तिहारको मखमली फूलसँगै प्रशान्त महासागरको गगनचुम्बी संसारमा हराएको जिन्दगी

सोमबार, २३ कार्तिक २०८३

आकाश नीलो थियो। बादलका सेता टुक्राहरू क्षितिजमा कतै सपना बोकेर हिँडिरहेका थिए। तल प्रशान्त महासागरका छालहरू आफ्नै अनन्त लयमा उर्लिरहेका थिए। अगाडि गगनचुम्बी भवनहरू, पर क्षितिजसम्म फैलिएको समुद्र, अनि बीचमा एउटा मान्छे—कालो चस्मा, नीलो ज्याकेट र अनुहारमा गम्भीर शान्ति लिएर उभिएको।

हेर्दा लाग्थ्यो, ऊ जिन्दगीसँग निकै सन्तुष्ट छ। मानौँ उसले समयलाई जितिसकेको छ, दुःखलाई बिर्सिसकेको छ र सफलताको शिखरमा पुगेर संसारलाई मुस्कुराउँदै हेरिरहेको छ। उसको पहिरनमा आत्मविश्वास थियो, उभिने शैलीमा प्रतिष्ठा थियो र अनुहारमा एउटा मौन गम्भीरता। तर मान्छेको अनुहारमा देखिने शान्ति र मनभित्र चलिरहेको आँधी एउटै कहाँ हुन्छ र ?

कहिलेकाहीँ मानिसको सबैभन्दा ठूलो एकान्त त्यही बेला सुरु हुन्छ, जब ऊ संसारकै सुन्दर दृश्यको अगाडि र उन्नत ठाउँमा उभिएको हुन्छ। उसको चस्मामा समुद्रको प्रतिबिम्ब थियो। तर मनको ऐनामा भने आफ्नै गाउँका साँघुरा गल्लीहरू, बाल्यकालका उकाली–ओराली, आमाको मायालु अनुहार, बाबुको पसिनाले भिजेको जीवन र छुटेर आएका आफन्तहरूको सम्झना तैरिरहेका थिए। हजारौँ माइल टाढा आएर पनि मानिसले आफ्नो विगतलाई कहाँ छोड्न सक्छ ररु शरीरले देशको सीमा पार गर्न सक्छ, तर मनले सम्झनाको सीमा पार गर्न सक्दैन।

समुद्रको त्यो विशालता हेर्दा उसलाई आफ्नो गाउँको सानो संसार याद आयो। ढुङ्गा र माटोले बनेको घर, आँगनको डिलमा बसेर घाम ताप्ने आमा, दिनभरि खेतबारीमा पसिना बगाएर साँझ घर फर्कने बुबा, अनि अभावका बीच पनि हाँसो बाँड्ने परिवार।

त्यो घरमा सुखसुविधा धेरै थिएनन्, तर आत्मीयता प्रशस्त थियो। पैसाको अभाव थियो, तर एकअर्काका लागि समय थियो। भविष्यका चिन्ता थिए, तर वर्तमानमा सँगै बस्न पाउँदाको आनन्द पनि थियो। आज ऊ संसारको विकसित सहरमा उभिएको थियो। वरिपरि आधुनिक भवनहरू थिए, सुविधासम्पन्न सडकहरू थिए, मानिसहरू आ–आफ्नै गतिमा दौडिरहेका थिए । तर त्यति धेरै मानिसहरूको भीडमा पनि कहिलेकाहीँ उसलाई आफू एक्लो भएको महसुस हुन्थ्यो।
सायद मान्छेको एकान्त मानिस नभएको ठाउँमा मात्र जन्मिँदैन। कहिलेकाहीँ आफ्ना मानिसहरू नभएको ठाउँमा पनि जन्मिन्छ।

कुनै बेला उसले पनि साना–साना सपनाहरू देखेको थियो। एउटा राम्रो जीवन बनाउने, परिवारलाई सुख दिने, आफ्ना मानिसहरूको अनुहारमा खुसी ल्याउने र आफूले भोगेका अभावहरू आफ्ना सन्ततिले भोग्न नपरोस् भन्ने। सपना देख्नु उसको कमजोरी थिएनस बरु सपना पूरा गर्न खोज्नु नै उसको जीवनको सबैभन्दा ठूलो साहस थियो।

त्यही साहसले उसलाई घरबाट टाढा ल्यायो। जिम्मेवारीले उसको काँधमा हात राख्यो, परिस्थितिले बाटो देखायो र भविष्यको आशाले पाइला अघि बढायो। उसले आफूलाई सम्झायो—आज केही दुःख सहन्छु, भोलि परिवारले सुख पाउनेछ। आज घरबाट टाढा बस्छु, भोलि आफ्ना प्रियजनको जीवन नजिकबाट हेर्न पाउनेछु। आजका रहरहरू थाती राख्छु, भोलि तिनै रहर पूरा गर्न सक्नेछु।

उसले आफ्नो मनलाई यस्तै आश्वासन दिँदै यात्राको सुरुआत गरेको थियो। तर विदेशको यात्रा केवल विमानको टिकट काटेर सुरु हुने यात्रा कहाँ हो र ? यो त आफ्ना प्रियजनसँग बिताउन पाउनुपर्ने समयलाई भविष्यको नाममा साट्ने यात्रा पनि हो।

चाडपर्वमा घरको आँगन सम्झेर मुस्कुराउनु, परिवारसँगको फोनवार्ता सकिएपछि एक्लै लामो सास फेर्नु, मन रोइरहेको बेला पनि ‘म यहाँ ठीक छु’ भन्नु र आफ्नो पीडा लुकाएर घरमा सबै ठीकठाक रहेको सन्देश दिनु—परदेशी जीवनका यस्ता अदृश्य अध्यायहरू कसले पढ्छ ? उसले पनि कति रातहरू निद्रा नलागेरै बिताएको थियो होला। कति पटक थाकेको शरीरलाई आराम दिनुभन्दा भोलिको जिम्मेवारी सम्झेर उठेको थियो होला। कति पटक आफ्ना रहरहरूलाई खर्चको हिसाबमा बदल्दै आफूलाई सम्झाएको थियो होला—अहिले होइन, पछि।

तर त्यो ‘पछि’ कहिले आउँछ ?

यही प्रश्नले कहिलेकाहीँ उसको मनको ढोका ढकढक्याउँथ्यो। समुद्रको किनारमा उभिएर उसले एकछिन आँखा चिम्लियो। अचानक उसको मनमा आमाको आवाज गुञ्जिएजस्तो भयो। “बाबु, खाना समयमै खानू है। धेरै दुःख नगर्नू। आफ्नो स्वास्थ्यको ख्याल गर्नू।”

आमाले सायद हरेक पटक फोनमा यस्तै भन्थिन्। आफ्नो दुःख सुनाउँदिनथिन्। घरमा के अभाव छ, के समस्या छ, कति कठिनाइ छन्—सबै कुरा लुकाउँथिन्। छोराले परदेशमा दुःख पाउला भनेर आफ्नो पीडालाई पनि मायाको पर्दाभित्र छोप्थिन्। आमालाई छोराको कमाइभन्दा उसको अनुहार हेर्ने रहर बढी थियो होला। उसले पठाएको पैसाभन्दा ऊ घर फर्केर ढोकामा उभिएको दृश्य अमूल्य लाग्थ्यो होला। तर आमाको चाहना र छोराको बाध्यता सधैँ एउटै बाटोमा हिँड्न कहाँ पाउँछन् र ?

बुबाको अनुहार पनि उसको सम्झनामा आयो। जीवनभरि परिवारको जिम्मेवारी बोकेका बुबा, जसले आफ्नो थकानलाई कहिल्यै ठूलो कुरा मानेनन्। छोराको भविष्यका लागि आफ्ना रहरहरू त्यागेका बुबा, जसले सायद छोरालाई संसारमा अघि बढेको देख्न चाहन्थे, तर त्यही छोरासँग नजिकै बसेर केही समय बिताउने चाहना पनि मनभित्र लुकाएका थिए।

आज छोरो संसारको सुन्दर ठाउँमा उभिएको थियो। तर बुबा–आमाको छेउमा बसेर एउटै थालबाट रोटी निकालेर खान पाएको भए त्यो क्षण अझ सुन्दर हुन्थ्यो कि ? उसको मनले उत्तर खोज्यो, तर शब्दहरू मौन रहे।

नजिकिँदै गरेको तिहारले उसको मनमा घरको आँगन र बाल्यकालका सम्झनाहरू ताजा बनायो। सयपत्री र मखमली फूलले सजिएको घर, देउसीभैलोका गुञ्जिएका स्वर, आमाको हातको मिठो परिकार र दिदीबहिनीको हाँसो—सबै दृश्य एकाएक आँखाअगाडि नाच्न थाले। कुनै बेला तिहार उसको जीवनकै सबैभन्दा प्रतीक्षित पर्व हुन्थ्यो। तर यसपालि पनि हजारौँ माइल टाढा, प्रशान्त महासागरको किनारमा बसेर तिहारलाई सम्झनुबाहेक ऊसँग अर्को विकल्प थिएन।

भाइटीकाको दिन दिदीबहिनीले टीकाको थाली सजाउनेछन्। मखमली फूलको माला र सप्तरङ्गी टीकासँगै उसको प्रतीक्षा गर्नेछन्। तर ऊ भने परदेशको व्यस्तताभित्र अर्को सामान्य दिन बिताइरहेको हुनेछ। फोनमा उनीहरूले सोध्नेछन्, “भाइ, यसपालि पनि आउन पाएनौ ?”

उसले मन थाम्दै भन्नेछ, “कामले गर्दा सम्भव भएन, दिदी। तिमीहरूलाई धेरै सम्झिरहेको छु।” त्यो छोटो संवादमा माया पनि हुनेछ, गुनासो पनि र दूरीले जन्माएको मौन पीडा पनि। उसलाई थाहा थियो, दिदीबहिनीका लागि उसको उपस्थिति कुनै महँगो उपहारभन्दा प्रिय थियो।

नेपालमा तिहारको उज्यालो फैलिँदा उसको कोठामा भने सामान्य दिन बितिरहेको हुनेछ। निधारमा सप्तरङ्गी टीका र गलामा मखमली माला नहोला, तर मनभरि घरको सम्झना हुनेछ। उसले महसुस गर्‍यो—चाडपर्वको वास्तविक खुसी फूल, बत्ती र उपहारमा मात्र होइन, आफ्ना प्रियजनसँगै बसेर हाँस्न पाउनुमा रहेछ।

कहिलेकाहीँ परदेशमा सबैभन्दा बढी अभाव पैसाको हुँदैन, तिहारको दिन आफ्नै दिदीबहिनीको हातबाट टीका लगाउन नपाएको हुन्छ। आज ऊ प्रशान्त महासागरको किनारमा उभिएको थियो। आँखाअगाडि संसारको विशालता थियो, तर मनभित्र आफ्नै जीवनका अनगिन्ती प्रश्नहरू थिए।

के मानिसले धेरै कमाएर मात्र जीवन जित्छ ? के अग्ला भवनहरूबीच उभिनु नै उचाइमा पुग्नु हो ? के संसार घुम्दैमा मनले खोजेको गन्तव्य भेटिन्छ ?

सायद होइन।

मानिसको वास्तविक उचाइ उसले छोएको आकाशले होइन, उसले अरूको जीवनमा छोडेको मायाले नापिन्छ। जीवनको वास्तविक सम्पत्ति बैंक खातामा जम्मा भएको रकम मात्र होइनः आमाबाबुसँग बिताएका ती केही घण्टा, सन्तानको हात समातेर हिँडेका ती साना बाटाहरू, जीवनसाथीसँग बाँडेका सुखदुःख र कठिन समयमा साथ नछोड्ने आत्मीय सम्बन्धहरू पनि हुन्।

तर विडम्बना ! हामी भविष्यलाई सुन्दर बनाउने दौडमा वर्तमानलाई नै कतै पछाडि छोडिरहेका हुन्छौँ। परिवारका लागि भनेर घरबाट निस्कन्छौँ, अनि परिवारसँगै बस्ने समय जुटाउन फेरि अर्को दौड सुरु गर्छौँ। सन्तानको भविष्यका लागि दिनरात मेहनत गर्छौँ, तर तिनै सन्तानको बाल्यकाल हाम्रा आँखाअगाडि बितेको देख्न पाउँदैनौँ। आमाबाबुको सुखका लागि पैसा पठाउँछौँ, तर बुढ्यौलीमा उनीहरूलाई चाहिने हाम्रो उपस्थितिको मूल्य पैसाले तिर्न सक्दैन। उपहार पठाउन सक्छौँ, आवश्यकतामा सहयोग गर्न सक्छौँ, तर प्रियजनसँग बिताउन पाउने समयको विकल्प कुनै वस्तुले दिन सक्दैन।

भोलि राम्रो हुन्छ भन्ने आशामा आजका धेरै खुसीहरू स्थगित गर्छौँ। भोलि आउँछ पनि, तर हिजो फर्केर आउँदैन। हामी सोचिरहेका हुन्छौँ—अलि पैसा जम्मा भएपछि आराम गर्छु, अलि सफल भएपछि घर फर्किन्छु, अलि जिम्मेवारी कम भएपछि परिवारसँग समय बिताउँछु।

तर जीवनको विडम्बना यही हो—एउटा जिम्मेवारी पूरा हुँदा अर्को जन्मिसकेको हुन्छ। एउटा आवश्यकता पूरा हुँदा अर्को अगाडि उभिएको हुन्छ। कमाइ बढ्दै जान्छ, चाहना फैलिँदै जान्छ र समय भने चुपचाप घट्दै जान्छ। एक दिन फर्केर हेर्दा हामीसँग सम्पत्ति हुन सक्छ, सम्मान हुन सक्छ, सुन्दर घर हुन सक्छ। तर त्यस घरमा सँगै बसेर हाँस्ने केही प्रिय अनुहारहरू समयसँगै बदलिइसकेका हुन सक्छन्।

आमाबुबाको अनुहारमा थपिएका चाउरी, सन्तानको उमेरसँगै फेरिएका आवश्यकता र आफ्नै जीवनमा बदलिएका प्राथमिकताहरूले हामीलाई समयको वास्तविक गति सम्झाउँछन्। कुनै बेला सँगै बिताएका दिनहरू सम्झनामा सीमित हुन्छन्। भेटघाटका अवसरहरू कम हुँदै जान्छन्। अनि एक दिन पुराना तस्बिर हेर्दै मनले सोध्छ—त्यो समय कति चाँडै बितेछ !

त्यसैले प्रश्न विदेश जाने कि नजाने भन्ने मात्र होइन। प्रश्न त विदेशमा होस् वा आफ्नै देशमा—हामीले जीवन बनाउने क्रममा जीवन बाँच्न कति समय छुट्याएका छौँ भन्ने हो। समुद्रका छालहरू निरन्तर किनारमा ठोक्किरहेका थिए। प्रत्येक छाल आउँथ्यो, केही क्षण आफ्नो उपस्थिति देखाउँथ्यो र फेरि अनन्त गहिराइमा फर्किन्थ्यो।

मान्छेको जीवन पनि त यस्तै रहेछ—आउने, केही सपना बुन्ने, केही सम्बन्ध बनाउने, केही पीडा लुकाउने, केही खुसी बाँड्ने र अन्ततः समयको विशाल महासागरमा आफ्नै कथा छोडेर जाने। उसले क्षितिजतिर हेर्‍यो। त्यहाँ आकाश र समुद्र भेटिएजस्तो देखिन्थ्यो। तर वास्तवमा तिनीहरू भेटिएका थिएनन्स आँखाले देखेको भ्रम मात्र थियो।

जिन्दगीमा पनि हामीले धेरै कुरालाई प्राप्तिको अन्तिम बिन्दु ठान्छौँ। त्यो बिन्दुमा पुगेपछि अर्को क्षितिज देखिन्छ। एउटा सपना पूरा हुन्छ, अर्को सुरु हुन्छ। एउटा जिम्मेवारी सकिन्छ, अर्को काँधमा आइपुग्छ। मानिस दौडिरहन्छ—कहिले धनका लागि, कहिले सम्मानका लागि, कहिले परिवारका लागि र कहिले आफ्नै अस्तित्व प्रमाणित गर्न।

तर यही दौडमा कतै ऊ आफैँलाई त बिर्सिरहेको छैन ?

उसले आफूलाई प्रश्न गर्‍यो—मैले जीवनमा के–के प्राप्त गरेँ ? के–के गुमाएँ ? के पाउनका लागि दौडिरहेको छु ? अनि जुन कुरा पाउन दौडिरहेको छु, त्यो पाएपछि के साँच्चै खुसी हुनेछु ? उसलाई ती प्रश्नहरूको उत्तर एकैछिनमा भेटिएन। सायद जीवनका सबै प्रश्नहरूको उत्तर एउटै क्षणमा भेटिँदैन। कतिपय उत्तरहरू समयले सिकाउँछ, कतिपय अनुभवले बुझाउँछ र कतिपय कुरा गुमाएपछि मात्र तिनको वास्तविक मूल्य थाहा हुन्छ।

उसको अनुहारमा घामको उज्यालो परेको थियो। हावाले ज्याकेटको किनार हल्लाइरहेको थियो। बाहिरबाट हेर्ने कसैले पनि उसको मनभित्रको कथा पढ्न सक्दैनथ्यो। संसारले उसको तस्बिर हेरेर सफलता अनुमान गर्न सक्थ्यो। कसैले उसको जीवनलाई उदाहरण मान्न सक्थ्यो। कसैले विदेशमा बसेको, सुन्दर ठाउँ घुमेको र आधुनिक जीवन बिताएको देखेर उसको भाग्यको प्रशंसा गर्न सक्थ्यो।

तर तस्बिरले देखाउने दृश्य र मानिसले भोगिरहेको जीवनबीच कति ठूलो दूरी हुन्छ, त्यो कसले बुझ्ने ? हरेक मान्छेको एउटा यस्तो कथा हुन्छ, जुन उसले संसारलाई सुनाउँदैन। एउटा यस्तो पीडा हुन्छ, जसको नाम उसले आफैँसँग पनि लिन चाहँदैन। एउटा यस्तो सपना हुन्छ, जुन पूरा गर्न उसले जिन्दगीको ठूलो हिस्सा खर्चिसकेको हुन्छ।

अनि एउटा यस्तो प्रश्न हुन्छ, जसको उत्तर खोज्दाखोज्दै उमेर बित्छ— मैले जीवन त बनाएँ, तर जीवन बाँच्नचाहिँ कति पाएँ ?

उसलाई अब घर फर्कने रहर जाग्यो। गाउँका ती पुराना बाटाहरू, घरको आँगन, आमाको हातको खाना, बुबाको छेउमा बसेर गरिने कुराकानी, आफन्तहरूको हाँसो र कुनै योजना नबनाई बिताइने सामान्य दिनहरू—यी सबै कुरा अचानक अमूल्य लाग्न थाले।

उसले महसुस गर्‍यो, जीवनका सबैभन्दा सुन्दर क्षणहरू सधैँ भव्य हुँदैनन्। कतिपय खुसीहरू अत्यन्त साधारण हुन्छन्—आमाले “खाना खायौरु” भनेर सोध्नु, बुबाले कुनै सानो काममा सल्लाह माग्नु, परिवारका सदस्यहरू एउटै टेबलमा बसेर खाना खानु, सन्तानले नजिक आएर अँगालो हाल्नु।

त्यतिबेला यी सामान्य लाग्छन्। तर जब दूरी बढ्छ, समय बित्छ र भेटघाट दुर्लभ बन्छ, त्यही सामान्य क्षण जीवनकै सबैभन्दा ठूलो सम्पत्ति बनेर मनमा बस्छ।उसले बुझ्न थाल्यो—परिवारलाई खुसी दिनु भनेको उनीहरूका आवश्यकता पूरा गर्नु मात्र होइन, उनीहरूसँग खुसी बाँड्न उपस्थित हुनु पनि हो। आमाबाबुलाई पैसा पठाउनु माया हो, तर उनीहरूको छेउमा बसेर केही समय बिताउनु पनि माया हो। सन्तानको भविष्य बनाउनु जिम्मेवारी हो, तर उनीहरूको वर्तमानमा सहभागी हुनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

दूरीले शरीरलाई टाढा पुर्‍याउन सक्छ, तर आत्मीयता टाढा हुनैपर्छ भन्ने छैन। विदेशमा बसेर पनि आफ्ना मानिसहरूलाई फोन गर्न सकिन्छ, उनीहरूको कुरा ध्यान दिएर सुन्न सकिन्छ, उनीहरूको खुसीमा खुसी हुन सकिन्छ र दुःखमा साथ दिन सकिन्छ। तर सम्भव हुँदा भेट्ने, सँगै बस्ने र सम्बन्धलाई समय दिने अवसरलाई सधैँ भविष्यका लागि थाती राख्नु हुँदैन।

सफलता त्याग्नुपर्छ भन्ने होइन। सपना देख्न छोड्नुपर्छ भन्ने पनि होइन। परिश्रम गर्नु, आर्थिक रूपमा सक्षम बन्नु र परिवारको भविष्य सुरक्षित गर्नु जीवनका महत्त्वपूर्ण पक्ष हुन्। तर सपना पूरा गर्ने क्रममा जीवनका आधारभूत सम्बन्धहरूलाई अनन्त प्रतीक्षामा राखिरहनु पनि त उचित होइन।

जीवन सधैँ भविष्यका लागि मात्र होइन, आजका लागि पनि हो। उसले मनमनै निर्णय गर्‍यो—अब समयलाई केवल कमाइको हिसाबले होइन, सम्बन्धको हिसाबले पनि गन्नेछ। कामको व्यस्तताबीच आफ्ना मानिसहरूका लागि समय निकाल्नेछ। सम्भव भएसम्म परिवारसँग भेट्नेछ। आमाबाबुका कुरा सुन्नेछ। आफूले माया गर्ने मानिसहरूलाई आफ्नो माया व्यक्त गर्न भोलिसम्म पर्खिनेछैन।

किनकि भोलि हाम्रो योजनामा हुन्छ, तर समयको हातमा हुन्छ। उसले फेरि एकपटक क्षितिजतिर हेर्‍यो। समुद्र उस्तै थियो, आकाश उस्तै थियो, बादलहरू आफ्नै यात्रामा थिए। बदलिएको थियो त केवल उसको मनको कुनै कुनामा जागेको अनुभूति।

सायद अब उसले बुझ्दै थियो—जिन्दगीको अर्थ सधैँ गन्तव्यमा पुग्नु मात्र होइन, यात्रामा आफूलाई नहराउनु पनि रहेछ। परिवारलाई खुसी दिनु महत्त्वपूर्ण छ, तर आफूभित्रको खुसीलाई सधैँका लागि बन्दी बनाउनु हुँदैन। सपना पूरा गर्नु आवश्यक छ, तर सपनाको पछि लाग्दा आफ्ना प्रिय क्षणहरूलाई अनन्त प्रतीक्षामा राख्नु हुँदैन।

उसको अगाडि महासागर थियो, पछाडि संसार थियो र बीचमा उसको आफ्नै जीवन। त्यो जीवन, जसले धेरै कुरा कमाएको थियो, धेरै कुरा सिकेको थियो, धेरै जिम्मेवारी बोकेको थियो—तर जसले अझै केही क्षण आफ्नै लागि र आफ्ना प्रियजनका लागि पनि बचाएर राख्नुपर्ने थियो।

उसले मोबाइल निकाल्यो। केही क्षणसम्म पर्दामा हेरिरह्यो। त्यसपछि आमाको नम्बर थिच्यो।

फोनको घण्टी बजिरह्यो।

एकपटक। दुईपटक। तीनपटक।

उताबाट आमाको परिचित आवाज सुनियो, “बाबु !”

उसको मन एकाएक भरिएर आयो। हजारौँ माइलको दूरी एक शब्दले पार गरेको थियो।

“आमा, के गर्दै हुनुहुन्छरु”

“के गर्नु र बाबु, घरमै छु। तिमीलाई सम्झिरहेकी थिएँ।”

उसले समुद्रतिर हेर्दै लामो सास फेर्‍यो। संसारकै सुन्दर दृश्यको अगाडि उभिएर पनि उसले खोजिरहेको शान्ति यही आवाजमा भेट्टायो। उसले आमालाई आफ्नो मनको कुरा सुनायो।

“आमा, यसपालि पनि तिहारमा घर आउन पाइनँ। दिदीबहिनीको हातबाट टीका लगाउने रहर त थियो, तर काम र जिम्मेवारीले गर्दा सम्भव भएन।” उताबाट केही क्षण मौनता छायो। त्यसपछि आमाको ममतामयी आवाज सुनियो, “के गर्नु बाबु, आफ्नो ख्याल गर्नू। हामी तिमीलाई सम्झिरहन्छौँ।”

आमाको छोटो जवाफमा गुनासो थिएन, केवल माया थियो। तर त्यही मायाले उसको मन झन् भारी बनायो। उसले फोन राख्नुअघि आमालाई सम्झायो, “आमा, दिदीबहिनीलाई मेरो तर्फबाट तिहारको शुभकामना दिनू है।”

“हुन्छ बाबु,” आमाले भनिन्, “आफ्नो स्वास्थ्यको ख्याल गर्नू।”

फोन राखेपछि उसले केही बेर मोबाइलको पर्दामा हेरिरह्यो। घरका तस्बिरहरू हेर्दा उसलाई आँगन, परिवारका हाँसो र सँगै बिताएका दिनहरूको सम्झना आयो। यसपालि पनि तिहारमा घर पुग्न सकेको थिएन। तर दूरीले माया घटाएको थिएन। उसले मनमनै सोच्यो—परिस्थिति सधैँ आफूले चाहेअनुसार नचल्न सक्छ, तर आफ्ना मानिसहरूलाई समय दिने चाहना भने अधुरो छोड्नु हुँदैन।

सायद उसको समस्या त्यही दिन समाधान भएको थिएन। जिम्मेवारीहरू अझै बाँकी थिए। काम गर्नुपर्ने थियो, सपना पूरा गर्नुपर्ने थियो र भविष्यका लागि परिश्रम गर्नुपर्ने थियो। तर अब उसको मनमा एउटा कुरा स्पष्ट भएको थियो—जीवनलाई पछि सारेर मात्र भविष्य बनाउन सकिँदैन।

किनकि अन्ततः मानिसले आफूसँग लैजाने भनेको उसले जम्मा गरेको सम्पत्ति होइन, उसले बाँचेका क्षणहरूको अनुभूति हो। उसले बनाएका भवन होइन, उसले निर्माण गरेका सम्बन्ध हुन्। उसले पार गरेका महासागर होइन, उसले आफ्नो मनभित्र पार गरेका दूरीहरू हुन्।

प्रशान्त महासागरको किनारमा उभिएको त्यो मान्छे सायद संसारका आँखामा सफल थियो। तर उसको जीवनको सबैभन्दा गहिरो प्रश्न सफलता र असफलताको थिएन—आफ्नै जीवनभित्र आफू कति बाँकी छ भन्ने थियो। किनकि मान्छे कहिलेकाहीँ संसार जित्ने यात्रामा यति टाढा पुग्छ कि फर्केर हेर्दा उसले आफूलाई नै कतै पछाडि छुटाएको पाउँछ।

कहिलेकाहीँ उसले जितेको संसारभन्दा आफूले गुमाएको एउटा पल ठूलो हुन्छ। कहिलेकाहीँ गगनचुम्बी भवनको उचाइभन्दा आमाको काखको न्यानोपन अग्लो हुन्छ। कहिलेकाहीँ हजारौँ मानिसको प्रशंसाभन्दा बुबाको एउटा सन्तुष्ट मुस्कान मूल्यवान् हुन्छ। अनि कहिलेकाहीँ संसारकै सुन्दर समुद्रभन्दा आफ्नै गाउँको सानो खोलाको आवाज मनलाई बढी प्रिय लाग्छ।

त्यो दिन उसले बुझ्यो—जिन्दगीको सबैभन्दा ठूलो दूरी गाउँदेखि विदेशसम्मको होइन, मानिसदेखि आफ्नै मनसम्मको रहेछ। समुद्रका छालहरू आइरहे, फर्किरहे। समय पनि त्यसरी नै बगिरह्यो। आकाशमा बादलहरू आफ्नै गन्तव्यतिर लागे। सहरका अग्ला भवनहरू साँझको उज्यालोमा झन् चम्किन थाले।

तर त्यो मान्छेको मनमा भने घर फर्किने एउटा नयाँ उज्यालो पलाउन थालेको थियो। सायद उसको कथा अझै पूरा भएको थिएन। सायद उसले अझै धेरै सपना पूरा गर्नुपर्ने थियो। सायद उसले अझै केही दूरी पार गर्नुपर्ने थियो।

तर यसपटक उसलाई आफ्नो गन्तव्य केवल संसारको अर्को कुनामा पुग्नु थिएन। आफ्नो जीवनमा छुटेका आत्मीय क्षणहरूलाई फेरि भेट्नु पनि थियो। किनकि जीवनको सबैभन्दा ठूलो सफलता संसारको अग्लो ठाउँमा उभिनु होइन, आफ्नो मनले खोजेको ठाउँमा शान्तिसँग बाँच्न सक्नु हो।

र प्रशान्त महासागरको त्यो गगनचुम्बी संसारमा उभिएको मान्छेले अन्ततः यही महसुस गर्‍यो—मानिसले संसार घुम्न सक्छ, महासागर पार गर्न सक्छ, गगनचुम्बी भवनहरू चढ्न सक्छस तर जीवनको वास्तविक गन्तव्य भने प्रायः त्यहीँ हुन्छ, जहाँ उसलाई निस्वार्थ माया गर्ने मानिसहरू उसको प्रतीक्षामा बसिरहेका हुन्छन्।

समुद्रका छालहरू हरपल किनारमा फर्किएझैँ, जिन्दगी पनि अन्ततः मानिसलाई आफ्नै अस्तित्व, आफ्ना सम्बन्ध र आफूले छोडेर आएको घरको सम्झनामा फर्काएर ल्याउँछ। किनकि संसार जित्ने क्रममा आफूलाई नहराउनु नै जीवनको सबैभन्दा ठूलो जित हो।