पटाकाले लियो पाँचवर्षीय बालकको ज्यान, बेच्नेलाई हुनसक्छ १० वर्ष जेल

सोमबार, २३ कार्तिक २०८३

पटाका पड्काउँदा पाँचवर्षीय बालकको ज्यान गएको छ। पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका मखु सहनीका पाँच वर्षीय छोराको सोमबार बिहान पटाका पड्काउने क्रममा शरीरमा आगो लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्काल वीरगञ्जस्थित तराई अस्पताल पुर्‍याइयो। तर उपचारकै क्रममा उनको मृत्यु भयो।

यो घटनापछि एउटा परिवारले आफ्नो सन्तानमा गुमाएको मात्रै छैन्, परिवारलाई अपूरणीय क्षति भएको छ । यो बालकको मृत्युले सरकारको लापरवाही, सीमा सुरक्षामा हुने कमजोर निगरानी र अवैध कारोबार गर्नेहरूको सञ्जाल कति बलियो छ भन्ने कुरा प्रमाणित गरेको छ । यो घटनाले घरायासी प्रयोजनका लागि ल्याएको सामान्य उपभोग्य वस्तु चिनी, दाल, चाम लगायतका खाध्य बस्तुसमेत खोसेर पक्राउ गर्ने, थुन्ने, सामान बरामद गर्ने सरकारले पटाका नियन्त्रण गर्न किन सकेन भन्ने प्रश्न बालेन सरकारमाथि सोझिएको छ ।

नेपालमा कानुन अभावले पटाका नियन्त्रण गर्न नसकिएको भन्ने ठाउँ पनि छैन । विगतमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले पटाका सम्बन्धी कठोर कानुन बनाइदिएको थियो । यही कानुन कार्यान्वयन गर्ने बालेन सरकार असफल हुँदा बालकको ज्यान गएको छ । स्थानीय प्रशासन र सरकारी संयन्त्रको घुसघोरी प्रवृत्तिले करोडौंको पटका भित्रिएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ ले विस्फोटक पदार्थसम्बन्धी कसुरलाई समेटेको छ। दफा १३८ मा पटाका र आतसबाजीलाई समेत विस्फोटक पदार्थको परिभाषाभित्र राखिएको छ। दफा १३९ ले इजाजतबिना विस्फोटक पदार्थ खरिद, बिक्री, राख्ने, प्रयोग गर्ने, सञ्चय गर्ने, भण्डारण गर्ने, ओसारपसार गर्ने तथा आयात–निर्यात गर्न निषेध गरेको छ।

कानुन उल्लंघन गर्ने व्यक्तिलाई विस्फोटक पदार्थको वर्गअनुसार तीनदेखि दस वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। सामान्य विस्फोटक पदार्थको हकमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। अर्थात् पटाका पड्काउने व्यक्तिदेखि त्यसको कारोबार गर्ने र ओसारपसार गर्ने व्यक्तिसम्म कानुनको दायरामा पर्न सक्छन्।

तर प्रश्न यहाँ छ– कानुन यति स्पष्ट हुँदाहुँदै पनि पटाका बजारमा किन रोकिएनन् ? अब पर्साकै अर्को घटनालाई हेरौँ। गत कात्तिक १८ गते पर्सा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको करिब सात लाख रुपैयाँ मूल्य बराबरका पटाका तथा अन्य विस्फोटक सामग्री नष्ट गरेको थियो। यसको अर्थ, प्रहरीले पटाका बरामद गरिरहेको छ। अवैध सामग्री नेपाल भित्रिरहेको छ। बजारमा पुगिरहेको छ। अनि पटकपटक बरामद गरेर नष्ट गर्नुपर्ने अवस्था किन आइरहेको छ ?

पटाका नेपालमा उत्पादन हुँदैन । भारतमा उत्पादित पटका खुला सीमाका कारण साना नाकाहरू, ग्रामीण बाटा र अन्य अनुगमन कमजोर भएका क्षेत्रबाट भित्रिरहेका छन् । प्रहरीकै सेटिङका कारण नेपाल भित्रिएको अवैध सामाग्री गाउँदेखि सहरका गल्लिगल्लिमा पुगिसकेको छ ।

सरकारले हरेक वर्ष तिहार र छठको समयमा पटाका नपड्काउन सूचना जारी गर्छ । प्रहरीले बरामद गर्छ, नष्ट गर्छ र कारबाहीको चेतावनी दिन्छ। तर सूचना र चेतावनीले मात्र समस्या समाधान भएको छैन। सूचना निकालेर पानीमाथिको ओभानो बन्ने स्थानीय प्रशासनको फितलो अनुगमन र अनदेखा प्रवृत्तिले सर्वसाधारणको अकालमै ज्यान गइरहेको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार बालकको मृत्युको घटनाबारे अनुसन्धान भइरहेको छ । अवैध र जोखिमपूर्ण विस्फोटक पदार्थको अनियन्त्रित उपलब्धताले बालबालिका र सर्वसाधारणको जीवन जोखिममा पारिरहेको छ। यो घटनालाई एउटा परिवारको दुःखमा सीमित राख्नु हुँदैन। राज्यले सीमा सुरक्षा, भन्सार जाँच, बजार अनुगमन र अवैध कारोबारको सञ्जालमाथि गम्भीर अनुसन्धान गर्नुपर्छ।

किनकि पाँचवर्षीय बालकको जीवन फर्काउन सकिँदैन। तर यस्ता दुर्घटना फेरि हुन नदिन सकिन्छ। सरकारलाई प्रश्न छ– चिनीको झोला जाँच्ने राज्यले मानिसको ज्यान लिन सक्ने पटाका नेपाल भित्र्याउने गिरोह कहिले समात्छ ? कानुन कागजमा मात्र होइन, सीमादेखि बजारसम्म कार्यान्वयन भएको देखिनुपर्छ। अझ बालेन शाह नेतृत्वको जुझारु सरकारले यसलाई गम्भीर रुपमा लिएर एक्सनमा उत्रिनै पर्छ । पुराना पार्टीले चलाएको सरकार जसरी टोलाएर बस्नु हुँदैन ।