक्षक कार्कीले आफूसँग सम्बन्धित प्रमाण नष्ट गरेको गम्भीर तथ्य फेला परेपछि सरकारले कार्कीलाई बर्खास्त गरेको हो । नयाँ दिल्ली जाँदै गर्दा विमानस्थलबाट पक्राउ परेका सापकोटाको मोबाइल नियन्त्रणमा लिएर तत्कालीन आईजीपी कार्कीले रहस्यमय रूपमा आफ्ना संवादहरू मेटाएका थिए ।

ग्यालेक्सीखबरले सार्वजनिक गरेको विशेष र गोप्य प्राविधिक प्रमाणअनुसार, तत्कालीन महानिरीक्षक कार्कीले आफ्नो मोबाइल नम्बर ९८५१२९०१७५ र इनमको अन्तर्राष्ट्रिय नम्बर ६५८२२८३५८७ बीच ह्वाट्सएपमा भएका सम्पूर्ण कुराकानीहरू डिलिट गराएका छन् । प्राविधिक रेकर्डले सापकोटा पक्राउ परेकै दिन साँझ ७ बजेर ५९ मिनेट १९ सेकेन्डमा प्रमाण नष्ट गर्ने प्रयास भएको र अक्टोबर १ मा संवादहरू पूर्ण रूपमा डिलिट गरिएको देखाएको छ ।

यसले कार्कीले इनमको मोबाइल अनुसन्धानको दायरामा ल्याउनुअघि नै केही दिनसम्म ‘होल्ड’मा राखेर प्रमाण लुकाएको पुष्टि गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ९३ अनुसार यसरी आपराधिक अनुसन्धानको प्रमाण मेटाउनु गम्भीर फौजदारी कसुर हो । अनुसन्धान प्रभावित पार्ने गरी प्रमाण नष्ट गरेको प्रमाणित भएमा ३ वर्षसम्मको कैद सजाय हुने स्पष्ट कानुनी व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा शंकास्पद पात्रका रूपमा उदाएका सापकोटासँग कनेक्सन देखिएपछि यसअघि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बन हुँदै बर्खास्तीमा परिसकेका छन् । दाहालमाथि कारबाही भएकै समयमा आफू पनि तानिने डरले तत्कालीन आईजीपी कार्कीले हतार–हतार प्रमाण मेटाएको अनुसन्धान स्रोतको दाबी छ ।

सापकोटाको मोबाइलमा तत्कालीन आईजीपी कार्कीको नम्बर ‘दानबहादुर कार्की सर’ भनी सेभ गरिएको छ । पक्राउ पर्नुभन्दा ६ दिनअघि मात्रै पनि उनीहरूबीच ह्वाट्सएपमा सघन कुराकानी भएको प्राविधिक विश्लेषणले देखाएको छ । नेपाल प्रहरीका अन्य उच्च अधिकारीहरूसँग पनि इनमको बाक्लो उठबस देखिएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी राजन अधिकारीसँग मुद्दाको सेटिङ र सरुवा–बढुवाका विषयमा तथा प्रबन्ध शाखाका डीआईजी विश्वराज अधिकारीसँग प्रहरीको पोसाक खरिदका विषयमा निरन्तर संवाद हुने गरेको मिसिलमा उल्लेख छ ।

तत्कालीन महानिरीक्षक कार्की निकट मानिने डीआईजी अधिकारीले सापकोटासँग पोसाक खरिदकै कुराकानी गर्नुले प्रहरीको आन्तरिक खरिद प्रक्रियामा समेत बिचौलियाको प्रत्यक्ष प्रभाव रहेको गम्भीर आशंका उब्जाएको छ । इनमले सेटिङ र बिचौलियाको काम नेपालमा गर्ने र त्यसको आर्थिक लेनदेन दुबई, अमेरिका र सिंगापुरलगायतका देशमा गर्ने गरेको खुलेको छ । सिंगापुरमा उनले प्रयोग गर्ने नम्बर र त्यहाँ रहेको उनको कम्पनी, साथै दुबईमा रहेको अपार्टमेन्टले उनी अन्तर्राष्ट्रियस्तरकै हुन्डी र अवैध आर्थिक कारोबारमा संलग्न रहेको देखाउँछ ।

यही सम्पर्क र संवादका कारण प्रहरीले कार्कीलाई बर्खास्त गर्दै नयाँ जिम्मेवारीमा सरुवा गरेको प्रस्ट भएको छ । सम्भवत प्रहरीले निश्पक्ष अनुसन्धान गर्दा कार्की प्रमाण नस्ट गरेको अभियोगमा पक्राउ पर्न पनि सक्छन् । यदी उनीमाथि अनुसन्धान सुुरु भएको खण्डमा ३ वर्षसम्मको कैद सजाय हुने स्पष्ट छ ।